प्रदेश प्रहरी प्रमुख एआइजीलाई बनाऔं, सांसद मेटमणी चौधरीको प्रस्ताव

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ६,

मुलुकमा सांसद मेटमणी चौधरीले प्रदेश प्रहरी प्रमुखमा अतिरीक्त महानिरीक्षक(एआइजी) बनाउनुपर्ने प्रस्ताव राखेका छन्। गृहमन्त्री बालकृष्ण खाँडले प्रस्तुत गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस’ भनी प्रस्तावमाथि छलफलमा सांसद चौधरीले प्रदेशको प्रहरी प्रमुखमा एआइजी बनाउनुपर्ने प्रस्ताव राखेका हुन्। उनले भने, ‘प्रदेश मातहतका अधिकांश जिल्लाहरुमा सहसचिवस्तरको कर्मचारी प्रमुख जिल्ला अधिकारी हुने र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानीरीक्षक(डीआइजी) हुने हुँदा मर्यादाक्रममा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)भन्दा तल रहेको हुँदा प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रहरी प्रमुखको बीचमा छलफल, बैठक नहुने भएकाले प्रहरी अतिरीक्त महानीरीक्षक(एआइजी) राख्दा सहज हुन्छ। ’ चौधरीले भने,‘सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४ ले २० करोडभन्दा बढी खरिद गर्दा वा एक करोडभन्दा बढीको खरिद गर्दा परामर्श सेवा लागत अनुमान विभागीय प्रमुखबाट गर्नुपर्ने उल्लेख गरिएको हुँदा प्रदेश प्रहरीलाई आवश्यक पर्ने लत्ता कपडा, हातहतियार, गोली गट्ठा खरिद गर्दा प्रहरी अतिरीक्त महानिरीक्षक दर्जा हुँदा सहज हून्छ भन्ने मेरो राय रहेको छ।’ हाल प्रहरी निरीक्षक दर्जाको सरुवाको प्रहरी प्रधान कार्यालयले गर्दै आएकोमा प्रदेश प्रहरी कार्यालयलाई प्रहरी निरीक्षकको सरुवाको अधिकार प्रत्यायोजन गर्ने विषय करेक्सन गर्नुपर्ने बताए। उनले भने, ‘हामी संघियतामा प्रवेश गरिसकेका छौं। यद्यपी यसमा हामीले पूर्ण कार्यान्वयन गर्न कोहि पनि तयार भइनराखेको अवस्था छ। संघियता कार्यान्वयन गर्न पनि यो कुरा सच्याउनुपर्छ।’

Like