आपसी सद्‍भाव र राष्ट्रिय एकतालाई छठ पर्वले थप सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति भण्डारी

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १३,

मुलुककी राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले न्यायपूर्ण‚समतामूलक‚सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन्। आइतबार छठ पर्व, २०७९ को अवसरमा उनले विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रकृतिको पूजा गरिने यस पर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सद्‍भाव‚सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्। जारी सन्देशमा भनिएको छ, ‘छठ पर्वले समाजमा विद्यमान जातीय‚ लैङ्गिक लगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायपूर्ण‚ समतामूलक‚ सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु।’ खासगरी नेपालको तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत सूर्य देवता र छठी माताको पूजा अर्चना गर्दै श्रद्धा एवम् भक्तिपूर्वक मनाउन थालिएको छ। सन्देशमा भनिएको छ, ‘छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दु:ख र कष्ट हटेर जाने जनविश्वास रहेको छ। विनाभेदभाव सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ।’

Like