तिहारको व्यापार उच्च, उपभोक्तामा खुसी, व्यावसायीहरूको गुनासो

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ५,

मुलुकमा यमपन्चकको समयमा तिहारको ब्यापार उच्च भएको छ । हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहार नजिकिँदै जाँदा काठमाडौंको न्युरोड, असन, इन्द्रचोकलगायतका क्षेत्रमा भीडभाड बढ्दै गएको छ । तिहारका लागि किनमेल गर्न असन, इन्द्रचोकलगायतका क्षेत्र उपभोक्ताको पहिलो रोजाइमा पर्ने क्षेत्र पनि हुन् । तिहारमा धनतेरषका दिन विशेष गरे धातुजन्य सामग्रीको खरिद गर्ने र लक्ष्मी पूजाका दिन पूजा गर्ने प्रचलन रहेको छ । यसले सुनचाँदी तामा लगायतका धातुजन्य सामग्रीको ब्यापार ह्वात्तै बढ्ने गरेको पाइन्छ । असन स्थित स्थानीय धातुजन्य भाँडा व्यवासायी सीताराम तिमल्सिना भन्छन्– ‘धन तेरसका दिन धातुजन्य सामग्री खरिद गर्दा राम्रो हुन्छ भन्ने जनविश्वास छ । त्यसैले तिहारमा राम्रो व्यापार हुने गरेको छ’, उनी थप्छन्, ‘वर्षभरिमै तिहारमा राम्रो व्यापार हुन्छ र यो पटक पनि उपभोक्ताको फ्लो बढिरहेको छ ।’ तिहारमा विशेषगरी धातुजन्य सामाग्री तथा फूलमाला, भाइमसला (काजु, किसमिस, बदाम, नरिवल, जिन्जर लगायतका वस्तु) र झिलिमिली बत्तीको खरिदका लागि उक्त क्षेत्रमा उपभोक्ताको भीड लाग्ने गरेको छ भने, यसबाहेक, लत्ताकपडा र जुत्ता चप्पलको खरिदका लागि उत्त क्षेत्रमा चहलपहल राम्रै हुने गरेको छ । तिवारी भन्छिन्– ‘विगत ३०÷३५ वर्षदेखि यही क्षेत्रमा निमेलका लागि आउने गरेकी छु । यसपटक सारीलगायतका सामाग्री खरिद गरेँ’, उनले यसपटक असनलाई केहि भिन्न पाएको भन्दै खुसीसमेत व्यक्त गरिन्, ‘बाटो खुल्ला रहेछ । सँधै जस्तो ठेलमठेल पनि छैन अनि बाटोमा तँछाडमछाड पनि नहुँदा हिँडडुलमा सहज रहेछ खुसी लाग्यो ।’ अर्कातर्फ तिहारमा फूलमाला, भाइमसला तथा भाइ टीकाको दिन आवश्यक पर्ने सामग्री तथा लत्ता–कपडाका लागि पनि उपत्यकाका विभिन्न ठाउँबाट उपभोक्ताहरू असन इन्द्रचोक धाउने गरेका छन् । कलंकीकी सावित्री तिवारी विगत तीन दशकदेखि चाडपर्व लक्षित किनमेलका लागि सोही क्षेत्रमा आउने गरेकी छिन् । स्थानीय कपडा व्यवसायी हरिप्रसाद न्यौपाने भन्छन्, ‘सधैं फुटपाथमा सबै सामग्री पाउँथ्यो र उपभोक्ताहरू सटरमा पनि पस्नुहुन्थ्यो । व्यापार अलि बढी थियो । अहिले त्यो नहुनाले उपभोक्तको ‘फ्लो’ नै कम छ । व्यापार सधैं जस्तो उल्लेख्य छैन ।’ उनी जस्तै अर्का नवि हसन भन्छन्, ‘धेरै व्यापार नै छैन । पहिले सटरबाट बाहिरसम्म समान राख्न पाइन्थ्यो । मान्छे त्यो देखेर आउँथ्यो तर, यसपटक बाहिर राख्न पनि पाइँदैन । दिनको चार–पाँच हजारको व्यापार हुन्छ, यसले धान्न सक्ने अवस्था नै छैन ।’ तिवारीले भने झैं यो वर्ष काठमाडौं महानगरले असन, इन्द्रचोकलगायतका क्षेत्रलाई व्यवस्थित बनाएको छ । फुटपाथ व्यापारले अस्तव्यस्त रहने उक्त क्षेत्रमा आवतजावत सहज हुँदा तिवारीजस्तै अन्य उपभोक्ता पनि दंग छन् । तर, महानगरले फुटपाथ पसलहरूमा कडा निगरानीसहित प्रतिबन्ध लगाउँदा कतिपय त्यहाँका सटर व्यवसायीहरू नै असन्तुष्ट छन् । यस्तै तिहारका लागि चाहिने रङ, माला तथा पूजा सामग्रीको व्यापार गर्दै आएका दर्शन दास पनि महानगरको कडा निगरानीका कारण दुःखी बनेका छन् । यसअघि फुटपाथमा व्यापार गरेर घर खर्च टार्ने गरेको भएपनि महानगरले गर्दा अरुकै पसलको छेउमा भाडा तिरेर बेच्नु परेको व्यापार पनि कम हुने गरेकोले मार्का परेको उनको गुनासो छ ।

Like