एकै परिवारका दुईको मृत्यु, दुई बेपत्ता एक, घाइते
रासंसा / रसुवा, भाद्र ३,
रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नम्बर ५ कोलडाँडामा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। पहिरोले स्थानीय श्यामबहादुर गलानको घर पुरिएको थियो। पहिरोमा परेर गलानकी श्रीमती ३२ की कमला गलानको मृत्यु भएको छ। उनको शव पहिरोबाट बाहिर निकालिसकेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले सेतोपाटीलाई बताए। स्थानीयले गलानलाई उद्धार गरेका थिए। उनलाई थप उपचारका लागि एम्बुलेन्समार्फत् काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ। आमा कमला र कान्छी छोरी ८ वर्षकी सुकमाया गलानको शव फेला परिसकेको पाण्डेले बताए। पहिरोले एक तले जस्ताले छाएको घर पुरिएको हो। घरमा सुतिरहेका उनीहरूलाई पहिरोले पुरेको हो। घटनास्थलमा प्रहरी पुगिसकेको छ। अर्की छोरी ११ वर्षीय शोविता गलान र छोरा ७ वर्षका आशिष गलान भने अझै बेपत्ता छन्। उनीहरू पहिरोमा परेको आशंकामा खोजी कार्य जारी छ।