कार्यकाल सकिनै लाग्दा उपसभामुख

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ३२,

मुलुकमा संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा उपसभामुखमा नेपाली कांग्रेस सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । उपसभामुखका लागि शुक्रबारको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा उनले १ सय ४८ मत पाइन् । उनको विपक्षमा ९३ मत खसेको थियो । उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई ‘उपसभामुखमा चयन गरियोस्’ भन्ने प्रस्ताव पारित भएका कारण भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन । २०७६ साल माघमा तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म रिक्त यो पदमा शुक्रबार चुनाव भएको हो । २०७४ सालको चुनावबाट सांसद भएलगत्तै भुसाल उपसभामुख निर्वाचनमा उम्मेदवार बनेकी थिइन् । २ चैत २०७४ मा भएको उपसभामुख निर्वाचनमा उनी तत्कालीन वामगठबन्धनका तर्फबाट उम्मेदवार रहेकी नेकपा एमालेकी तुम्बाहाम्फेसँग पराजित भइन् । त्यसबेला तुम्बाहाम्फे २ सय १ मत प्राप्त गरी विजयी हुँदा भुसालले ५८ मत पाएकी थिइन् । अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आबद्ध छिन् । उपसभामुख निर्वाचित हुनुअघिसम्म भुसाल कांग्रेसका तर्फबाट सचेतक थिइन् । उनी कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् । कांग्रेसले यसअघि २०७४ सालमा पनि उनलाई उपसभामुख उम्मेदवार बनाएको थियो । तर, उनी नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन् । तर, शुक्रबारसम्म आइपुग्दा नेपालको राजनीतिक दलहरूको अवस्था, दलीय समीकरण र सरकार फेरियो । भुसाल उपसभामुखमा १ मत ४८ मत ल्याएर विजयी हुँदा एमालेका तर्फबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईको पक्षमा ९३ मत मात्रै रह्यो । ‘संविधानको पक्षधर र लोकतन्त्रवादीका लागि खुसीको दिन हो,’ उपसभामुखमा विजयी भएपछि संसद् भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले भनिन्, ‘लामो समयदेखि रिक्त रहेको उपसभामुख पदमा निर्वाचन भयो र संसद्को सबै पदहरूले पूर्णता पाएको छ ।’ राजनीतिमा सक्रिय हुनुअघि पुष्पाले त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरेकी थिइन् । उनी वरिष्ठ अधिवक्तासमेत हुन् । नवनिर्वाचित उपसभामुख भुसालले आफ्नो जित संविधानको पक्षधर र लोकतन्त्रवादीको जित भएको प्रतिक्रिया दिएकी छन् । सभामुख र उपसभामुख फरक दलको र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले नेकपाले सभामुख लिन उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न लगायो । यही कारण तत्कालीन उपसभामुख तुम्बाहाम्फेले १२ माघ २०७६ माघमा राजीनामा दिएपछि रिक्त उपसभामुख पदका लागि शुक्रबार निर्वाचन भएको हो । तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकै कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि राजीनामा दिए । उनको राजीनामापछि पनि सभामुख पद तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नै राख्न चाह्यो । तत्कालीन नेकपा एकता भंग भएपछि ब्युँतिएको नेकपा माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले उपसभामुखमा भुसाललाई समर्थन ग¥यो । यसपटक पनि एमालेले आफ्नै उम्मेदवार उठायो । तर, उसको उम्मेदवार सांसद भट्टराई पराजित भइन् । भुसाल उपसभामुखमा पराजित हुँदा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भइसकेको थिएन । तर, दुवै दल वाम गठबन्धनमा थिए । पछि, पार्टी एकता नै गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाए । कम्युनिस्टहरू एक हुँदै गर्दा उपसभामुखमा पराजित भुसालले कम्युनिस्टहरू विभाजित हुँदा उपसभामुखमा जित हात पारेकी हुन् । सांसद पाण्डेले भनेजस्तै भुसाल प्राध्यापन, कानुन व्यावसाय र राजनीति एकसाथ बढाउँदै आएकी नेत्री हुन् । भुसालको पारिवारिक पृष्ठमूमि पनि राजनीतिक छ । २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमकी छोरी हुन्, भुसाल । सांसदहरू उपसभामुखमा निर्वाचित भुसाललाई संघर्षशील नारीको संज्ञा दिन्छन् । एमाले सांसद विन्दा पाण्डेले विद्या भट्टराई उपसभामुखमा समर्थन गर्दै गर्दा पनि भुसालसँग एउटै मोर्चामा रहेर गरेका संघर्षका दिन स्मरण गरिन् । न्यायका लागि विभिन्न महिला मोर्चामा रहेर स“गस“गै लडेको सम्झिइन् । उपसभामुखमा निर्वाचित भएपछि भुसालले तटस्थताको उदाहरण देखाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । ‘सदनमा तटस्थताको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएकी छु,’ उनले भनिन्, ‘यो जिम्मेवारी उदाहरणीय हुनेगरी इमानदारीपूर्वक निर्वाह गर्नेछु ।’ संघीय संसद् सचिवालयको रेकर्डअनुसार अर्घाखाँची पोखराथोकमा १ फागुन २०१७ मा जन्मिएकी भुसाल २०२८ साल अर्थात् ५१ वर्षदेखि राजनीतिमा छिन् । कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उनी कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय क्रियाशील भइन् । तटस्थ भएर काम गर्ने पद भएकाले त्यसअनुसार भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले ‘पार्टीको सबै जिम्मेवारीबाट अलग हुने’ बताएकी छन् । ‘उपसभामुख पदमा निर्वाचित भएपछि पदीय दायित्व र नैतिकताका आधारमा, परम्परा र अभ्यासका आधारमा पार्टीको जिम्मेवारी स्थगन गर्नेछु,’ उनले भनिन्, ‘पार्टीका कार्यक्रममा मेरो पदले जान स्वीकृति दिँदैन र जान्न पनि ।’

Like