आसन्न प्रदेश-प्रतिनिधिसभा निर्वाचनमा चार मतपत्र, चारवटै मतपेटिका

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १६,

मुलुकमा २०७९ साल मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई र समानुपातिकतर्फ अर्को दुई गरी चारवटा मतपत्र र चारवटै मतपेटिकाको प्रयोग हुने भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र मतपत्रमा हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न मतपत्रमा राखिएको छ । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रयोग हुने दुईवटा फरकफरक मतपत्रका लागि दुईवटा फरकफरक मतपेटिकाको प्रयोग हुनेछ भने दुवै सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि प्रयोग हुने मतपत्रका लागि अलगअलग मतपेटिकामा मत खसाल्ने व्यवस्था हुनेछ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभामा सहभागी हुन निवेदन दिएका ६८ वटा दलमध्ये सबै प्रक्रिया पूरा गर्दा ४७ वटा मात्र कायम भएपछि निर्वाचन चिह्न त्यसैअनुसार तय गरेको आयोगका सहप्रवक्ता अर्यालले जानकारी दिए । समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन निवेदन दिएकामध्ये नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न लिएका छन् । त्यस्तै, नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले पनि संयुक्त रूपमा एउटै चुनाव चिह्न लिएका छन् । आयोगका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा दलहरूले समानुपातिकतर्फको अन्तिम बन्दसूची बुझाएपछि मात्र मतपत्र छपाइ भएकाले ती दुई प्रदेशमा बन्दसूची बुझाउने दलको मात्र निर्वाचन चिह्न रहनेछ । यसैगरी, सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले पनि साझा चुनाव चिह्न लिएका छन् । प्रतिनिधिसभामा समानुपातिकतर्फ ११० सिट रहने व्यवस्था छ । प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश अनुसार मतपत्रमा चुनाव चिह्नको संख्या फरकफरक हुने आयोगले जनाएको छ । तर प्रदेश १, मधेस प्रदेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको समानुपातिकतर्फको मतपत्र बन्दसूची पेस गर्नुअघि नै छपाइ भइसकेको कारण निर्वाचनमा सहभागिताका लागि निवेदन दिएका दलको निर्वाचन चिह्नसमेत रहनेछ । आयोगका अनुसार प्रदेश १ मा ५५ वटा निर्वाचन चिह्न भएको मतपत्र हुनेछ । त्यस्तै, मधेस प्रदेशमा ५९, बाग्मतीमा ५८, गण्डकीमा ५२ र लुम्बिनीमा ५४ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुनेछ । कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा ३४ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुनेछ । प्रदेशसभामा प्रदेश १ बाट ३७ जना, मधेस प्रदेशमा ४३, बाग्मतीमा ४४, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिममा २१ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत सदस्य निर्वाचित हुनेछन् ।

Like