एसपीपीमा सहभागी हुन पत्र लेख्दा मलाई जानकारी दिइएन : ओली
रासंसा/काठमाण्डौ, आषाढ ३,
मुलुकका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०१५ मा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि तत्कालीन प्रधानसेनापतिले पत्र लेख्दा आफूलाई जानकारी नै नगराएको दाबी गरेका छन् । स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले ६ असोज २०७२ (सन् २०१५) मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा एसपीपीमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको र १३ असोजमा सैनिक हेडक्वाटरमा पठाएको बताए । ‘हामी केही जानकारी दिइएन । २४ गते म संसदबाट निर्वाचित भए, २५ गते सपथ लिए । तर १० गते (कात्तिक)मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन् ।’ सुशील कोइरालाको पालमा भूकम्पसम्बन्धी विपद् व्यवस्थापनसम्बन्धी तालिमका लागि सुरु गरेको भए पनि आईपीएसमा राखेपछिसैन्य गठबन्धनमा सहभागी हुनसक्दैनौं भनेर आफूहरुले च्याप्टर क्लोज गरेको उनले बताए ।