कोरोनाको कहरमा ‘रेड जोन’मा १३ जिल्ला
रासंसा/काठमाण्डौ, माघ ५,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २३ हजार ४०९ जनाको स्वाब परीक्षण गर्दा ११ हजार ३५२ जनामा कोरोना देखिएको छ। त्यस्तै ६१३ जना निको भएका छन्। कोभिड-१९ को संक्रमण बढ्न थालेसँगै उच्च जोखिम भएका जिल्लाको संख्या पनि बढेर १३ पुगेको छ। नयाँ थपिएका संक्रमितभन्दा निको हुनेको संख्या कम रहेको छ। जसले गर्दा सक्रिय संक्रमितको संख्या बढेर ४७ हजार ९२९ पुगेको छ। मन्त्रालयका अनुसार प्रदेश १ का मोरङ, सुनसरी र झापा, बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र काभ्रे उच्च जोखिममा रहेका छन्। त्यस्तै, गण्डकीको कास्की, लुम्बिनीका बाँके र रुपन्देही तथा सुदूरपश्चिमको कैलाली उच्च जोखिममा छन्। योसँगै ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या पनि बढेको छ। स्वास्थ्य मन्त्रालयले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लालाई उच्च जोखिमको जिल्लामा राखेको छ। आज काठमाडौंमा सबैभन्दा बढी ४ हजार ६६६ जनामा कोरोना देखिएको छ। त्यस्तै, ललितपुरमा १ हजार ९९, भक्तपुरमा ५७८, मकवानपुरमा २६४, चितवनमा २०२ र काभ्रेमा १९२ जनामा कोरोना देखिएको छ। यसैगरी, २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या पनि पाँच पुगेको छ। मधेश प्रदेशका धनुषा र पर्सा, गण्डकीको नवलपरासी (पूर्व), लुम्बिनीको दाङ र सुदूरपश्चिमको कञ्चनपुर संक्रमणको जोखिम बढ्दै गएका जिल्लामा छन्। कोरोना संक्रमण बढ्दै गएपछि सरकारले परीक्षण शुल्क घटाएको छ। कोरोना लक्ष्यण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर परीक्षण गर्न सरकारले आग्रह गरेको छ। यसैगरी, मोरङमा १७५, सुनसरीमा २३५, कास्कीमा ३५५, दाङमा १०८, रुपन्देहीमा २२७ र कैलालीमा १३५ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।