मनास्लु हिमपहिरोमा परेका घाइते सबैको उद्धार

Share to:

रासंसा/काठमाण्डौ, आश्विन ११,

मुलुकमा मनास्लु हिमपहिरोमा परी घाइते भएका सबैको उद्धार गरिएको छ भने मृतक शंखुवासभाका ३४ वर्षिय अनुप राईको शव काठमाडौँ लगिएको छ। ‘शव तेस्रो शिविरबाट हेलिकप्टरमा सामागाउँ ल्याई मुचुल्का गरेर पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौँ पठाइएको छ’ एसपी खनालले भने। मंगलबार सात जना र सोमबार दुई जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। घाइते मध्ये दुई जनाको अवस्था समान्य रहेकाले उनीहरु हिँडेर बेस क्याम्पतर्फ फर्किएका एसपी केदार खनालले बताए। मृतकको शव मंगलबार दिउँसो ल्याउन प्रयास गरिए पनि मौसम प्रतिकुल भएकाले ढिला भएको एसपी केदार खनालले बताए। सोमबार दिउँसो करिब १२ बजेतिर तेस्रो र चौँथो शिविरको बीचमा पहिरो जाँदा १२ जना परेका थिए। सोमबारदेखि घाइतेको उद्धार गर्ने हेलिकप्टरको प्रयास सफल भएन। सोमबार साँझ सिम्रिएक एयरले दुईजना घाइतेको उद्धार गरेको थियो भने अन्य घाइतेको मंगलबार मात्रै उद्धार भएको छ। मंगलबार कैलाश, सिम्रिक, हेलि एभरेष्ट कम्पनीका तीनवटा हेलिकप्टरले घाइतेको उद्धार गरेको हो। किलर माउन्टेनको रुपमा चिनिने मनास्लु आरोहण गर्न यो सिजनमा पर्यटन विभागबाट चार सय भन्दाबढिले अनुमती लिएका छन्। मनास्लु आधार शिविरमा चार सय हिमाल आरोही र पाँच सय भन्दा बढी शेर्पाहरु रहेको रहेकी पर्यटन विभागकी अधिकृत यशोदा अर्यालले जानकारी दिइन्।

Like