आठ महिनामा ३ लाख २६ हजार पर्यटकको आगमन

Share to:

रासंसा/कास्की, भाद्र १८,

मुलुकमा कोरोना भाइरस संक्रमणले थला परेको पर्यटन अब भने ब्युझन थालेको छ । कोरोनाका कारण करिब दुई वर्ष विदेशी पर्यटक आउनै सकेनन्। दुई वर्षे अवधिमा कुनै महिना त विदेशी पाहुनाको आगमन शुन्य नै रह्यो। तर, यो वर्ष (२०२२) लागेपछि भने विदेशीको आगमनमा सुधार देखिन थालेको थियो। यो वर्षको आठ महिना (जनवरी–अगष्ट) सम्मको अवधिमा नेपालमा ३ लाख २६ हजार ६६७ जना विदेशी पर्यटक भित्रिएका छन्। यो आगमन अपेक्षा भन्दा पनि बढी रहेको व्यवसायीले बताएका छन्। बोर्डका अनुसार यो वर्षको सुरुवातदेखि नै पर्यटन आगमनमा सुधार हुन थालेको थियो। आठ महिना बितिसक्दा पनि त्यो सुधारले गति लिइरहेको लामिछानेले बताए। नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार भित्रिएका सबै विदेशी पाहुना हवाई माध्यमबाट आएका हुन्। त्यसबाहेक स्थलमार्गबाट भित्रिएका विदेशीको खासै तथ्यांक कतै पाइँदैन। यो अवधिमा भारतीय पाहुनाको ठूलो हिस्सा स्थलमार्गबाट नेपाल भित्रिए पनि उनीहरुको तथ्यांक कतै रहँदैन। तर, शून्यमा झरेको पर्यटन बजारले आठ महिनाको अवधिमा निकै नै धेरै पाहुना पाएको छ। बोर्डको तथ्यांक अनुसार जनवरी महिनामा नेपालमा १६ हजार ९७५ जना विदेशी पाहुना भित्रिएका थिए। त्यो संख्या फेब्रुअरीमा १९ हजार ७६६ पुगेको थियो। मार्चमा ४२ हजार ६ जना पाहुना भित्रिएकोमा अप्रिलको आगमन संख्या ६१ हजार ५८९ थियो। मे महिनाको आगमन संख्या ५३ हजार ६०८ रहेकोमा जुनमा ४६ हजार ९५७ जना विदेशी नेपाल भित्रिएका थिए। ‘पर्यटनमा सुधारका संकेत यो वर्षको सुरुदेखि नै देखिएको थियो। त्यो गति अझै पनि निरन्तर छ। कहिले काही आगमन अनुपात तलमाथि भइरहन्छ,’ लामिछानेले भने, ‘छोटो समयमा अपेक्षा गरेभन्दा बढी विदेशी पाहुना भित्रिएका छन्। अब पर्यटक भित्रिने सिजन सुरु भएकोले आगामी महिनाको आगमन संख्या अझै बढ्ने अपेक्षा छ।’ यही महिनाको आगमन २०२० मा जम्मा २५६ रहेकोमा २०२१ मा ५ हजार ९१७ थियो। नेपाल आउने विदेशीलाई अन्तर्राष्ट्रिय रुपमा हुने घटनाक्रमले पनि प्रभावित पार्ने गरेको लामिछानेको भनाइ छ। कोरोना संक्रमण कम भएपछिको अवस्थामा अघिल्ला महिनासम्मको सुधारको वृद्धिदर ७० देखि ७५ प्रतिशत हाराहारीमा रहेकोमा अगष्ट महिनामा त्यो सुधारको दर केही खुम्चिएको उनले बताए। जुलाई महिनामा ४४ हजार ४६२ जना भित्रिएकोमा अगष्टमा ४१ हजार ३०४ जना विदेशी नेपाल भित्रिएका छन्। कोरोना संक्रमण सुरु हुनुअघि अगष्ट महिनाको नेपालमा विदेशी पाहुनाको आगमन संख्या ७३ हजार ८ सय १४ रहेको थियो। २०१९ को अगष्ट महिनाको तुलनामा यो अगष्टको आगमनमा ५६ प्रतिशत शुधार भएको लामिछानेले बताए। एकैखालको वृद्धिदरमा यो महिना केही कमजोर भएपनि अहिले नै हतासिनु नपर्ने उनले बताए। ‘आगामी सिजनको रेस्पोन्स राम्रो पाएका छौँ। सिजन पनि सुरु भएको छ। अबका महिना विदेशीको आगमनमा पक्कै सुधार हुनेछ,’ उनले भने। पर्यटन क्षेत्रमा सेप्टेम्बर–नोभेम्भर मुख्य सिजन मानिन्छ। ‘जुन रुपमा पछिल्ला महिना सुधारको दर ७० प्रतिशत हाराहारीमा थियो। तर अगष्ट महिनामा भने त्यो खुम्चेर ५६ प्रतिशतमा झरेको छ। अन्तर्राष्ट्रिय रुपमा भएका केही घटनाक्रमले त्यसलाई प्रभावित पारेको हुन सक्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा भएका युद्धका घटनाक्रम पनि कारक हुन सक्छन्।’ पहुँचमा समस्यामा हुँदा पोखराले साथ पाउन नसकेको उनले बताए। ‘पोखरा आफैंमा लोकप्रिय गन्तव्य भएका कारण मात्र पाहुना आएका हुन्। तर, अहिले धेरैजसो पूर्वाधार कमजोर बनेका छन्। नियमित गतिविधि केही छैनन्। पहुँच आफैमा कमजोर छ,’ उनले भने, ‘कोभिड पछिको रिकभरले राम्रो संकेत देखाएको छ। तर, आउजाउमै समस्या हुँदा पोखराले उत्तिसारो लाभ पाउन सकेको छैन। पर्यटकलाई घुमाउने पूर्वाधार अहिले छैनन्।’ नयाँ गतिविधि र गन्तव्य नहुने हो भने पोखरा आउने तयारी रहेका पर्यटक पनि अन्यत्र ‘डाइभर्ट’ हुन सक्ने उनले बताए। पर्यटन व्यवसायी पर्यटक आगमन कोरोनापछि वृद्धि भएपनि पर्याप्त पूर्वाधारका कारण सबैखाले पर्यटन क्षेत्रले लाभ पाउन नसकेको बताउँछन्। ‘कोरोनापछिको रिकभर राम्रो हो। अहिलेसम्मको आगमनले पनि सकारात्मक संकेत देखाउको हो,’ पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष सुशीलराज पौडेलले भने, ‘पर्याप्त पूर्वाधार र पहुँचमा सहजता हुने हो भने पाहुना आउने छन्। अहिले पहुँचमा पोखरा पछाडि परेको छ।’

Like