संसद बैठक दिउँसो १ बजे एमसिसीमाथि छलफल हुने
रासंसा/काठमाण्डौ, फाल्गुन १२,
मुलुकमा प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ। बैठकको सम्भावित कार्यसूचीको अर्को बुँदामा कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्याधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्नुहुने कार्यक्रम राखिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक राखिएकाे छ। आजको संसद बैठकमा अनिवार्य उपस्थित हुन नेपाली कांग्रेसले बुधबार आफ्ना सबै सांसदहरूलाई निर्देशन दिइसकेको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ। एमसिसीका बारेमा साझा धारणा बनाउन सत्ता साझेदार दलहरुबीच प्रयास भइरहेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसिसी पास गर्ने रणनीतिमा भए पनि सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले भने अहिलेसम्म एमसीसीको विपक्षमा रहेको जनाएका छन्। सरकारले यही फागुन ८ गते आइतबार एमसिसी सदनमा टेबल गरेपछि आजको बैठकमा यस विषयमा सामान्य छलफल हुनेछ। अघिल्लो बैठकमा अर्थमन्त्री शर्माले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि उनले अनुपस्थित भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेका हुन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने औपचारिकरुपमै सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ भने अर्को सत्ता साझेदार अर्को दल जनता समाजवादी पार्टीले भोलि बस्ने कार्याकारिणी समितिको बैठकले एमसिसीबारे औपचारिक धारणा राख्ने भएको छ। यस्तै सत्ता घटक एकीकृत समाजवादी पार्टीले पनि एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।