बोल्न नसक्ने अछामीकाे विवाह प्रस्तावमा बलात्कारपछि हत्या
रासंसा/लमजङ, श्रावण १३,
मुलुकमा लमजुङमा बिबाह अस्वीकार गर्दा सुन्दरबजार नगरपालिका– १ कुन्छामा एक २८ वर्षीया युवतीको करणीपछि हत्या भएको छ। स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा घाउचोट लागेको अवस्थामा जंगलको खोल्सामा युवतीको शव फेला परेको लमजुङका डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए। प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय २४ वर्षीय राम सुनारलाई पक्राउ गरेको छ। सुनारले मंगलबार राति भेट्न बोलाई युवतीसँग शारीरिक सम्बन्ध राखेका थिए। शारीरिक सम्बन्धपछि युवतीले आफूसँग विवाह गर्न भनेपछि सुनारले हत्या गरेका बताइएको छ । डिएसपी कृष्णबहादुर कार्कीका अनुसार घटना सम्बन्धमा अनुसन्धान गर्दा सोही स्थानका सुनार र अछामीबीच विगत केही महिनादेखि प्रेम सम्बन्ध रहेको पाइएको छ। साउन १० गते मंगलबार साँझदेखि बेपत्ता भएकी लीला अछामीको बिहीबार दिउँसो खड्केपानीस्थित सामुदायिक वनमा शव भेटिएको थियो। बोल्न नसक्ने र कान पनि नसुन्ने अछामी लेख्न र सांकेतिक भाषामा कुरा गर्न जान्दथिइन् । मंगलबार ४ बजेतिर घरनजिकै रहेको दिदीको घर गएर साँझ ६ बजेतिर दिदीको घरबाट निस्केकी उनी अबेरसम्म घर नपुगेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । आफू विवाहित भएकाले आफूहरूको सम्बन्ध समाजमा हल्ला हुने डरले सुनारले अछामीको घाँटी च्यापेर लडाएका थिए। तल भिरको खोँचमा पल्टाएर ढुंगाले टाउकोमा प्रहार गरी निर्मम तरिकाले हत्या गरेका प्रहरीले प्रारम्भिक अनुसन्धानमा खुलेको जनाएको छ । घटनामा संलग्न अभियुक्त सुनारलाई बिहीबार पक्राउ गरी लमजुङ जिल्ला अदालतबाट शुक्रबार म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अभियुक्त सुनारले मृतकको मोबाइल तथा गरगहनाहरूसमेत घरमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ। लीलाको शवकोे जिल्ला अस्पताल लमजुङमा पोस्टमार्टमपश्चात् दाहसंस्कारका लागि आफन्तले जिम्मा लिएका छन् ।