भूमिगत टुकुचा उत्खनन् गर्न नपाइने, बालेनको योजनामा ठेस
रासंसा/काठमाण्डौ, कार्तिक ६,
मुलुकमा काठमाडौंको हात्तीसारमा भेटिएको टुकुचा भत्काउन नपाइने भएको छ। पुरातत्व विभागले टुकुचामा महानगरले डोजर चलाएपछि थप अध्ययन गरेको थियो। विभागका प्रवक्ता रामबहादुर कुँवरले हात्तीसारमा भेटिएको टुकुचा उत्खनन्को साटो संरक्षण र संवर्द्धन गर्नुपर्ने बताए। ‘हामीले गरेको अध्ययनअनुसार यो राणाकालीन संरचना भएको तथ्य भेटियो,’ उनले भने, ‘अब यसको संरक्षण र संवर्द्धनको काम गर्नुपर्छ।’ यसअघि टुकुचाबारे अध्ययन भएको थिएन। काठमाडौं महानगरपालिकाले भूमिगत संरचना खोतल्ने क्रममा भेटिएको टुकुचा राणाकालीन संरचना भएको पुष्टि भएसँगै टुकुचा थप खोतल्न नपाइने भएको हो। अब महानगरपालिकाले भूमिगत संरचना खोजीका लागि चलाएको डोजर टुकुचामा चलाउन पाउने छैन । यसले काठमाडौंका मेयर बालेन्द्र शाहलाई ठेस पुगेको छ। महानगरपालिकाले खोला खोजी गर्दा उक्त टुकुचा फेला परेको हो। यसमा केही क्षति पुगेको छ। क्षति पुगेको ठाउँमा मर्मत गर्नुपर्ने देखिन्छ। उनका अनुसार आगामी दिनमा महानगरपालिकाले भूमिगत संरचना खोजी गर्दा यसलाई क्षति नहुने गरी गर्नुपर्छ। नारायाणहिटीभन्दा बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजाम्म भूमिगत रूपमा बनाइएको सुरुङ सय वर्षभन्दाअघि नै बनेको प्रतिवेदनमा उल्लेख छ। पुरातत्वविद् भाष्कर ज्ञवालीको नेतृत्वमा बनेको समितिले अध्ययन प्रतिवेदन तयार गरेको र यसले टुकुचाका बारेमा तथ्यहरू संकलन गरी संरक्षण गर्नुपर्ने औल्याएको उनले जानकारी दिए। प्रतिवेदनअनुसार इँटा र सुर्की चुना प्रयोग गरेर सुरुङ निर्माण भएको छ। प्रयोग भएको इँटामा श्री-३ वीर लेखिएको छ।