कुटपिटसम्बन्धी कसुर अन्तर्गत सजाय, ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा छुरा प्रहारबाट घाइते भएका युवकको मृत्यु, रिहा भएलगत्तै अभियुक्त विदेशमा
रासंसा/धनुषा, बैशाख १,
मुलुकमा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ५ स्थित बहुअर्वा गाउँका सरोजकुमार मण्डलमाथि ७ महिना अघि छुरा प्रहार भएको थियो । उपचारकै क्रममा उनको सोमबार निधन भएको छ । तर, उनलाई छुरा प्रहार गर्ने व्यक्तिलाई भने अदालतले उपचार खर्च व्यहोर्ने गरी यस अघि नै रिहा गरिसकेकाले पीडित परिवारले न्यायको अनुभूति गर्न पाएका छैनन् । मेलामा सोही गाउँका अमितकुमार मण्डल, मनिषकुमार मण्डल, राजीवकुमार मण्डलबिच आपसी विवाद भएको थियो । मनिष र राजीवले अमितको टाउकोमा हतियार प्रहार गरेपछि बचाउका लागि बजरंग राउत र सरोजकुमार मण्डल त्यहाँ पुगेको प्रत्यक्षदर्शीको भनाइ छ । सोही क्रममा बजरंग र सरोजमाथि समेत आक्रमण भयो । घरेलु हतियारसहितको समूहले बजरंगको तिघ्रामा र सरोजको पेटमा छुरा प्रहार गरेको बताइएको छ । गत भदौ २६ गते राति गणेश पूजाको क्रममा सरोजकुमारमाथि स्थानीय एक समूहले छुरा प्रहार गरेको थियो । बहुअर्वा गाउँमा गणेश पूजाको अवसरमा आयोजित मेला हेर्न पुगेका सरोजकुमार मण्डल उक्त मेलमा दुई पक्षबीच भएको विवाद मिलाउने क्रममा आक्रमणमा परेको परिवारजनको भनाइ छ । सो घटनापछि धनौजी गाउँपालिका वडा नम्बर ५ स्थित बहुर्अवा निवासी रामआशिष मण्डलका १८ वर्षीय छोरा मनिषकुमार मण्डल र वडा नम्बर ४ निवासी विमल मण्डलका २३ वर्षीय छोरा राजीवकुमार मण्डलमाथि ‘ज्यान मार्ने उद्योग’ मुद्दा धनुषा जिल्ला अदालतमा दर्ता भयो । घाइते सरोजको अवस्था गम्भीर रहेका कारण उपचारका लागि काठमाडौं पठाइएको थियो । सोही बेलादेखि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उनको उपचार भइरहेको थियो । गत पुस १९ गते जिल्ला अदालत धनुषाका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले गरेको फैसलामा प्रतिवादी राजीवकुमार मण्डलले गम्भीर घाइते सरोज मण्डलको उपचार खर्चबापत ४ लाख ९२ हजार २५९ रुपैयाँ, घाइते अनिल मण्डललाई ६९ हजार ३ सय र बजरंग प्रसाद राउतलाई ३ हजार १३० रुपैयाँको बिल भरपाई अनुसार उपचार खर्च उपलब्ध गराउने उल्लेख छ । जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले हत्या अभियोग (ज्यान मार्ने उद्योग) मुद्दालाई सामान्य कुटपिटमा परिणत गर्दै प्रतिवादीलाई सहज हुने गरी फैसला गरिदिएको पीडित परिवारको आरोप छ ।