वरीयता जोगाइ राख्न प्रिन्सलाई चुनौती
रासंसा/काठमाण्डौ, बैशाख ३,
बुवाले खेलेको देखेर सानैदेखि उनी पनि ब्याडमिन्टन खेल्न थाले । विद्यालय स्तरदेखि नै ब्याडमिन्टनमा उनको लगाव बढ्यो । यसले उनलाई अहिले विश्वकै नम्बर एक खेलाडी बनायो । उनी अर्थात् प्रिन्स दाहाल अहिले विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्ष स्थानमा छन् । नेपाली ब्याडमिन्टन खेलाडीले पाएको यो उपलब्धि इतिहासकै गौरव गर्न लायक क्षण हो । शीर्ष वरीयतामा पुग्दासम्म प्रिन्सको मिहिनेत त छ नै, साथै पारिवारिक वातावरण पनि ब्याडमिन्टनमय छ । प्रिन्स भन्छन्, ‘मैले विद्यालयमा फुटबल पनि खेले । तर बुवाले धेरै ब्याडमिन्टन खेल्ने भएर मलाई पनि त्यसैमा रुचि भयो । बुवासँगै पछि लागेर खेल्न जान्थे । बुवाले खेल्न छाडी सक्नु भयो । अहिले मैले उहाँको सपना साकार पारेको जस्तो महसुस हुन्छ ।’ प्रिन्सका बुवा नारायण दाहाल दार्चुलामा हुने जिल्लास्तरीयदेखि धेरै प्रतियोगितामा सहभागिता जनाए । केहीमा सफलता मिल्यो, केहीमा मिलेन । तर नारायणको खेलले उनका छोरा प्रिन्सलाई ब्याडमिन्टनमा चुम्बकझैँ तान्यो । विश्व वरीयताको जुनियरतर्फको शीर्ष स्थानमा रहेका उनलाई अहिलेको सबैभन्दा ठूलो चुनौती आफ्नो वरीयता टिकाइ राख्नु हो । विश्व ब्याडमिन्टन फेडरेशनको नयाँ वरीयता पनि सार्वजनिक हुने समय भएको छ । त्यसअघि प्रिन्सले अहिले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् ।