फोहाेरको उपत्यकामा १० दिन लाग्ने फोहोर व्यवस्थान गर्न

Share to:

रासंसा/काठमाण्डौ, भाद्र ३,

मुलुकमा दुई महिनादेखि काठमडौँ उपत्यकामा थुप्रिएको फोहाेर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ। पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहाेर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहाेर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन। यसले
सहरका चोक, गल्लीमा लामो समयदेखि फोहाेर थुप्रिएको छ। साविक बमोजिम फोहाेर व्यवस्थापनको लागि स्थानीयले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा सबै फोहाेर व्यवस्थापन हुने कामपाका प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए। उनका अनुसार अहिले पनि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा आठ हजार टिप्पर फोहाेर व्यवस्थापन गर्नुपर्ने छ। विना अवरोध नियमित फोहाेर व्यवस्थापन गर्न सकेको अवस्थामा सबै फोहाेर व्यवस्थापनमा सो समय लाग्नेछ। फोहाेर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चार बुँदे सहमतिपछि बिहीबारबाट साविक बमोजिम फोहाेर व्यवस्थापन कार्य हुन थालेको हो। उक्त स्थानमा पनि अझै पाँच सय टिपर फोहर रहेको बताइएको छ। लामो समयदेखि उपत्यकाको १८ स्थानीय तहको फोहाेर अन्तिम व्यवस्थापनस्थलसम्म लान नपाएपछि कामपाले टेकुमा थुपारी प्लािस्टकले छोपेर राखेको थियो। हाल सञ्चालनमा रहेको फोहाेर बोक्ने टिपरको सङ्ख्यामा वृद्धि गरी केही दिनमा नै दैनिक तीन सय गाडीले फोहर विसर्जनको तयारी रहेको छ। पछिल्लो सम्झौताअनुसार फोहरको गाडीबाट लिच्चड चुहाउन पाइने छैन। तर कामपासँग अहिले लिच्चड ट्याङ्क भएको ७५ टिपर छन्। ती टिपरले दैनिक दुई टिप गर्नेछन् भने एक सय ५० वटा लिच्चड ट्याङ्क भएका टिपर भाडामा लिएर प्रयोग गर्ने तयारी रहेको सचिवालय सदस्य लम्सालले बताए। सहमतिपछि बिहीबारबाट नै दुई महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहाेर व्यवस्थापनको काम पनि सुरु भएको छ। लामो समयसम्म रोकिएको फोहाेर व्यवथापनको लागि नेपाल टिपर तथा ट्रक व्यवसायी समिति र समानान्तर निर्माण सेवालगायत संस्थाले काठमाडौँको फोहाेर अन्तिम व्यवस्थापनस्थलसम्म लानका लागि निःशुल्क सेवा प्रदान गरेका छन्। अहिले उपत्यकाको विभिन्न स्थानमा अस्तव्यस्त रुपमा रहेको फोहाेरको विसर्जन हुने वित्तिकै त्यसपछि बञ्चरेडाँडामा लगिने सबै फोहर पूर्णरुपमा वर्गीकरण भएर मात्रै लाने जनाइएको छ। घरबाट फोहाेर उठाउँदा स्रोतमै वर्गीकरण गर्ने विषयलाई महत्वका साथ हेर्ने र तोकिएको बारअनुसार फोहरको वर्गीकरण नभए यसअघि भनेझै कारबाही प्रक्रिया अघि बढाइने कामपाले चतावनी दिएको छ। उपत्यकाको फोहाेर व्यवस्थापनको सवालमा सिसडोल, बञ्चरेडाँडाका स्थानीयबीच पटक पटक सहमति भएको छ। पटकपटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले समय समयमा अवरोध गर्दै गर्दा काठमाडौँमा फोहरको डङ्गुर थुप्रने गरेको छ। स्थानीयले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले हालको सम्झौता दीर्घकालिन नभएको भन्दै कामपाले अन्य स्थानमा फोहाेर व्यवस्थापन स्थान पहिचानको काम भने जारी राखेको छ। बिहीबार उक्त समितिले एक हजार आठ सय टिपर फोहाेर बोकेर ल्याण्डफिल साइट पुगेका थिए। समानान्तर निर्माण सेवाले पनि पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा टिपर उपलब्ध गराएको समितिका सचिवालय सदस्य रत्नमणि पाठकले जानकारी दिए। फोहाेर व्यवस्थापनका लागि अवरोध गर्ने शृङ्खलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै कामपाका प्रमुख साहले फोहाेर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा सबैले जोड दिन आवश्यक रहेको बताएका छन्।

Like