पहिरोले डुम्रे-बेसीसहर-चामे सडक अवरुद्ध
रासंसा/लम्जुंग
मुलुकमा ठाउँ–ठाउँमा गएको पहिरोका कारण डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । तनहुँको डुम्रेदेखि लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र यो सडक अवरुद्ध हुँदा नागरिकहरु समस्यामा परेका छन् । मंगलबार रातभरि र बुधबार बिहानको भारी वर्षाले ठाउँठाउँमा सडक बगाउनुका साथै पहिरोले सडक पुरेको छ । बेंसीसहर नगरपालिका–१, उदिपुरमा डाइभर्सन सडक बगाएकोमा हाल अस्थायी रुपमा खुलाइएको छ । बेंसीसहर नगरपालिका–६, चनौटे, उत्तीसघारी र खरखरेमा पहिरो गएको छ । मस्र्याङ्दी गाउँपालिका–९ मा पहिरो जाँदा खुदी र घनपोखरा जाने सडक अवरुद्ध बनेको छ । मस्र्याङ्दी–३ खुदीको अमर माविदेखि जलकिनेसम्म पहिरोले सडक पुरेको छ । ठाउँठाउँमा गएका पहिरोका कारण सवारीसाधन चल्न सकेका छैनन् भने पैदल यात्रुलाई समेत हिँडडुल गर्न समस्या भएको छ । पहिरोले गर्दा अधिकांश सडक अवरुद्ध भएको हो। मस्र्याङ्दी गाउँपालिका–४ को शीरचौर र मनाङको म्यार्दीखोला नजिक पहिरो जाँदा सडक अबरुद्ध भएको जगतका व्यवसायी बगबहादुर गुरुङले बताए । डुम्रे–बेंसीसहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार मंगलबार साँझदेखिको वर्षाका कारण डुम्रेदेखि बेंसीसहर हुँदै मनाङ जोड्ने सडक ठाउँठाउँमा पहिरोले क्षति पुर्याएको छ । डुम्रे–बेंसीसहर सडकखण्ड खुल्ने र बन्द हुने भइरहेको छ । मंगलबार राति गएको पहिरो बुधबार बिहान पन्छाएर बाटो खुलाएको उनले बताए । बेसीसहरदेखि मनाङतर्फको बाटो भने खुलाउन सकिएको छैन् । बेसीसहर–६, उत्तिसघारी र खरखरे भीरमा गएको पहिरो पन्छाउन नसक्दा दुईसातादेखि नियमित यातायात सञ्चालन हुन सकेको छैन् ।