ऋणले डोराएको अपराधको बाटो, बुटवलमा साढे ३ करोडको सुन चोरी

Share to:

रासंसा/रुपन्देही, बैशाख २८,

मुलुकमा दुई हप्ताअघि बुटवलस्थित गुल्मेली मजुवा सुनचाँदी पसलमा साढे ३ करोडको सुन चोरी भएको घटनाका आरोपीहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुख्य योजनाकार भारत लखनउका ३५ वर्षीय मोहद जिशान खान, २२ वर्षीय मोहम्मद सरिक र ३६ वर्षीय मोहसिन अब्दुल्ला खान छन्। यीनीहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। सुन चोरी गर्नेहरुले फिल्मी शैलीमा योजनावद्ध रुपमा सुन चोरी गरेका थिए। बुटवलमा रेकी गर्दा निर्माणधिन भवनमा रहेको सुन पसलमा यीनीहरुको आखाँ पर्यो। उक्त भवनमा एउटा पसल मात्र थियो। सुन पसलमा सुन चोरी गर्ने योजना अनुसार सुन पसल छेउको सटर कपडा पसल चलाउनका लागि भाडामा लिए। मासिक ३० हजार भाडा तिर्ने गरी चार वर्षका लागि तीन लाख ६० हजार रुपैयाँ अग्रिम भुक्तानी दिएर घरधनीलाई विश्वासमा लिए। एकै पटक रकम भुक्तानी गर्दा छिमेकको सुन पसलधनी पनि विश्वासमा देखिए। चैत ७ गते देखि आफूहरु बुटवल कायरा होटलमा बस्न थाले। सटर भाडामा लिएर प्रयोग गर्नुका साथै भारतसमेत आउजाउ गरे। मोहद जिशान र मोहम्मद सरिक लिफ्ट जडान/मर्मत गर्ने मिस्त्री हुन्। यी दुई मित्र हुन्। सोही सहरका मोहसिन अब्दुल्ला खान पानी सप्लार्यसको काम गर्छन। यी तीनै जना व्यापारमा घाटा लाग्नुका साथै ऋणसमेत थपियो। केही समय अघि यी तीनै जनाको भारतमा एकआपसमा मित्रता गाँसियो। ऋण थपिएकोले सबैको आर्थिक अवस्था डग्मगायो। तीनै जनाले चोरी गरेर आर्थिक अवस्था मजबुत बनाउने सोच बनाए। विभिन्न ठाउँमा चोरी गरेको प्रहरीको आशंका छ। सोही क्रममा यीनीहरु नेपालमा पनि ठूलो चोरी गर्ने योजना अनुसार भारतबाट काठमाण्डौं पुगे। काठमाण्डौंको न्यूरोडलगायत क्षेत्रबाट चोरी गरेर उम्किन गाह्रो हुने देखेपछि बुटवल झरे। ‘निर्वाचन माहोलको मौका छोपेर सुन चोरीको योजना अनुसार उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन ३ करोड ५० लाख बराबरको सुन चोरी गरे’ इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले भने, ‘बजार पनि बन्द भएको दिन र सबै प्रहरी निर्वाचनमा व्यस्त भएको बेला यता यीनीहरुले राति घटना घटाए।’ सुन पसलसँगै टाँसिएको सटर भाडामा लिएकोले यीनीहरुले चोरीको योजना अनुसार ग्याँस सिलिण्डर, ग्याँस कटरलगायतका साम्रगी पहिल्यै ल्याएर कोठामा राखेका थिए। चैत १३ गते राति करिब २ बजे सुन पसलको सेफ (तिजोरी) रहेको सटरको ताल्चा फोडे र ग्याँस कटर भित्र छिराएर सटर बन्द गरे। भित्र गएर सेफलाई ग्याँस कटरले काटे। सेफ र पसलमा रहेको सुन तथा नगद रुपैयाँ चोरी गरेर निस्किए। चोरीको घटनाबारे रातभर कसैलाई जानकारी भएन। ‘घटनाबारे जानकारी आएलगत्तै हामीले डिएसपी नवरत्न पौडेलको नेतृत्वमा ६ जनाको टोली गठन गरेर अनुसन्धानतर्फ लाग्यौँ’ एसपी रेग्मीले भने, ‘अन्ततः १४ दिनमा सुन चोरी गरेका तीन जना व्यक्तिहरुलाई पक्राउ गर्न सफल भयौँ।’ चोरी गरेर बास बसेको होटल गई बिहानको समयमा होटलको कोठा चेक आउट गरि फरार भए। बिहान पसलधनी पसल खोलेपछि मात्र सुन चोरी भएको घटना थाहा भयो। सुन चोरी गरेर उनीहरु फरार भएपनि उनीहरुको हुलिया सिसिटिभी फुटेजमा कैद हुन पुग्यो। उनले थपे–‘चोरी भएको पुरै सुन बरामद भएको छैन तर व्यक्ति पक्राउ परिसकेकोले पीडितले सुन वा क्षतिपूर्ती पाउने गरी आफ्नो काम गर्छौँ।’ ‘सिसिटीभी फुटेजमा कैद भएको हुलिया अनुसन्धानका लागि हाम्रो पहिलो ‘क्लु’ बन्न पुग्यो’ रुपन्देहीका डिएसपी एवं प्रवक्ता नवरत्न पौडेलले भने, ‘त्यहीबाट अनुसन्धान गर्दै जादाँ तीनै जनालाई पक्राउ गर्यौँ।’ प्रहरीले उनीहरु सवार युपी ३२ एल डब्लु ३१५१ नम्बरको कार, एउटा ३१ ग्राम ५० मिलिग्राम, एक थान बीस ग्राम, एउटा २९ ग्राम १६० मिलिग्राम, दुई थान १०/१० ग्राम गरी कुल एक सय ग्राम ६६ मिलिग्राम सुनको सिक्का बरामद गरेको छ। यस्तै, ३ थान मोबाइल, ६ हजार भारतीय रुपैयाँ, आधार कार्ड र एटीएम कार्ड पनि उनीहरुको साथबाट बरामद गरिएको डिएसपी पौडेलले बताए।
तीनै जनालाई बैशाख २६ गते साँझ लुम्बिनी सांस्कृतिक नगरपालिका–४, महुवारीस्थित खुनगाई–कालीदह सडकखण्डमा सवारी चेकजाँचका क्रममा पक्राउ गरिएको उनको भनाई छ।

Like