दुबईमा ३५ करोडको चिट्ठा गुल्मीका भरतलाई
रासंसा/काठमाण्डौ, आश्विन ७,
मुलुकमा ब्रेन ट्युमरबाट पीडित भाइको उपचार र छोराछोरीको शिक्षाका लागि बिदेसिनु बाध्यता थियो गुल्मीका ३१ वर्षीय भरत बिकको। साउदीको रोजगारीले उनको आवश्यकता टारेन। फर्किए र दुबईमा रोजगारीका लागि पुगे। गाडी धुने काम पाए। आम्दानी सामान्य नै थियो। तर, असोज १ गते उनका लागि जीवन नै परिवर्तन गर्ने दिन बन्यो। चिट्ठाबाट करोडपती बने। यो उनले काटेको पहिलो चिट्ठा थिएन। वा भाग्य खुलिहाल्छ कि भन्ने सोचमा उनले अढाई वर्ष अघिबाट निरन्तर चिट्ठा काट्दै आएका थिए। भाग्य खुल्ने आस असोज १ दिन बन्यो उनका लागि। भन्छन्, ‘म चिट्ठा काटिरहन्थेँ। एक दिन पर्लाकी भन्ने थियो। पर्यो।’ चिट्ठामा १ देखि ४९ नम्बरमध्ये पाँचवटा नम्बर छान्नुपर्छ। पाँचवटै नम्बर मिलाउनेले ठूलो राशि जित्ने नियम छ। दुबईको मह्जूज चिट्ठामा ३५ करोड रुपैयाँ (१० मिलियन दिर्हाम) उनले जितेका छन्। ‘शनिबारको दिन थियो। चिट्ठा ९ बजे खुल्छ। एकपछि अर्को मेरो नम्बर मिल्दै गयो, कोठामा साथीहरू चिच्याउन थाले। पाँचवटा नम्बर मिल्नुपर्छ। सबै मिले पछि त सबैमा खुसीको सीमा नै रहेन। म त सपना हो कि विपना भन्ने छुट्ट्याउनै सकिरहेको थिइन्,’ भरतले चिट्ठा परेको दिनलाई सम्झँदै सुनाए। भरत दुबईमा दिनभरि गाडी धुन्छन्। यसवापत महिनामा १३ सय दिर्हाम अर्थात् ४५ हजार रुपैयाँ तलब थाप्छन्। अन्दाजी ११ हजार रुपैयाँ खान खर्च हुन्छ। महिनाको ३४ हजार रुपैयाँले छोराछोरी र घर परिवारको खर्च धानेर दिल्लीमा उपचार गराइरहेका बिरामी भाइलाई पैसा पठाउँछन्। यो पीडाबाट अब केही मुक्ति हुने उनको आशा छ। भन्छन्, ‘मेरो आर्थिक भारलाई अब केही सहज होला भन्ने लागेको छ।’ भरतले १६, २७, ३१, ३७ र ४२ नम्बर छनोट गरेका थिए। यी नम्बर नै उनको भाग्योदयको अंक बन्यो। यी अंक पनि उनका लागि विशेष छ। २७ आफ्नै जन्म गते हो। १६ विवाह भएको महिनाको गते हो। उनी प्रायः यी नम्बर कहिले छुटाउँदैनन् थिए। आखिर यही अंक मिश्रण भएको चिट्ठाले उनलाई करोडपति बनाएको छ। काठमाडौंको एक म्यानपावर कम्पनीमार्फत तीन वर्षअघि उनी दुबई आएका थिए। बिदेसिन लागेको खर्च तिर्न एक वर्ष लाग्यो। भाइको उपचारका लागि पर्याप्त रकम नहुँदा राम्रो उपचार नभएको उनी बताउँछन्। दिल्लीको एक अस्पतालमा उनलाई राखिएको छ। अप्रेसन गर्दा केही समस्या भएकाले अहिले हलचल गर्न सक्ने अवस्थामा नरहेको र कान पनि सुन्न सक्दैनन्। ‘अहिलेसम्म बुवा र मैले कमाएको सबै पैसा भाइकै उपचारमा खर्च भयो। मैले पाएको यो चिट्ठाको पैसाले अब उनको जस्तोसुकै महँगो उपचार पनि गर्नेछु र भाइलाई बचाउनेछु। पहिलो प्राथमिकता मेरो भाइलाई बचाउने हो,’ उनले भने। ‘परिवारको खर्च र भाइको उपचार गर्दा अहिलेसम्म सुक्को पनि बचत भएको छैन। दुबई आउनु अघि साउदी अरब गएको थिए। साउदीमा भने जस्तो काम र दाम नपाएपछि दुबई आएको हुँ। बुवा भारतमा ड्राइभर काम गर्नुहुन्छ। अब यो चिट्ठाले परिवारमा खुसी मिल्ने आस छ’, उनी भन्छन्। यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले नेपाली श्रमिकले पहिलो पटक ठूलो धनराशि जितेको भन्दै भरतलाई बधाई दिएका छन्। ‘यसले भरतको आर्थिक अवस्थालाई मजबुत बनाउने साथै रेमिट्यान्स प्रवाहमा वृद्धि भई थप टेवा पुग्नेछ। हामी झनै खुसी छौं,’ ढकालले भने। भरत असोज ११ गते वार्षिक बिदामा नेपाल आउने तयारीमा थिए। चिट्ठा परेपछि उनले नेपाल जाने योजनालाई पछि सारेका छन्। चिट्ठाको रकमलाई नेपाल पठाउने प्रक्रियामा लाग्ने उनले बताएका छन्। भरतले जितेको चिट्ठा मह्जूजको ९४औं साप्ताहिक शृंखलाको हो। यो हरेक साता शनिबार यूएईको समयअनुसार बेलुकी ९ बजे खोलिन्छ। चिट्ठा किन्न ३५ दिराम चाहिन्छ। चिट्ठामा कम्तीमा ३ वटा नम्बर मिलाउनु पर्नेछ। ३ वटा मिलाए ३५० दिराम र ४ वटा मिलाए १० लाख दिर्हाम दमाशाहीले बाँड्ने नियम छ। यसको अलावा ३ जनालाई प्रतिव्यक्ति १ लाख अर्थात् ३ लाख रुपैयाँको चिट्ठा पर्नेछ। अघिल्लो साता समीरकुमार पन्जियारले १ लाख दिराम (३५ लाख रुपैयाँ) जितेका थिए। मह्जूजका अनुसार अहिलेसम्म ३२ सय नेपालीहरूले उक्त चिट्ठा जितेका छन्। २८ नेपालीले पहिलो र दोस्रो ठूलो धनराशिको चिट्ठा जितिसकेका छन्। भरतलाई चिट्ठा त पर्यो। तर, चिट्ठामा परेको पैसा राख्ने बैंक अकाउन्ट छैन। कम्पनीले उनको तलब एक्स्चेन्ज हाउसमार्फत दिने गरेको छ। यूएई सरकारले कामदारको तलब अनिवार्य रूपमा बैंक अथवा एक्स्चेन्ज हाउसमार्फत भुक्तानी गर्नुपर्ने नियम (डब्लूपीएस) गरेको छ। बैंकले थोरै तलब हुने कामदारहरूको एकाउन्ट खोल्न मान्दैनन्। ठूलो धनराशिको चिट्ठा परेपछि मह्जूजले नै बिकको बैंक अकाउन्ट खोलिदिन सहयोग गर्ने भएको छ।