चिकित्सक मृत फेला पर्दा अनुसन्धानका लागि ८ जना नियन्त्रणमा
रासंसा/मोरङ, चैत्र १९,
मुलुकमा नोबेल शिक्षण अस्पतालका एक चिकित्सक शनिबार बिहान मृत अवस्थामा भेटिएका छन्। सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थित खुरहुरिया घर भई विराटनगर महानगरपालिका–४ मा डेरी गरी बस्दै आएका २७ वर्षीय डाक्टर विजय यादव मृत फेला परेका हुन्। उनी डेरा गरी बसेको घरको कम्पाउण्डको मुख्य गेटभित्र मृत भेटिएका मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। प्रेम बस्नेतको घरको दोस्रो तलमा कोठा भाडामा लिएर बस्दै आएका थिए। शव भेटिएको स्थानदेखि करिब २ सय मिटर पश्चिममा रहेको नहर, अस्पतालको गेटलगायतका स्थानमा रगत देखिएको छ। रगत देखिएको ठाउँमा औषधि पसल २४ सै घण्टा खुला रहने र भीडभाड हुने स्थान हो। मृतक यादवको शव गेटभित्र पूर्वतर्फ टाउको, घोप्टी परेको र एउटा खुट्टामा जुत्ता छ भने अर्को खाली खुट्टै रहेको अवस्थामा भेटिएको हो। उनको हातको कुहिना र मुखबाट अलि अलि रगत बगेको छ। मृतक यादवको शव नजिक महिलाको जुत्ता र एउटा लाइटर फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार मात्रै मोरङको कटहरी गाउँपालिका–३ मा अस्पतालले गरेको स्वास्थ्य शिविरमा सकेर साँझ ५ बजेतिर फर्केर डेरा गएका डाक्टर शनिबार बिहान मृत अवस्था फेला परेको खबर सुन्दा छक्क परेँ,’ प्रबन्धक दाहालले भने। नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार ४ वर्षदेखि यादव हाडजोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसरका रूपमा काम गर्दै आएका थिए। एमबिबिएस अध्ययन पूरा गरेका यादव ४ वर्षदेखि विराटनगर–४ स्थित एक घरमा डेरा लिएर अस्पतालमा काम गर्दै आएका थिए। ‘राम्रा, अनुभवी र दक्ष चिकित्सक गुमाउनु पर्यो,’ प्रवन्धक दाहालले भने, ‘डाक्टर यादवको मृत्युको खबरले हामी पनि आश्चर्यमा परिरहेका छौँ। प्रहरीले राम्रोसँग घटनाको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याइ दियोस्।’ शुक्रबार राति यादवसहित ३ जना साथी विराटनगरको एयरपोर्ट रोडमा रहेको एक होटलमा ११ बजेसम्म मदिरा खाएर बसेका थिए। त्यसपछि तीन जना एउटै स्कुटरमा चढेर गएको देखिएको छ। ती मध्ये एक जना इम्प्लान्ट सामग्री (हाड जोर्नीमा लगाउने स्टीलका रडहरु) सप्लाइ गर्ने र अर्का साथी सिए हुन्। उनीहरुले यादवलाई डेरा नजिक करिब ५० मिटर दक्षिणमा छाडेको बताइएको छ। एक जनाले भने, ‘होटलमा हामी तीन जनाको उहाँले भिडियो खिच्नु भएको थियो। त्यही भिडियो माग्नका लागि राति १२ बजेतिर फोन गर्दा उठेन।’ यादवसँगै होटलमा रहेका २ जनालाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रवक्ता श्रेष्ठका अनुसार चिकित्सक मृत फेला परेको जानकारी आउनसाथ अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको हो। संघीय प्रहरी इकाई कार्यालय धरानबाट ल्याएको तालिकम प्राप्त कुकरबाट समेत घटनाको अनुसन्धान भएको र शवको पोस्टमार्टम विराटनगरस्थित कोसी अस्पतालमा भएको छ। ‘घटनाको अनुसन्धान विभिन्न कोणबाट थालेका छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘मृत्युको कारण अहिले भन्न नसकिने र पोस्टमार्टमलगायत अन्य अनुसन्धानबाट खुलेपछि वास्तविकता पत्ता लाग्ने छ।’ प्रहरी स्रोतका अनुसार घटनाको अनुसन्धानका लागि थप ६ जनालाई नियन्त्रणमा लिइएको छ। मृतकका आफन्तले यादवको नियोजित रुपमा हत्या गरिएको हुँदा प्रहरीले निष्पक्ष ढंगले घटनाको छानबिन गर्नुपर्ने माग गरेका छन्। यादवका मामा उपेन्द्र यादवले नियोजित ढंगले हत्या गरी डेरा अगाडि ल्याएर भान्जालाई फालेको हुनुपर्छ। ‘घटना यहाँ नभई अन्यत्र भएको हुँदा यस घटनालाई सुक्ष्म तरिकाले अनुसन्धान गरी सत्य कुरा बाहिर ल्याएर दोषीलाई कडा कारबाही हुनुपर्छ,’ मामा उपेन्द्रले भने। मृतक यादवको घर सप्तरी भए पनि उनी सानैदेखि मोरङको टंकिसिनवारीको यादव टोलमा रहेको मामा शम्भुप्रसाद यादवको घरमा बसेर पढेका थिए। बुवा यदुनन्दन, आमा चन्द्रकलाको एक छोरा र एक छोरी थिए। मृतक यादवले बंगलादेशबाट एमबिबिएस सकेर नोबेल अस्पतालमा काम गर्दै थिए भने बहिनी विनिता दिल्लीमा नर्सिङ विषयमा अध्ययनरत छिन्। स्थानीयका अनुसार मृतक यादवको डेरादेखि करिब १ सय उत्तर पूर्वमा राति रहेको होटल ग्रिन ल्याण एण्ड सेकुवा घर नजिकै राति साढे ११ बजेतिर ७/८ जनाको समूहबीच झगडा भएको थियो। सेकुवा घरसँगै टाँसिएको अर्को घरमा नोबेलमै अध्ययन गर्ने विद्यार्थीहरु बस्छन्। विद्यार्थी बस्ने घर अगाडि नै शुक्रबार राति साढे ११ बजेतिर झगडा हुन थालेपछि प्रहरी आएको थियो। प्रहरी आएपछि उनीहरु भागेका थिए।