‘चिम्पान्जीको घर’ सदर चिडियाखानामा बनाइयो

Share to:

रासंसा/ललितपुर, बैशाख ९,

मुलुकमा सदर चिडियाखानामा रहेका एकजोडी चिम्पान्जीका लागि सुविधा सम्पन्न ‘चिम्पान्जीको घर’ बनाइएको छ। चिडियाखानामा रहेका एक जोडी चिम्पान्जीका बच्चा २०७४ साल असोज ३१ गते अवैध रुपमा नेपाल ल्याइएको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी) ले उद्धार गरी चिडियाखानामा ल्याइएको जनाइएको छ। चिडियाखाना आइपुग्दा चिम्पान्जीको भाले बच्चा अन्दाजी ३ महिनाको र तौल ३.५ केजी रहेको तथा पोथी बच्चा अन्दाजी ६ महिनाको र तौल ४ केजी रहेकोमा हाल भालेको तौल २१ केजी र पोथीको तौल २४ केजी रहेको छ। चिम्पान्जीलाई मौसम अनुसारको फलफूल, सागसब्जी, दूध, पाउरोटी, मह खुवाउने गरिएको छ। शुक्रबार सदर चिडियाखानाको परिसरमा नवनिर्मित ‘चिम्पान्जीको घर’ वन तथा वातावरण मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य पेमनारायण कंडेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। उक्त घर चिम्पान्जीका लागि सुविधा सम्पन्न रहेको तथा चिडियाखाना आउने दर्शकहरुका लागि पनि सजिलै अवलोकन गर्न सकिने गरी निर्माण गरिएको सदर चिडियाखानाले बताएको छ। १२० रोपनी क्षेत्रफलमा फैलिएको सदर चिडियाखानामा हाल ११३ प्रजातिका विभिन्न वन्यजन्तुहरु प्रदर्शनीमा रहेका छन्। सदर चिडियाखानाले वार्षिक रुपमा औसत ३०० वन्यजन्तुको उद्धार गर्दै आएको बताइएको छ। चिम्पान्जीको जोडीलाई प्रभुशम्शेर जबरा तथा राजी राणा ट्रष्टकी राजी राणाले वार्षिक दश लाख रुपैयाँ उपलब्ध गराएर अभिभावकत्व लिको जानकारी दिइएको छ। चिडियाखानाले वन्यजन्तु अभिभावकत्व अभियान सुरु गरेको र यस अभियान अन्र्तगत चिडियाखानाका वन्यजन्तुहरुको आवश्यक आहारा, स्याहार, स्वास्थ्योपचार खर्च लगायतका सम्पूर्ण अभिभावकत्व जो कोहीले लिन सक्ने सदर चिडियाखानाले स्पष्ट पारेको छ।

Like