तारा एयरको विमान दुर्घटनाको २१ जनाको शव संकलन, १० को शव काठमाण्डौ ल्याइयो

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ १६,

मुलुकमा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये २१ जनाको शव संकलन भएको छ । एउटा शव भने फेला पार्न सकिएको छैन । संकलित १० जनाको शव काठमाडौं ल्याइएको छ । बाँकी शव ल्याएपछि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टमपछि परिवारजनलाई बुझाइने छ । नभेटिएको एउटा शव खोँचमा झरेको अनुमान गरिएको छ । भिरालो भएकाले उक्त शव डोरीको सहायतामा निकाल्ने प्रयास भइरहेको छ । सेनाको हेलिकोप्टरबाट कोवाङ क्षेत्रमा झारिएका शव मौसम प्रतिकूल भएका कारण एकमुष्ठ ल्याउन नसकिएको हो । खराब मौसमका कारण दुर्घटनास्थल पत्ता लगाउनै समय लागेको थियो । यार्सा टिप्न गएका स्थानीय वासिन्दाले सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा विमान फेला पारेका थिए । गाउँदेखि निकै माथिको चट्टानी पहाडमा विमान ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । आइतबार बिहान ९ः५५ मा पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको विमान दुर्घटना हुँदा विमानमा रहेका २२ जनाको ज्यान गएको थियो । सोमबार बिहान मात्रै उद्धार टोली दुर्घटनास्थल पुगेर शव संकलन गरेको हो ।

Like