पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल: रिठ्ठेपानी डाँडा काट्ने बाटो खुल्यो, ल्याण्डफिलसाइटको टुंगो छैन

Share to:

रासंसा/कास्की, आषाढ १५,

मुलुकमा भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘एप्रोच’मा पर्ने पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटानका लागि बाटो खुलेको छ। हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वन विभागबीच डाँडा र त्यहाँका रुख कटानका लागि मंगलबार मात्र सहमति भएको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार विमानस्थलको धावनमार्गको एप्रोचमा पर्ने पूर्वपट्टिको डाँडा अग्लो हुँदा हवाई उडान र अवतरणमा समस्या हुने भएपछि डाँडा र त्यहाँका रुख कटानका लागि प्रक्रिया अघि बढाइएको थियो। विभागसँगको सम्झौतापछि डाँडा सहित त्यहाँका ६ सय रुख कटानका लागि बाटो खुलेको उनले बताए। डाँडा र रुख कटानका लागि प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको थियो। त्यही प्रतिवेदन अनुसार ६ सय रुख कटानमा पर्ने उनले बताए। ‘सहमति जुटेकोले अब टेण्डर प्रक्रिया सुरु हुन्छ। वर्षायाम भएकोे र टेण्डर प्रक्रियाका कारण अझै केही समयपछि कटान सुरु भईहाल्छ,’ उनले भने, ‘जतिसक्दो छिटो हुनेगरि कटान सुरु हुनेछ।’ ‘रुख मात्र काटेर हुँदैन। डाँडाको उचाई पनि घटाउनुपर्छ। रुखका कारण डाँडा कटान रोकिएकोमा अब बाटो खुलेको छ,’ उनले भने, ‘वन विभागसँगको सहमति बिना रुख काट्न नपाउने भएपछि प्रक्रिया लम्बिएको थियो। तर, अब सहज हुनेछ।’ रिठ्ठेपानीमा २ वटा डाँडा काट्नुपर्ने हुन्छ। ती डाँडामा साल, चिलाउने, कटुस लगायतका रुख छन्। विमानस्थलबाट करिब डेढ किलोमिटर परको बाच्छेबुडुवामा पोखरा महानगरपालिकाले फोहर बिर्सजन गर्दै आएको ल्याण्डफिलसाइट पनि अन्यत्र सानुपर्ने भएपनि त्यसको काम भने अझै सुरु भएको छैन। ल्याण्डफिलसाइटको फोहरका कारण चरा आकर्षित हँुदा त्यसको जोखिम विमानस्थललाई हुने विज्ञहरुले बताउँदै आएका छन्। ल्याण्डफिलसाइट सार्ने जिम्मा पोखरा महानगरको हो। डाँडाको उचाई १४ देखि ४० मिटर उचाईसम्म कटान गर्नुपर्ने उनले बताए। ४० रोपनी क्षेत्रफलको डाँडा र रुख कटान हुनेछ। विमानस्थलको पूर्वी सिमानाबाट यो डाँडा १.३५ किलोमिटर टाढा पर्छ। प्राधिकरणले आगामि जनवरी एक देखि पोखराको यो विमानस्थल संचालनमा ल्याउने लक्ष्य राखेपनि डाँडा कटानबाहेक अर्काे मुख्य अवरोध मानिएको ल्याण्डफिलसाइट स्थानान्तरण पनि आवश्यक रहेको निरौलाले बताए। ‘डाँडा कटानको समस्या अब सुल्झनेछ। त्यसैले अब पोखराले ल्याण्डफि साइट स्थानान्तरण गर्न पोखराले चाँसो दिनुपर्छ,’ उनले भने। कोरोनाको अप्ठेरोका बाबजुत पनि निरन्तर खटिँदा ९३ प्रतिशत काम पुरा भएपछि गत चैत तेश्रो साता निर्माण कम्पनिले महत्वपूर्ण पुर्वाधार सकिएको भन्दै विमानस्थलका पूर्वाधार नेपाललाई हस्तान्तरण गरेको थियो। कोरोनाको अप्ठेरोले तोकिएको समयमा सबै काम नसकिएपछि एकवर्षका लागि थपिएको म्याद आगामि जुलाई १० का सकिन्छ। तर, विमानस्थल अहिले पूर्ण रुपमा तयार भइसकेको छ। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ बैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। गत जुलाई १० मा काम सक्नेगरि विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनि चाइना सिएएमसीईले शिलान्यासको डेढवर्षपछि काम थालेको थियो। यो बीचमा कोरोना भाइरस संक्रमण फैलियो। तरपनि चिनियाँ कम्पनिले निर्माणलाई गति दिई नै रहँदा विमानस्थल निर्माणले गति लिएको थियो। जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार डाँडामा रहेका ६ सय रुख कटान हुनेछन। ती मध्ये ८४ वटा ठुला रुख छन्। बाँकी ५१६ भने ३० सेन्टिमिटरसम्म गोलाई भएका साना आकारका रुख रहेका छन्। सरकारी रुख हटाउने कार्यविधिमा एउटा रुख काटेबापत १० वटा नयाँ विरुवा रोपेर प्राधिकरणले वनलाई हस्तान्तरण गर्नुपर्ने बरालले बताए। विमानस्थलका उपप्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलका अनुसार रिठ्ठेपानी डाँडाको सबैभन्दा अग्लो ठाउँबाट ४० मिटर तलसम्म कटान गर्नुपर्ने हुन्छ। डाँडा कटान गर्दा बल्ल जहाजको उडान र अवतरणमा सहज हुने उनले बताए यो डाँडा विमानस्थलको पूर्वि भेगमा पर्छ ‘डाँडा काटेपछि सुरक्षाको हिसाबले उडान र अवतरणमा सहज हुनेछ,’ पौडेलले भने, ‘विमानस्थलसम्मको आकाशको पहुँच क्लियर बनाउन मात्र खोजिएको छ।’ डाँडा काटेपछि सुरक्षाको हिसाबले उडान र अवतरणमा सहज हुनेछ। अनिवार्य रुपमा डाँडा काट्नुपर्ने हुन्छ,’ पौडेलले भने, ‘विमानस्थलसम्मको आकाशको पहुँच क्लियर बनाउन मात्र खोजिएको छ।’

Like