एमालेले जितेन भने देश झन् बर्बादीतर्फ जान्छ, झापा पुगेर ओलीको गर्जन
रासंसा/झापा, श्रावण १३,
मुलुकमा नेकपा एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्रि केपी शर्मा ओलीले गृहजिल्ला दौडमा रहेका आगामी सङ्घीय तथा प्रदेशसभा निर्वाचनमा एमालेले नजिते देश झन् बर्बादीतर्फ धकेलिने बताएका छन्। ओलीले पार्टीसहित हरेक भातृ संघसंगठनहरुले टोल-टोलमा सङ्गठन, घर-घरमा सदस्यको नारा लिएर अभियान लिएर अघि बढ्नुपर्ने बेला आएको बताए। झापाको विर्तामोडमा शुक्रबार आयोजित बृहत् कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई चुनाव केन्द्रित प्रचारप्रसारमा अहिलेदेखि नै टोल टोलमा खट्न निर्देशन दिए। उनले चुनावमा भोट कसरी हाल्नुपर्छ भनेर एमालेले मतदातालाई बुझाउनुपर्ने बताए। ‘अब मतदातालाई राजनीतिकदेखि व्यवहारिक प्रशिक्षण गर्नु जरुरी छ। मत वृद्धि र मत रक्षा दुवै गर्नुहोस्। अरूले भ्रममा पारेर भोट लुट्ने, खोस्ने र किन्ने गर्छन्, त्यसलाई रोक्नुहोस्,’ उनले भने। ‘२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको धेरै भोट खेर गर्यो, बदर भयो। हाम्रो एउटा पनि भोट खेर जानु हुँदैन। यति धेरै भोट कसरी बदर हुन्छ?,’ कार्यक्रममा सहभागी कार्यकर्ता तथा नेताहरूलाई उनले प्रश्न तेर्साए। उनले झापाको १५ पालिकामध्ये दमकको परिणामबारे देश विदेशले चासो देखाएको बताए। उनले जिल्लाको १५ वटा पालिका जित्न नसकेको बताउँदै थपे, ‘स्थानीय निर्वाचनको परिणाम जे भयो, भयो। अब हामीले हाम्रो कमीकमजोरीलाई आफैँले महसुस गरी अघि बढ्नुपर्छ।’ उनले झापा जिल्ला आन्दोलनको उर्वभर भूमि भएको र नयाँ युगको सुरुवात यहीँबाट भएको बताउ। ‘यो जिल्ला लालकिल्ला पनि हो। २०४८ सालको निर्वाचनमा ‘मेची अञ्चल, चार जिल्ला, लालकिल्ला’ भनेर हामीले नारा लगाएका थियौं। अब फेरि लालकिल्लाको नारा लगाउने बेला आएको छ,’ उनले भने। उनले अहिले देशको विकास ठप्प भएको र बैङ्कमा पैसाको अभाव भएको आताए। ‘अर्थतन्त्रमा तरलताको अभाव देखिएको छ। त्यसप्रति सरकार गम्भीर देखिएन,’ उनले भने। बहुदल आएपछि २८ वर्षमध्ये २१ वर्ष सरकारको नेतृत्व कांग्रेसले गरेको उनको भनाय छ। विगत स्मरण गराउँदै उनले भने, ‘संसद्मा मैले प्रधानमन्त्रीलाई एउटा प्रश्न गरेका थिएँ- कांग्रेसले २१ वर्ष सरकारको नेतृत्व गर्दा एउटा राम्रो काम गरेको बताइदिनुहोस् प्रधानमन्त्रीज्यु? उहाँले जवाफ दिँदा मैले सुने तर त्यसबारेमा केही बोल्नु भएन।’ तीन दिनदेखि जिल्ला दौडमा रहेका ओली भोलि शनिबार काठमाडौं फर्किने कार्यक्रम रहेको जनाइएको छ।