प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर २ मा गर्न आयोगको सुझाव

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २२,

मुलुकमा निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सुझाव दिएको छ । निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानूनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न सुझाव दिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुने भन्ने स्पष्ट कानूनी व्यवस्था नभएको, प्रत्येक सदस्यको निर्वाचित मितिलाई गणना गर्दा फरक फरक मिति मान्नुपर्ने देखिएको भन्दै आयोगले पहिलो निर्वाचित मितिलाई आधार मानी पदावधि गणना गर्नु व्यवहारिक र निर्विवाद हुने बताएको छ । आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको अनुभवका आधारमा एकै चरणमा निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ । आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधि आगामी मंसिर २२ गते पूरा हुने निश्कर्ष निकालेको छ । यसैबीच, निर्वाचन आोगले यस वर्ष प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । यसअघि २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च लागेकामा हाल तलव भत्ता, मतदाता मतदान केन्द्रको संख्या र निर्वाचन सामग्रीको मूल्यवृद्धि लगायतका कारण बढी खर्च लाग्ने आयोगको अनुमान छ । आयोगले विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने भए साउन मसान्तभित्र आयोगलाई उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।

Like