सीमा नाकामा उच्च निगरानी सशस्त्र प्रहरी

Share to:

रासंसा/पर्सा, चैत्र १२,

आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्वर गणका गणपति कमल तिमिल्सिनाले बताए। उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताए। सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ। ‘मातहतका सबै युनिटलाई आवश्यकताअनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ’ गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले भने, ‘सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रुपमा सदुपयोग गरी सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ।’ सशस्त्र प्रहरी बलको टोलीले विनाभन्सार नेपाल भित्र्याइएको १७ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न मालसामानसहित एउटा ट्रकलाई नियन्त्रण लिएको छ। वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना७ख ३४१० नं को ट्रक र उक्त ट्रकमा लोड भएका प्लास्टिकको झोला, कपडा, भुजा, मेसिनरी र किरानालगायत सामान सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको सशस्त्र प्रहरी बल १३ नं गण पर्साले जनाएको छ। सो गणअन्तर्गत जिल्लामा पाँच सुरक्षा बेस क्याम्प, १७ सीमा सुरक्षा पोष्ट (बिओपी) र तीनवटा सीमा निगरानी पोष्ट (एफओवी) रहेका छन्। सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा हातहतियार ओसारपोसार नियन्त्रण गर्ने मुख्य योजना रहेको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलको भनाइ छ।

Like