अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भीम रावल र परराष्ट्रमन्त्रीबीच भनाभन
रासंसा/काठमाण्डौ, आषाढ ३,
मुलुकमा नेकपा (एमाले)का सांसद डा. भीम रावल र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भनाभन भएको छ । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा डा. रावल र मन्त्री खड्काबीच भनाभन भएकाे हाे । समितिमा डा. रावलले एसपीपी स्वीकार्य हुँदैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारसँग आग्रह गर्नुभयाे । उहाँले अमेरिकी दुतावासले नेपालले नचाहेमा एसपीपी सम्झौता नहुने भन्दै अमेरिकालाई सरकारले तत्काल पत्र लेख्नुपर्ने बताउनुभयाे । उहाँले कागजातको अध्ययन गरेर राष्ट्रिय हीत विपरीत काम गर्नेहरूलाई कानूनी कठघरामा उभ्याउन सक्नुपर्ने पनि बताउनुभयो । सांसद रावलले कोही नेपालीले पनि सैन्य सम्झौता गर्न नचाहेको स्मरण गराउँदै सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो । सांसद रावलले देशको परराष्ट्रमन्त्रीले देशव्यापी रूपमा भइरहेको बहसको विषयमा प्रवेश गर्नै नचाहनुले झन आशंक उत्पन्न गराएको बताउनुभयो । उहाँले नेपालको परराष्ट्रनीति, नेपालको स्वाधीनता स्वतन्त्रता सरकार, व्यक्ति, मन्त्री विशेषसँग मात्र सरोकारको विषय नभएको जिकिर गर्दै उहाँले बहसको पूर्ण जानकारी नहुन्जेल सहमतिमा जान नसक्ने बताउनुभयो ।
सांसद रावलले नेपाली सेनाले दिनैपिच्छे फरक कुरा गर्न नमिल्ने बताउनुभयो । उहाँले नेपाली सेना देशको सुरक्षाको अन्तिम र सुरक्षा संयन्त्र भएको उल्लेख गर्दै यस्ता समस्यामा पर्ने हो भने राष्ट्रिय सुरक्षाको आधार नै भताभुङ्ग हुने बताउनुभयो । अमेरिकाको राज्य साझेदारी कार्यक्रम अर्थात् स्टेट पार्टनरसिप प्रोग्रामका सम्बन्धमा देशमा भइरहेको व्यापक बहसलाई नै केन्द्र भागमा राखेर कुरा गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘परराष्ट्रमन्त्रीजीले नकोट्यायौँ भन्नुभयो, त्यो भन्न मिल्दैन, यत्रो बहसको विषयमा सम्पूर्ण तथ्यहरु नेपाली जनताले थाहा पाउनुपर्छ ।’ सांसद रावलले प्रतिनिधि सभामा परराष्ट्रमन्त्रीले भ्रमपूर्ण जवाफ दिएको दाबी गर्दै अमेरिकी उपविदेश सहायकमन्त्रीको भ्रमणको बेला तिब्बती शरणार्थी शिविरमा भेट गर्नुले परराष्ट्रनीतिको खिल्ली उडाएको बताउनुभयो ।
‘प्रतिनिधि सभामा परराष्ट्रमन्त्रीले भ्रमपूर्ण जवाफ दिनुभयो,’ उहाँले थप्नुभयो, ‘हुँदा–हुँदा उहाँले अमेरिकी उपविदेश सहायकमन्त्रीको भ्रमणको बेला तिब्बती शरणार्थी शिविरमा भेट गर्दै यो त नेपालको हीतमा छ भनेर बोल्नुभयो, देशको परराष्ट्रमन्त्रीले यस्तो बोल्ने हो भने यो देशको स्वतन्त्र परराष्ट्रनीतिको रक्षा हुनसक्छ ?’ सांसद रावलले यति भनेपछि परराष्ट्रमन्त्री डा. नारायण खड्का र सांसद रावलबीच भनाभनसमेत भएको थियो । सांसद रावलले सन् २०१९ मा इण्डोप्यासिफिक रिपोर्टमा नेपाल जोडिएको कुरा उल्लेख गरिएको भन्दै यसलाई ख्याल–ख्यालमा नकोट्याइरहन नसकिने बताउनुभयो । उहाँले सरकारले सम्झौता, सन्धी गर्ने र जोडिएको रिपोर्ट आउने कुरा खेलाँची नभएको स्पष्ट पार्नुभयो ।