अल्जाइमर डिमेन्शिया एक सयमा १० जनालाई

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ११,

मुलुकमा नेपालमा अल्जाइमर डिमेन्शियाका बिरामी बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । अल्जाइमर विस्मृति समाज नेपालले न्यूक्यासल युनिभरसिटी युकेसँग मिलेर ६० वर्षभन्दा माथिका एक हजार जनामा अध्ययन गरिएको थियो । जसमा एक सय जनामध्ये १० जनालाई डिमेन्शियाको लक्षण देखिएको थियो । अल्जाइमर डिमेन्शिया भएका व्यक्तिलाई सरकारले १ लाख बराबरको औषधि उपचार खर्च सुविधा उपलब्ध गराउँछ । तर, समुदायमा अल्जाइमर डिमेन्शिया कसलाई, कुन अवस्थामा हुन्छ भन्ने जानकारी कम रहेको चिकित्सकहरुको भनाइ छ । यसरी नेपालमा डिमेन्शिया व्याप्त रुपमा रहेको चिकित्सकहरु बताउँछन् । विश्व स्वास्थ्य संगठनको सन् २०१९ को तथ्याङ्कअनुसार विश्वभरि ५० बिलियनभन्दा बढी ६० वर्ष माथिका मानिस अल्जाइमर रोगको सिकार बनेका छन् । ६५ वर्ष माथिका मानिसमा यो रोगको सम्भावना बढी हुन्छ भने ४० वर्षपछि मानिसको नसा सुक्दै जाने हुँदा बिस्तारै यो रोगको सिकार हुने चिकित्सकहरू बताउँछन् । डिमेन्शियाको भनेको विसिर्ने रोग हो । यो रोगमा एक सय जना बिरामीमध्ये झण्डै ५० देखि ७० जना व्यक्तिलाई अल्जाइमरको कारणले अथवा क्रमिक रुपमा दिमागमा भएका नसाहरु सुक्दै सुक्दै जान्छ । दिमाग एक प्रकारको खराब प्रोटिन जम्मा भएर नसाहरुलाई नै ध्वस्त पार्ने र ब्रेनको स्नायु प्रणाली सुक्दै जाने भएकाले यसलाई अल्जामर डिमेन्शिया भनिन्छ । यो खास गरी ६० वर्ष माथिका मानिसलाई लाग्ने गर्छ । यसो त विकसित मुलुकमा ६५ वर्षभन्दा माथि भन्ने चलन छ । तर, अल्जाइमरकै कुरा गर्ने हो भने वयोवृद्धा ६० वर्ष माथिकालाई लाग्ने सम्भावना ज्यादै हुन्छ । तर, बिर्सिने रोगका अनेक प्रकार हुन्छ । अरु प्रकारको बिर्सिने रोग ५०/५५ वर्षकै उमेरमा, कसैलाई ४५ वर्षकै उमेरमा पनि देखिन्छ । यद्यपि बिर्सिने रोग वयोवृद्धाहरुलाई लाग्ने रोग हो । लामो समयदेखि मधुमेह भई नियन्त्रणमा नआएमा ब्रेनका नसालाई ध्वस्त पर्ने काम गर्छ, त्यसपछि बिर्सने रोग लाग्न सक्दछ । ४०/४५ वर्षको व्यक्तिलाई बिर्सिने रोग लाग्यो भने अल्जाइमर नभएर अन्य कारणले पनि लाग्न सक्छ । पहिलो कुरा बिर्सिने रोग भन्ने बित्तिकै अल्जाइमर अनि डिमेन्शिया नै हो भनेर सोच्नु हुँदैन । यसबारे राम्रोसँग अध्ययन गर्नुपर्ने हुन्छ । डिप्रेसनका कारणले पनि बिर्सने रोग लाग्छ, त्यसलाई सुढोफल्स डिमेन्शिया भनिन्छ । शरीरमा भिटामिन बी १२ को कमी भएमा बिर्सिने रोग लाग्छ । रगत जाँच्ने, आवश्यकताको आधारमा सिटिस्क्यान गरेर, बिरामीको हिस्ट्री लिएर, नजिकैका आफन्तलाई धेरै प्रश्न सोधेको आधारमा मात्रै यस उमेर समूहका बिरामीलाई अल्जाइमर भएको भनेर यकिन गर्न सकिन्छ । स्मरण शक्तिमा ह्रास आउने र बिर्सिने नै समस्या हुन्छ । यस्तो अवस्थामा तत्कालका कुराहरु बिर्सिने । जस्तै आज बिहान के भयो, हिजो के भयो, तत्कालको कुरा बिर्सिने । यस्तै, प्रियजनहरुलाई पनि चिन्न नसक्ने, बाबुआमालाई डिमेन्शिया छ भने छोराछोरी, नातिनातिनालाई पनि नचिन्ने, जोसँग नजिकको सम्बन्ध छ उनीहरुलाई समेत बिर्सिने गर्छन् । हामीलाई कहिलेकाहीँ मनको त्रास हुँदा पनि बिर्सिन्छौँ । जस्तै अघिपछि आएको कुरा परीक्षामा बिर्सिन्छौँ नि, त्यो त डिमेन्शिया होइन । यसरी मनसँग सम्बन्धित कुनै पनि भावनात्मक समस्या भइराखेको छ । तनाव भइराखेको छ भने पनि बिर्सिन सकिन्छ । बिर्सिने बानी भयो भन्दैमा अन्य उमेर समूहलाई अल्जाइमर नहुन पनि सक्छ । पूजा गर्न बस्नु भएको छ, हातमा सलाइ छ । तर, सलाई कसरी बाल्ने भन्नेबारे उहाँहरुलाई थाहा हुँदैन । त्यस्ता कुराहरु बिर्सिनुभयो भने मेडिकिल्ली भाषामा एप्रेक्सिया भनिन्छ । अर्को उदाहरण जस्तै वयस्क मानिसले टाँकको बटन खुरुखुरु लगाउँछ तर, वयोवृद्धहरुले टाँकको बटन लगाउन सक्नुहुन्न, बाँधिराखेको सुरुवालको तुना फुकाउन सक्नुहुन्न । वृद्ध आमाहरुले बाँधिराखेको पेटीकोटको तुना फुकाउन सक्नुहुन्न । जुत्ताको लेस बाँध्न सक्नुहुन्न । ज्येष्ठ नागरिकहरुको हातमा केही समस्या छैन । तर दिमागले नअह्राएर उहाँहरुले गर्न सक्नुहुन्न । बिर्सिने, नचिन्ने, शब्द कम हुँदै जाने र बोली बन्द हुने, सानोतिनो पनि काम गर्न नसक्नाले जीवनयापन नै गर्न कठिन हुने गर्छ । डिमेन्शिया हुनका लागि उल्लेखित पाँचवटा लक्षणमध्ये एउटा लक्षण देखिएको छ । कम्तीमा ६ महिनादेखि लगातार भइरहेको छ भने त्यस्तो व्यक्तिलाई डिमेन्शिया लागेको हुन सक्छ । यति हुँदैमा उहाँहरुलाई डिमेन्शिया नै हो भनेर भन्न भने सकिदैँन । किनभने उहाँहरुको हिस्ट्री लिएर, नजिकको प्रियजनबाट सोधेर, रगत परीक्षण गरेर मात्रै अल्जाइमर डिमेन्शिया भएको भन्न सक्ने अवस्था रहन्छ । यस्तै, आफूले गर्ने दैनिक क्रियाकलाप जस्तै शौचालय जाने कुरा, ब्रस गर्ने, स्नान गर्नुपर्ने, सफा कपडा लगाउनुपर्ने, आफूलाई चाहिएको कुरा कसरी पकाएर खाने, दिएको कुरा कसरी खाने जस्ता सानोतिनो व्यवहार गर्न सक्नुपर्ने कुरा गर्न नसक्दा जीवनयापन कठिन हुन्छ । पछिल्लो समय धेरै सन्ततीहरुले आमाबुवा वृद्धावृद्ध हुनुभयो, केटाकेटीले जस्तो व्यवहार देखाउनुहुन्छ, खाना खाइसकेपछि पनि खाना खाएको छैन भन्ने लगायतका समस्या सुनाउने गरेको पाइन्छ । डिमेन्शिया भएको व्यक्तिको स्वभाव परिवर्तन हुँदै जान सक्छ । कोही चाँडो भावुक हुने, विना कारण चिच्याउने, बिना कारण रोइदिने, सानो केटाकेटी जस्तो व्यवहार गर्ने लगायत उहाँहरुलाई के गर्नुपर्छ हेक्का हुँदैन । यस्तोमा डिमेन्शिया भएको हुन सक्ने सम्भावना बढी हुन्छ । त्यसैले राम्ररी परीक्षण गर्न जरुरी छ । डिमेन्शिया लाग्यो भने यही औषधिले निको हुन्छ भन्ने छैन । यसको सबैभन्दा उत्तम उपाय भनेको त्यसलाई न्यूनीकरण गर्न सकिन्छ । यसमा मुख्यत पाँचवटा कुरालाई ध्यान दिनुपर्छ । साथै, सही खानपानबाट पनि डिमेन्शिया हुनबाट जोगिन सकिन्छ । दैनिक कुनै पनि एउटा फलफूल खानुपर्छ । सम्भव भएसम्म बदाम, ओखर, हरियो सागसब्जी, पखालेर चबाउने खालका खाने कुराहरु खानुपर्छ । नसा सुकेर यो रोग लाग्छ । मुटुमा केही खराबी, उच्च रक्तचाप भएमा ब्रेनमा रगतका नलीहरु जाम भइराखेका छन् । त्यसले गर्दा ब्रेनमा सही तरिकाले अक्सिजन पुग्दैन । त्यहाँ नयाँ ब्लड सिञ्चित भएको छैन भने एक खालको डिमेन्शिया लाग्छ । हाम्रो पहिलो दायित्व भनेको मुटुको रोग लाग्न नदिनु हो । जसमा मुटु, उच्च रक्तचाप भएकाहरुले नियमित रुपमा औषधि सेवन गर्नुपर्छ । आफूले देखाइरहेको चिकित्सकसँग नियमित रुपमा फ्लोअपमा रहनुपर्छ । यदि मांशाहारी हुनुहुन्छ भने खसी, कुखुराको रातो मासुभन्दा माछामा जोड दिनुपर्छ । माछामा ओमेघा थ्री पाइन्छ, जसले ब्रेन स्वस्थ रहन सहयोग गर्छ । डिमेन्शिया लाग्दा ब्रेनमा खराब प्रोटिन जम्मा हुन्छ । त्यसैले, विभिन्न खालका डिमेन्शियाबाट बच्नका लागि दैनिक शारीरिक अभ्यास गर्नुपर्छ । नियमित अभ्यासले मुटुको ढड्कन बढ्छ, यसले रगतमार्फत् ब्रेनमा बिभिन्न तत्व पुग्छ । ब्रेनका कोसिकाहरु राम्ररी उजागर हुन पाउँछ । यस्तै, सामाजिक क्रियाकलापमा विशेष पहल गर्नुपर्छ । कुनै पनि सामाजिक क्रियाकलाप ध्यान दिँदा अरुको कुरा सुन्दा बुझ्दा दिमाग सक्रिय हुन्छ । यस्तै, ब्रेनलाई सक्रिय बनाउनक पढेर, संगीतमा रमेर, कुनै गेम बाघचाल, चेस खेल्न छाड्न हुँदैन । जहाँ दिमागको प्रयोग गर्ने खेलले अल्जाइमर डिमेन्शिया लाग्नबाट बचाउन सहयोग गर्छ । अल्जाइमर डिमेन्शियाका बिरामी गाउँघरतिरबाट न्यून संख्यामा आइपुग्छन् । ३/४ वर्षयता सहरी क्षेत्रबाट ठूला अस्पतालहरुमा धेरै व्यक्तिहरु आइपुग्छन् । जसलाई समस्या पर्छ, उहाँहरु उपचारका लागि आउनु भएको छ । अल्जाइमर डिमेन्शियालाई निको पार्ने औषधि छैन । तर, त्यसलाई कम गर्न सकिन्छ । त्यसो त नेपालमै पनि यसको औषधी बनाइन्छ । एउटा स्मरणशक्ति बढाउनका लागि प्रयोग गर्ने औषधी छ । साथै, रातभरि वृद्धाहरु सुत्न नसक्ने, छट्पटाउने, राती चिच्याउने कराउने, खाना नखाने लगायत व्यवहार देखाउनेहरुलाई पनि औषधि सेवन गराउनुपर्छ ।

Like