फोक्सोको क्यान्सरका बिरामी बढ्दै
रासंसा/काठमाण्डौ, बैशाख ३१,
विश्वमा क्यान्सर रोगबाट मृत्यु हुनेमध्ये फोक्सोको क्यान्सरबाट मात्रै वर्षमा १ करोड ३८ लाख मानिसको मृत्यु हुने गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हुने क्यान्सरहरुमध्ये १८ प्रतिशतलाई फोक्सोको क्यान्सर भएको पाइएको छ । पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएका छन् । मुख्यतः फोक्सो, स्तन, पाठेघरको मुख, डिम्बासय, पाचन प्रणालीमा क्यान्सर बढी देखिन्छ । जसमध्ये सबैभन्दा बढी फोक्सो क्यान्सरका बिरामी रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । फोक्सोको क्यान्सरका बिरामी नेपालमा मात्रै नभएर विश्वमै बढिरहेको पाइएको छ । नेपालमा वर्षेनी ८ हजार नयाँ मानिसमा फोक्सोको क्यान्सर हुने गरेको छ । यस्तै, क्यान्सर लागेकामध्ये ९० प्रतिशतको रोग लागेकै वर्ष मृत्यु हुने गरेको छ । रोग विशेषज्ञ डा सन्ध्या चापागाईंका अनुसार रोगको निदान ढिला हुने गरेकाले मृत्युदर बढी भएको हो । फोक्सोको क्यान्सर समुदाय स्तरमा भयानक रोगको रुपमा देखिएको छ । धुम्रपान घटाउन सकिएमा यो रोग लाग्नेहरुको औसत दर कम गर्न सकिने चिकित्सकहरु बताउँछन् । यस्तै, लामो समयसम्म विकिरणको सम्पर्क तथा प्रदुषिण वातावरणमा बस्नेहरुलाई पनि यो रोग लाग्न सक्छ । नेपालमा ५० देखि ५५ वर्ष उमेर समूहकालाई बढी मात्रामा फोक्सोको क्यान्सर भएको पाइएको छ । तर, विश्वमा हेर्दा भने ६५ वर्ष हाराहारीमा रोग लागेको पाइन्छ । फोक्सोमा क्यान्सर हुनुको मुख्य कारण धुम्रपान भएको डा. चापागाईं बताउँछिन् । ८५ प्रतिशतदेखि ९० प्रतिशत फोक्सोको क्यान्सर धुम्रपानको कारणले भएको पाइन्छ । धुम्रपान नगर्नेलाई भन्दा धुम्रपान गर्नेलाई यो क्यान्सर हुने सम्भावना ३० प्रतिशतले बढी हुन्छ ।
रोगका लक्षण
–दुई हप्ता वा सोभन्दा बढी लगातार खोकी लाग्नु, –सास फेर्न गाह्रो हुनु, –खोक्दा खकारमा रगत आउनु, –घ्यार घ्यार हुनु, –छाती दुख्नु, –धोध्रे स्वर हुनु, –निल्न गाह्रो हुनु, –रोग पहिचान गर्न ढिला हुँदा वा रोग फैलिएको अवस्थामा हड्डी दुख्नु, –ज्वरो आउनु, –छातीको माथिल्लो भाग सुन्निनु, –आँखा तिरमिराउनु आदि, –फोक्सोमा पानी जम्नु
शरीर ससाना कोषिकाहरु मिलेर बनेको हुन्छ । ती कोषिकाहरु बन्ने काम र उमेर पुगेका कोषिकाहरु मरेर जाने क्रम शरीरमा सन्तुलित रुपले भैरहेको हुन्छ । जसले गर्दा कोषको विभाजन साइकलअनुसार भइरन्छ । कुनै तत्व वा कारणले सेल बन्ने र मरेर जाने प्रक्रियाको सन्तुलन विग्रिएर अनावश्यक वृद्धि हुन्छ, जसलाई क्यान्सर भनिन्छ । फोक्सोमा क्यान्सर सुरुवाती अवस्थामा पत्ता लागेमा मात्र अपरेशन गर्न सकिने रोग विशेषज्ञहरुको भनाइ छ । फोक्सोको क्यान्सरको उपचार केमोथेरापी तथा रेडियोथरापी विकिरण टार्गेटको संयुक्त प्रयोग गरेर गरिन्छ । त्यसैले उपचारका क्रममा बिरामीको शरीरमा रहेका क्यान्सर सेलहरुलाई मार्न तथा कम गरी रोगलाई निको पार्न र व्यक्तिको जीवनलाई लम्ब्याउनका लागि गरिन्छ । क्यान्सर हुन नदिन निम्न कुरामा ध्यान दिऔँ ।
–धुम्रपान त्याग गर्ने, धुम्रपानमा लाग्ने करमा बृद्धि गरेर, –सरकारले सार्वजनिक स्थानहरुमा धुम्रपानलाई रोक लगाएर, –हरेक वर्षमा एक पटक क्यान्सर रोग विशेषज्ञसँग स्वस्थ्य जाँच गरी आवश्यकता अनुसार अन्य जाँचहरू गराएर, –जनचेनतामुलक कार्यक्रम गरेर ।