चितवन सौराहामा पर्यटकको खचाखच
रासंसा/चितवन, पौष १७,
मुलुकमा यो समय विदेशी पर्यटकको तुलनामा आन्तरिक पर्यटक बढी आएको व्यवसायी बताउँछन्। कोभिडका कारण लगातार दुई वर्ष सौराहामा चलहपहल र विशेष कार्यक्रम भएन। नयाँवर्षको वाहना भए पनि पर्यटकीय चहलपहलले आशा जगाएको व्यवसायी बताउँछन्। होटल पार्कल्यान्डका सञ्चालक अञ्जनकुमार पाण्डे भन्छन्, ‘नयाँवर्षको कारण होटल पूरै भरियो । कतिपयलाई कोठा उपलब्ध गराउन नसकेर फर्काउन बाध्य भयांै। विभिन्न होटलहरूले आन्तरिक रूपमा सांगितिक कार्यक्रम गरेका कारण पनि आन्तरिक पर्यटक बढेका थिए। सडक, होटल, रेष्टुराँ तथा चोकहरू पर्यटकहरू नाचगान गरेर रमाइलो गरेर उत्सव मनाएका थिए। राप्ती नदी किनारमा पर्यटकको भीड थियो। ड्यामदेखि किनारमा रहेका रेष्टुराँका कर्मचारीलाई काम गर्न भ्याइनभ्याइ थियो। अग्रिम बुकिङ नगरेका कतिपय फर्कन बाध्य थिए। अंग्रेजी नयाँ वर्ष २०२२ को अघिल्लो साँझ चितवनको पर्यटकीय क्षेत्रमा पर्यटकीय चहलपहल बढी थियो। होटलहरूमा भरिभराउ थिए। नेपाली र अंग्रेजी नयाँ वर्षमा यहाँ रमाइलो गर्ने पुग्ने धेरै हुन्छन्। रेष्टुराँ एन्ड बार एसोसिएन रेवान सौराहाका संस्थापक अध्यक्ष बलराम दाहालले कोभिडले मरेको आशालाई केही जगाएको बताए। शनिवार धेरैले जीप सफारी गरेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र कुमरोज सामुदायिक वनमा जीप सफारी गरेका थिए। पश्चिम चितवनका पर्यटकीय गन्तव्य पनि पर्यटकले भरिएका थिए। चितवन राष्ट्रिय निकुञ्ज, राप्ती र नारायणी नदीको किनारका मेघौली, पटिहानी र जगतपुर पर्यटकीय केन्द्र प्रख्यात छन्।