मकवानपुर गोल्डकप जेठ १२ देखि हुने
रासंसा/मकवानपुर, बैशाख १३,
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता जेठ १२ बाट हुने भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघको मंगलबार बसेको बैठकले जेठ १२ गतेबाट मकवानपुर गोल्डकप फुटबलको आयोजना गर्ने निर्णय गरेको हो । ‘यस बर्षको मकवानपुर गोल्डकपको लागि हामीलाई सबै पालिकाले बजेट छुट्याएका छन् । स्थानीय तहको चुनावपछि गोल्डकप गर्ने तयारी थालेका छौं’, जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामाले भने, ‘निर्णय गरेर आवश्यक तयारी सुरु गरिसकेका छौं ।’ फुटबल संघको आयोजनामा हुँदै आएको मकवानपुर जिल्ला लिग र गोल्डकपको मिति तोकेर पनि तयारी नपुगेको भन्दै सारिएको थियो । गोल्डकपको लागि मकवानपुरका १० वटै स्थानीय तहले बजेट विनियोजन गर्दै आएको छ । प्रतियोगितामा ए डिभिजन क्लबसहित आयोजक टिमको समेत सहभागिता हुनेछ । यस वर्षको मकवानपुर गोल्डकपको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।