आगामी तीन दिन भारी वर्षा हुने, उच्च शतर्कता अपनाउन विज्ञको आग्रह प्रभावित क्षेत्रका २० लाख मानिसलाई एसएमएसमार्फत जानकारी दिइयाे
रासंसा/काठमाण्डौ, आषाढ १६,
मुलुकमा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको छ । बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च शतर्कता अपनाउन आम नागरिकलाई आग्रह गर्नुभएको हो । ‘तराईका लगभग सबै खोलाहरूमा बाढी आउने पूर्वानुमान गरेका थियौं, सायद पूर्वदेखि पश्चिमसम्म अहिले भएको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘भोलिसम्मै तराईको लगभग सबै खोलाहरू र गण्डकी प्रदेशसम्म अझ भारी वर्षा हुने देखिएको अवस्था छ, खोलाको जलस्तर बढेर अझ डुबान र बाढीले समस्या दिनेछ ।’ जोशीले आगामी तीन दिन तराईका सबै जिल्लाहरूमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने बताउनुभयो । मनसुन सुरु भएदेखि नै आफूहरूले प्रभावित हुने क्षेत्रहरूमा बसोबास गर्ने २० लाख नागरिकलाई एसएमएसमार्फत जानकारी गराइसकिएको बताउँदै जोशीले मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेको अवस्थामा सतर्क हुन आग्रह गर्नुभयो ।