१ लाख बेवारिसे कुकुर काठमाडौँका सडकमा, चुनौती बन्दै रेबिज इम्युनोग्लाबुलिन सुई सातै प्रदेशमा पुग्ने
रासंसा/काठमाण्डौ, मार्ग ४,
मुलुकमा बेवारिसे लाखौँ कुकुरका कारण रेबिज रोग चुनौतीपूर्ण बन्दै गएको छ । काठमाडौँ उपत्यकाका सडकमा मात्रै १ लाख बेवारिसे कुकुर छन् । ती सबै कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुख्य सहरी क्षेत्र र ग्रामीण क्षेत्रबाट शहरउन्मुख ठाउँमा रेबिज रोगको चुनौती झन् थपिदै गएको छ । रेबिज रोग, रेबिज ग्रस्त कुनै पनि स्तनधारी प्राणीबाट मानिसमा सर्छ । रेबिज भाइरसबाट प्राणघातक रोग लाग्ने चिकित्सकहरूको भनाइ छ । यो रोग बौलाहा जनावरले टोक्दा लाग्ने रोग हो । भोलीबाट रेबिज इम्युनोग्लोबुलिन सुई कोसी अस्पताल विराटनगर, जनकपुर अस्पताल धनुषा,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा, नारायणी अस्पताल वीरगन्ज, भरतपुर अस्पताल चितवन,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी, लुम्बिनी अस्पताल बुटवल,सुर्खेत अस्पताल सुर्खेत र सेती प्रादेशिक अस्पताल धनगढीमा दिइने भएको छ । अब काठमाडौँमा मात्रै सीमित रेबिज विरुद्धको इम्युनोग्लाबुलिन सुई सातै प्रदेशमा पुग्ने भएको छ । विगतमा रेबिजविरुद्धको इम्युनोग्लाबुलिन सुई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै उपलब्ध थियो । अब मंसिर ५ गते अर्थात् भोलिदेखि सात प्रदेशका ९ अस्पतालबाट इम्युनोग्लाबुलिन सुई दिने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल बताउँछन् । विश्व स्वास्थ्य संगठनको सन् २०३० सम्म विश्वमै कुकुरबाट सर्ने रेबिज रोगबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झार्ने लक्ष्य राखेको छ । विश्वका १८५ देशमा हरेक वर्ष रेबिजका कारण ५९ हजार मानिसको मृत्यु हुने गर्छ । रेबिज रोग लागेर मर्नेको सङ्ख्या युरोपियन मुलुकमा भन्दा अफ्रिकन र एसियन राष्ट्रमा ९५ प्रतिशत छ । विश्वमा नै रेबिज रोग लाग्ने र मृत्यु हुनेहरूको यकिन रूपमा अध्ययन नभएको विज्ञहरू बताउँछन् । नेपालको सन्दर्भमा भने सहरी क्षेत्रमा कुकुरको सङ्ख्या अत्यधिक रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ । यहाँ रेबिज रोग कति जनालाई लाग्यो र कति जना मर्छन् भन्ने यकिन तथ्याङ्क नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रेबिज रोग अन्ट्रारटिका बाहेक विश्वका सबै महादेशमा छ । विश्वमा जनावरको टोकाइबाट ४० प्रतिशत रेबिजका बिरामी १५ वर्षभन्दा मुनिका बालबालिका रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता पौडेल भन्छन्, ‘जहाँ गरिबी छ, त्यहाँ स्वास्थ्य संस्था, जनशक्ति, उपकरण छैन त्यहाँ रेबिजका कारण मृत्यु भएको पाइन्छ ।’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार हालसम्म५० हजार भन्दा बढिलाई जनावरले टोकेको पाइएको छ । नेपालमा रेबिज रोगको उच्च जोखिम क्रमशः तराई, पहाड र हिमाल रहेको छ । विशेष गरेर रेबिज रोग ९९ प्रतिशत कुकुरको टोकाइबाट हुन्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै विगत ७ वर्षको आँकडा हेर्दा रेबिज रोगका कारण बर्सेनि १५ देखि ३६ जनासम्मको मृत्यु हुने गरेको छ । रेबिज इम्युनोग्लोबुलिन एउटा औषधि हो । इम्युनोग्लाबुलिन रेबिजको विरुद्धका बनेको एन्टीवडी हो । जुन रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरिपरि सुइको मध्यमले लाइन्छ । एन्टी रेबिज खोप लगाएको ७ देखि १० दिन भित्र शरीरले एन्टिबडी बनाउन गर्छ । एक वा एक भन्दा बढी घाउ हुने गरि टोकेमा, ठूलो घाउ हुने गरि टोकेमा, म्युकस मेम्ब्रेन वा छाला फुटेको ठाउँमा रेबिज संकास्पद जनावरको र्याल अनुहार, हातमा परेमा टोकेमा जोखिम हुन्छ । यस्ता टोकाइहरू बढी संवेदनशील हुने हुँदा तत्काल रेबिज भाइरसलाई निष्क्रिय बनाएर रेबिजको कारण हुन सक्ने जोखिम कम गर्न रेबिज इम्युनोग्लोबुलिनको सुई दिनुपर्ने डा. पौडेलको भनाइ छ । यसले रेबिजभाइरसलाई निष्क्रिय गराउने भएकाले घाउको वरिपरि लगाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए । यद्यपि रेबिजको इम्युनो ग्लोबुलिनको सुई जीवनमा एक पटक मात्र लगाए पुग्ने उनको भनाइ छ । डा. पौडेलका अनुसार रेबिज शङ्का भएका जनावरले टकेको खण्डमा कोसएक्सपोजर पोरफाइलएक्सि र रेबिजका खोप लगाउनुपर्ने हुन्छ । मास डग भ्याक्सिनेसनन् अर्थात् कुकुरहरूलाई खोप लगाउने कार्यक्रम नगरपालिकाहरू भइरहेको छ । ‘शहरमा अहिले कुकुरलाई खोप लगायो’ उनले भने, ‘त्यसपछि गाउँबाट फेरि अन्य कुकुर शहर छिर्ने हुँदा समस्या भयो ।’ रेबिज भएको कुकुरले मानिसलाई टोकेपछि चञ्चल हुने गर्छन् । यस्तै, पानीदेखि डराउने, फरक व्यवहार देखाएर तसिर्ने, प्यरालाइसिस हुने त्यसपछि कोमा बिरामी जान सक्ने चिकित्सकहरूको भनाइ छ । त्यस अवस्थामा मृत्यु समेत हुन्छ । कुकुरले टोकेर यो रोग लागेमा निको पार्न नसकिने भएकाले रेबिजविरुद्धको खोप लगाउनुपर्छ । कुकुरको कुल जनसङ्ख्याको ७० प्रतिशत खोप लगाउन सकेको खण्डमा रेबिजलाई रोगलाई कम गर्न सकिने उनको भनाइ छ । काठमाडौँ करिब १ लाख कुकर रहेको अनुमान गरिएको छ । केही नगरपालिकाहरूमा ५० हजार भन्दा धेरै कुकुर रहेको पाइएको छ । १.पहिलो टोकाइ: कुकुरले टोक्दा छालामा घाउ भएको छैन । कुकुरले चाटेको मात्रै छ भने केही पनि हुँदैन । आत्तिन पर्दैनन् । कुकुरले टोकेको एरियामा राम्रोसँग साबुन पानीले पखाल्नुपर्छ । शकांस्पद सानो बच्चा कुकुरले टोकेको छ भने पनि रेबिजको खोप लगाउनुपर्छ । कुकुरको टोकाइलाई तीन वर्गमा बाँड्न सकिने डा. पौडेलको भनाइ छ । २.दोस्रो टोकाइ: कुकुरले तोक्दा अलिकति घाउ लागे छ अर्थात् छालामा सानो दाग लाग्नुका साथै कोतरिएको छ । तर, रगत आएको छैन भने दोस्रो अवस्था भनिन्छ । अर्का कुरा जङ्गली जनावरले टोक्यो भने पनि दोस्रो वर्ग मै पर्छ । जस्तै स्याल, बाँदर । यस्तो अवस्थामा खोप लगाउनुपर्छ । ३.तेस्रो तह टोकाइ : कुकुरले टोकेर ठूला–ठूला घाउहरू बनाएको भने तेस्रो तहको टोकाइ हो । कुकुरले टोक्दा काटेको छ, वा घाउ भएको छ । तेस्रो तहको टोकाइ भएको छ । त्यसमा पनि कुनै पनि रेबिजको खोप नलगाएकाहरूलाई इम्युनोग्लाबुलिन दिने प्रोटोकलमा रहेको उनले सुनाए । तर, कुकुरले टोक्नुभन्दा पहिलै खोप लगाएको खण्डमा इम्युनोग्लाबुलिनको आवश्यकता पर्दैनन् । इम्युनोग्लाबुलिन रेबिजको विरुद्धका बनेको एन्टीवडी भएकाले निको पार्नलाई सहयोग पुर्याउँछ । यस खोपलाई विश्व स्वास्थ्य संगठनले अत्यावश्यक औषधिको सूचीमा राखेको छ ।