ज्यामरुङवासीको मंसिर ४ गतेको निर्वाचन बहिष्कार गर्ने घोषणा
रासंसा/काठमाण्डौ, कार्तिक ५,
मुलुकमा श्री ५ को वायुगुठी, समस्या समाधान संघर्ष समिति, वडामा क्रियाशिल सम्पूर्ण राजनीतिक पार्टीका प्रतिनिधि र सम्पूर्ण ज्यामगुरुङवासीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने भएका छन् । उनले भने,‘यो भनेको ३५ सय घरधुरीको बगिरहेको आँशु हो । हाम्रो समस्या समाधानको लागि पत्रकारहरुको ठूलो हात हुनेछ । हामी दिनप्रतिदिन त्यसै संघर्षमा उत्रिएका होईनौं । सबै निकाय धाएका छौं । तर कतैबाट समस्या समाधान नभएकोले यो निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेका हौं ।’ आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले निर्वाचन बहिष्कार गर्न लागेको जनाएको हो । संघर्ष समितिका संयोजक ईश्वरीबहादुर लम्सालले आफूहरु कुनै रहरले नभई बाध्यताले निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेको बताए । उनले २०३२ सालदेखि जग्गाको नापी सुरु भएको र आफूहरु सोही कालदेखि नै जग्गाको धनी रहँदै आएको, र बहुदल र प्रजातन्त्र आउँदापनि जग्गाधनी रहेको सुनाए । ०६२÷०६३ सालको जनआन्दोलनपछि गणतन्त्र आएपछि भने आफूहरुलाई सरकारको लापरवाहीको कारण जग्गाधनीबाट (कुनै पनि सूचना नदिईकन मोही बनाउने काम भयो) त्यही कारण आफूहरुले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको भन्ने उनको भनाई छ । कार्यक्रममा बोल्दै निलकण्ठ नगरपालिका वडा–११ अध्यक्ष तथा सोही वडाका कांग्रेसका सभापति रामबहादुर श्रेष्ठले आफ्नो वडाका सबै दलका प्रतिनिधिहरुको उपस्थितिमा वडा कार्यालयको रोहबरमा आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जनाए । उनले उक्त निर्णय सर्वसम्म्त रहेको पनि स्पष्ट पारे । कार्यक्रममा सो क्षेत्रमा क्रियाशिल नेकपा (माओवादी केन्द्र) की प्रदेश कमिटी सदस्य सरला धमलाले पनि समितिले अघि सारेको माग र गरेको निर्णयमा ऐक्यबद्धता जनाएकी छिन् । उनले आफूहरु माग पूरा गराउनको लागि राष्ट्रिय मुद्दा बनाएर अघि बढेको सुनाईन् । उनले आफूहरु पहिले जग्गाधनी रहेको र अहिले आएर राज्यको लापरवाहीको कारण सुकुम्बासीमा परिणत भएको गुनासो पोखिन् । उनले सम्पत्तिमाथिको नागरिकको मौलिक हक हनन भएको पनि टिप्पणी गरिन् । समितिले चाल्ने कदममा आफू र आफ्नो दलको पूर्ण ऐक्यबद्धता रहने पनि धमलाको भनाई छ । उनले गुठीको विरुद्धमा यसअघि पनि आन्दोलन चलेको स्मरण गराए । श्रेष्ठले ०७४ को निर्वाचनपछि गुठी संघर्ष समितिमार्फत आन्दोलन गरेको स्मरण गराउँदै आफूहरुको माग’bout भने कुनै सुनुवाई नभएको गुनासो पोखे । उनले आफूहरुको प्रतिनिधित्व कुनै ठाउँमा नरहेको गुनासो पोखे । यस्तै, राप्रपाका प्रतिनिधि नमराज धमलाले राज्यको लापरवाहीको कारण आफूहरु सुकुम्बासी बन्नुपरेको सुनाए । उनले भने,‘गणतन्त्रले श्री ५ भन्ने शब्द मेटाईदिएको छ । तर, गणतन्त्रका ती नायकहरु श्री ५ बनेका हुन त ? म प्रश्न गर्न चाहन्छु । प्रदेश सरकार गठन भएपछि हाम्रो जग्गा तलमाथि भएको छ ।’ त्यस्तै, सोही क्षेत्रमा सक्रिय नेकपा (एमाले) वडा ईन्चार्ज केदार लम्सालले पनि समितिको निर्णयको ऐक्यबद्धता जनाएका छन् । उनले आफूहरु दलीय आवद्धताभन्दा माथि उठेर आफूहरुको माग र मुद्दाको सम्बोधन गर्न लागिपरेको सुनाए । उनले भने,‘यो निर्वाचन बहिष्कार गर्नको लागि म सबैमा आग्रह गर्न चाहन्छु ।’ कार्यक्रममा अर्का वक्ता सुर्वण रिमालले निर्वाचन बहिष्कार गरेर समाधान होला त ? भन्ने जिज्ञासा राखेका थिए । तर, माग पूरा हुने सवालमा भने समितिले गरेको निर्णय र आगामी दिनमा चाल्ने कदममा भने आफ्नो पूर्ण समर्थन रहने उनको प्रतिबद्धता थियो । उनले आफूहरुको जग्गा गुठीमा रहेको भनेर कतैपनि अभिलेखमा नदेखिएको भन्दै नेताहरुको प्राविधिक गल्तीको कारण यस्तो भएको भन्दै सो जग्गा’bout राज्यले तत्काल छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिए ।