अर्थतन्त्रमा दलाल र नोकरशाही पुँजीवाद हाबी, बाह्य शक्तिको चलखेल बढेको एकीकृत समाजवादीको निष्कर्ष

Share to:

रसंसा/काठमाण्डौ

नेकपा एकीकृत समाजवादीले राजनीतिक क्षेत्र एक प्रकारको अनिश्चयात्मक परिस्थितिबाट गुज्रिरहेको निष्कर्ष निकालेको छ । काठमाडौंमा सम्पन्न दुई दिने केन्द्रीय परिषद्को बैठकमा समाजवादीले मुलुकमा वाह्य शक्तिहरूको चलखेल बढेर गएको र विस्तारै राजनीतिक क्षेत्र एक प्रकारको अनिश्चयात्मक परिस्थितिबाट गुज्रिरहेको निष्कर्ष निकालेको हो । प्रथम बैठकमा प्रस्तुत ‘राजनीतिक तथा सांगठनिक प्रतिवेदन’मा मुलकको आर्थिक अवस्था झन् पछि झन् खस्किदो अवस्थामा रहेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,‘सबैजसो आर्थिक सूचकाकंहरू नकारात्मक र निराशाजनक छन् । चालु आर्थिक वर्ष २०७८/७९ जेष्ठसम्ममा आयात १७ खर्ब ६३ अर्बको भएको छ भने निर्यात १ खर्ब ८५ अर्वको मात्र भएको छ । व्यापार घाटा १५ खर्ब ७ अर्ब पुगेको छ । विदेशी मुद्राको संचिती घटदै गएको छ । सरकारको पुँजीगत खर्च लक्ष्यभन्दा ज्यादै न्युन छ। महंगी आकाशिदै गएको छ र त्यसबाट सर्वसाधारण जनता आक्रान्त भएका छन् ।’ आयातमुखी र उपभोक्तावादी प्रवृत्तिले आर्थिक सामाजिक जीवन संकटग्रस्त बन्दै गएको समाजवादीको निष्कर्ष छ । निजी क्षेत्रको लगानी पनि वृद्धि हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । ‘आर्थिक असमानता, गरिवी र बेरोजगारी व्याप्त छ । अर्थतन्त्रमा दलाल र नोकरशाही पुँजीवाद हाबी रहेको छ । मुलुकको यो दुरावस्था ज्यादै चिन्ताको विषय हो,’प्रतिवेदनमा भनिएको छ।’

Like