अब नेपालमा पनि १५ महिनापछि जनकपुरधाममा रेल गुड्यो

Share to:

रासंसा/धनुषा, पौष २४,

लामो समय पालभित्र छोपेर राखिएको नेपाली रेलको शनिबार पुनः परीक्षण गरिएको छ । परीक्षणकै लागि धनुषाको इनर्वामा गत १५ महिनादेखि रेललाई पालबाहिर ल्याइएको हो । रेल्वे ट्रयाक, इन्जिनको अवस्था बुझ्न इनर्वाबाट जनकपुरधामको कुर्थासम्म नेपाली रेल परीक्षणका लागि गुडाइएको रेल्वेका अधिकारीहरुले जानकारी दिएका छन् । नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले नेपाली भूमिमा रेल गुडाउने सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । ‘फेब्रअरी १० भित्रै रेल गुडाउने हाम्रो तयारी छ’, महाप्रबन्धक झाले भने, ‘रेलको इन्जिन र ट्रयाकको अवस्था परीक्षणका लागि आज रेल गुडाइएको हो।’ यद्यपि रेल गुडाउने मिति सम्बन्धमा राजनीतिक स्तरबाटै निर्क्योल हुने उनको भनाइ थियो । यसअघि भारती रेल्वे कम्पनी कर्पोरेसन कोंकणबाट नेपाल सरकारले खरिद गरेको रेल नेपाली भूमिमा ल्याएको दिन परीक्षण गरिएको थियो । २०७७ असोज ३ गते नेपाली रेल नेपाली भूमिमा ल्याइएको थियो । कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए । त्यति बेला रेलको परीक्षण गरेर धनुषाको इनर्वामा पालभित्र राखेर थन्काइएको थियो । उनले दुई देशबीच सहमतिपछि रेल गुडाउने मिति तोकिने बताए । उनले भने, ‘दुई देशका प्रधानमन्त्रीले नै रेलको उदघाटन गर्ने भएकाले केही समय लाग्नेछ ।’ नेपालले खरिद गरेको आधुनिक रेल गुडाउन रेल्वे कम्पनी लिमिटेडले ६० जना जनशक्ति खटाएको छ । ‘यसअघि कम्पनीसँग १ सय ५१ जना जनशक्ति थिए’, महाप्रबन्धक झाले भने, ‘हामीले न्यूनतम आवश्यक जनशक्ति परिचालन गरेर रेल संचालन गर्ने तयारीमा लागेका छौं । कम्पनीले आर्थिक भारत कम गर्न कर्मचारी संख्या घटाएको हो । उनले नेपाली रेल गुडाउन तत्कालका लागि २६ जना भारतीय जनशक्ति परिचालन हुने जानकारी दिए । परीक्षणका लागि १४ जना शनिबार नेपाल आइपुगेका हुन् । भारतीय कर्मचारीहरुले नै नेपाली रेलको अवस्था जाँच गरेर इनर्वाबाट कुर्थासम्म गुडाएर ल्याएका हुन्। पाल भित्र थन्काएर राखिएको नेपाली रेलको वृतचित्र बनाउने उद्देश्यले गुडाइएको समेत हल्ला चलेको छ । भारतको उत्तरप्रदेशमा विधानसभा निर्वाचन हुन लागेको छ । अयोध्या र जनकपुरधामबीच सांस्कृतिक सम्बन्ध रहँदै आएको छ । उत्तर प्रदेशका मतदातालाई प्रभावित पार्नका लागि भारतीय सत्ताधारी दल भारतीय जनता पार्टीले आफ्नो उपलब्धि जनाउने उद्देश्यले वृतचित्र बनाउन लागिएको स्रोतले जनाएको छ । सोही वृतचित्र निर्माणकै लागि डेढ वर्षदेखि पालभित्र छोपेर राखिएको नेपाली रेलको घुम्टो उघारिएको हल्ला चलेको छ । महाप्रबन्धक झाले भने हल्ला निराधार रहेको दाबी गरे । ‘यो नेपाली रेल हो’, महाप्रबन्धक झाले भने, ‘हामीले रेल सञ्चालनको अन्तिम तयारीको उद्देश्यले मात्रै नेपाली रेल अवस्था बुझ्न परीक्षणका लागि गुडाएका हौ ।’ इनर्वाबाटै एक वृतचित्र निर्माण कम्पनीको क्यामराम्यान नेपाली तथा भारतीय अधिकारीहरुको साथमा जनकपुरधाम रेलमा आइपुगेका थिए । जयनगर–जनकपुर–कुर्था (३५ किमि) को रेल सेवा सञ्चालन गर्ने तयारी दुवै देशका प्राविधिकले गरेका छन । दोस्रो चरणमा कुर्था–भंगहा (१७ किमि) तथा तेस्रो चरणमा भंगहा–बर्दिबास (१७ किमि) गरी कुल ६९ किलोमिटर लामो रेल विस्तार आगामी ३ वर्षभित्र पूरा हुने नेपाल रेल्वे कम्पनीका इन्जिनियर विनोद ओझाले बताए । भारत सरकारको रु १० अर्ब सहयोगमा उक्त रेलमार्ग निर्माण भएको हो । निर्माण भएको रेलमार्ग ब्रोडगेज हो । बि. स. १९८४ मा स्थापना भएको नेपालको एकमात्र रेलको आर्थिक अवस्था निकै जर्जर भएपछि भारत सरकारले सहयोगमा कार्य अगाडि वढाएको छ । नेपालको रेल धनुषाको इनर्वाबाट भारतीय कर्मचारी बीएन राय र पिटर साहबले गुडाएर जनकपुरधामको कुर्थासम्म ल्याएका थिए । राय चालक हुन् भने पिटर लोको इन्सपेक्टर । रेलको अवस्था राम्रै रहेको र ६ ट्रयाक पनि कन्डिसनमै रहेको चालक रायले बताए । उनले भने, ‘यो अत्याधुनिक रेल हो, यसमा समस्या चाँडै आउँदैन । रेलको अवस्था एक राम्रो छ ।’ उनले रेल गुडाउन समस्या नभए पनि सर्वसाधारणको भीडले समस्या उत्पन्न गरिरहेको गुनासो गरे । जसका कारण रेल तीव्र गतिमा गुडाउन सक्ने स्थिति छैन । रायले भने, ‘रेललाई उसको गतिमा गुडाउन समस्या छ। ’cause सर्वसाधारण ट्रयाकमा आइहाल्छन्, हर्न नदिएसम्म हट्दैनन् ।’ यस्तो समस्या समाधान भए तीव्र गतिमा गुडाउन सकिने उनको भनाइ छ । नेपाली रेल १६०० एचपी डेमुको हो । रेलको अगाडि पछाडि दुवैतर्फ इन्जिन छ ।

Like