प्रचण्डले आज पदाधिकारी घोषणा गर्दै
रासंसा/काठमाण्डौ, आषाढ २२,
मुलुकमा नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । माओवादी केन्द्रको पूर्वस्थायी कमिटी र इन्चार्जहरूको मंगलबार बसेको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । त्यसैले प्रचण्डले ल्याउने प्रस्तावमाथि छलफल नगरी सोझै पारित हुने सम्भावना रहेको माओवादी स्रोत बताउँएको छ । बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने बताइएको छ । माओवादीमा १५ सदस्यीय पदाधिकारीको व्यवस्था भएपनि आकांक्षी धेरै हुँदा पद तथा जिम्मेवारी बाँडफाट हुन सकेको छैन । पार्टी महासचिवको लागि जनार्दन शर्मा र वर्षमान पुनबीच टक्कर रहेको बुझिएको छ । मंगलबारका लागि डाकिएको केन्द्रीय कमिटिको बैठक बुधबारसम्म स्थगित गरेर मंगलबार प्रचण्ड निवास खुमलटारमा पूर्वस्थायी कमिटी र इन्चार्जहरूको बैठक बसको थियो ।