वित्तीय संस्था ग्लोबल आईएमई भर्सेस् नबिल : को भन्दा को कम
रासंसा/काठमाण्डौ, माघ ४,
दुई ठूला वाणिज्य बैंक एकआपसमा मर्जर हुँदै गर्दा यसले फेरि नेपाली वित्तीय क्षेत्रमा कस्तो खालको परिवर्तन ल्याउने हो निकै चासोका साथ हेरिएको छ । त्यसो त यसअघि पनि केही ठूला वाणिज्य बैंकबीच ‘बीग मर्जर’ वा गाभ्ने/गाभिने क्रिया नभएका होइनन् । आर्थिक वर्ष २०७६/७७ मा दुई ठूला वाणिज्य बैंक ग्लोबल आईएमई बैंक र तत्कालीन जनता बैंक मर्जर भएर एउटै ‘ग्लोबल आईएमई बैंक’ बनेको थियो । जुन बैंक अहिले २१ अर्ब माथिको चुक्ता पुँजीसहित वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा ठूलो बैंकको रूपमा स्थापित छ । पछिल्लो पटक नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको एक्युजिसन (समाहित र प्राप्त) को सम्झौताले नेपाली बैंकिङ जगतमा फेरि एक पटक मर्जरको चर्चा चुलिएको छ । ५०/५० को साझेदारीमा समान हैसियतमा यी दुई वाणिज्य बैंक मर्जरमा जाने सम्झौता नभएपनि एकीकृत कारोबार गर्ने सम्झौताले भने नेपाली बैंकिङ क्षेत्रमा तरंग नै ल्याएको हो । यद्यपि, ठूलो पुँजीका साथ अग्रस्थानमा रहेको सोही ग्लोबल आईएमई बैंकलाई अहिले मर्जरमा जान लागेका वाणिज्य बैंकहरुले चुनौती दिइरहेका छन् । भलै, भर्खरै मात्र दुई ठूला वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडिएसँगै यो संभावना क्षीण भएको छ । अब प्रश्न आउँछ, नबिल र बंगलादेश बैंकमा । यी दुई ठूला वाणिज्य बैंकहरू मर्जर हुँदै गर्दा अब नबिल बैंक कत्रो बनेर उदाउँछ त ? के अहिले ठूलो पुँजीका साथ पहिलो स्थानमा रहन सफल ग्लोबल आईएमई बैंकको स्थान नबिलले कब्जा गर्न सक्ला ? वा मर्जर पछिको नबिल बैंकको पोजिसन के हुन्छ ?