कांग्रेसले बोलायो संसदीय दलको बैठक, प्रधानन्याधीशविरुद्ध महाभियोग प्रकरण अब के निर्णय गर्लान त ?
रासंसा/काठमाण्डौ, फाल्गुन २,
मुलुकमा नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बोलाएको छ। बिहान ९ बजे संघीय संसद भवनको ल्होत्से हलमा बैठक बोलाएको कांग्रेसले जनाएको छ। नेकपा एमालेको संसदीय दलको बैठक भने आज जारी रहेको छ। एमालेले प्रधानन्यायाधीश राणासहित परमादेश दिने पाँचै जना न्यायाधीशविरुद्ध महाभियोग लगाउनुपर्ने बताउँदै आएको छ। यसअघि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत कानुन व्यवसायीलाई प्रधानन्यायाधीशलाई मात्रै नभई पाँचै जना न्यायाधीश हटाउनुपर्ने अभिव्यक्ति दिएका थिए। एमाले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलामा संलग्न अन्य चार न्यायाधीशलाई पनि महाभियोग लगाउन कदम चाल्न सक्ने देखिएको छ। जसमा न्यायाधीशहरू दीपककुमार कार्की (कायममुकायम प्रधानन्यायाधीश), मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडा छन्। सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएपछि गठबन्धन साझेदार दल कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। बैठकमा संसद्को गतिरोध अन्त्य, प्रधानन्याधीशविरुद्ध महाभियोग प्रकरण, एमसीसीलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। यस्तै बैठकले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव ल्याएर सभामुख हटाउन कदम चाल्न सक्ने पनि बताइएको छ। पार्टीले कारबाही गरेका १४ सांसदलाई नहटाएको भन्दै एमालेले सभामुखप्रति असन्तुष्टि जनाउँदै आएको छ।