कृषि मन्त्रालयको तथ्यांक धान उत्पादन ९ प्रतिशतले घट्याे
रासंसा/काठमाण्डौ, पौष १७,
अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षमा ४ लाख ९० हजार ३ सय ९६ मेट्रिक टन धान कम उत्पादन भएको हो । यो अघिल्लो वर्षको तुलनामा ८.७४ प्रतिशत कम हो । मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा ५१ लाख ३० हजार ६ सय ४ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७८/७९ मा धान उत्पादन झन्डै ९ प्रतिशतले घटेको जनाएको छ । पाँच वर्षको अवधिमा यस पटक सबभन्दा कम धान उत्पादन भएको मन्त्रालयले जनाएको हो । गत आर्थिक वर्षको तुलनामा धानबाली लगाइएको क्षेत्रफलमा करिब ४ हजार हेक्टरको सामान्य वृद्धि आएको छ भने उत्पादकत्वमा ८.६१ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयको प्रारम्भिक विवरणअनुसार चार लाख मेट्रिक टनभन्दा बढी धानमा क्षति पुगेको छ । मन्त्रालयका अनुसार ६० देखि ६५ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल धानमा आत्मनिर्भर हुन्छ । यस पटक कम्तीमा ६० लाख मेट्रिक टन धान उत्पादन हुने लक्ष्य कृषि मन्त्रालयले लिएको थियो । धान उत्पादनमा कमी हुनुको कारणमा कृषि मन्त्रालयले बेमौसमी वर्षालाई लिएको छ । असोज अन्तिम साता भएको वर्षाका कारण धानमा ठूलो क्षति पुर्याएको थियो । वर्षाले सुदूरपश्चिम र लुम्बनी प्रदेशको कैलाली, कञ्चनपुर, बर्दिया, बाँके तथा कपिलवस्तुमा धान थन्क्याउने बेलामा पारेको क्षतिले समग्र राष्ट्रिय उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ ।