नेपाल बैंकद्वारा मधेस प्रदेशको बजेट गोष्ठी सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २९,

मुलुकको सबैभन्दा जेठो बित्त्तीय संस्था नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बैंकको मधेस प्रदेश केन्द्रित बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यहि जेठ २४ गतेदेखि २६ गतेसम्म धनकुटाको भेडेटारमा गोष्ठी राखि बैंकको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तय गरेको हो । उक्त कार्यक्रममा नेपाल बैंक व्यवस्थापन, मधेश प्रदेश प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका शाखा प्रबन्धक र कर्मचारी संगठनका प्रतिनिधिहरू समेत गरि ४५ जनाको सहभागिता रहेको बैंकले जनाएको छ । प्रधान कार्यालय बजेट तथा योजना बिभाग र तालिम तथा विकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागि शाखा प्रबन्धकहरूलाई सफ्ट स्किल डेभलपमेन्ट सम्बन्धि तालिम समेत प्रदान गरिएको बैंकले जनाएको छ । बैंक व्यवस्थापनले शाखाहरूसँग अन्तक्रिया गरी शाखा प्रबन्धकहरूबाट प्राप्त सल्लाह एवं सुझावहरु समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढी हुने साथै आगामी आर्थिक बर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङ्गमा बढावा दिने लगायतका विषयहरुमा बृहत रुपमा छलफल गरी सो सम्बन्धमा आवश्यक कार्यक्रमहरु तय गर्न सहज हुने देखिएको बैंकले जनाएको छ । हाल नेपाल बैंकको २१७ शाखाहरु, १७९ एटिएम साथै ४९ वटा एक्सटेन्सन काउण्टरमार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको छ ।

Like