९ बुँदे सहमतिमा सरकार र गणेश नेपाली परिवारबिच सम्झौता
रासंसा/काठमाण्डौ, आषाढ २८,
मुलुकमा वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार (स्थानीय तहसहित) र पीडित पक्षबिच ९ बुँदे सहमति भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। उक्त समितिले गठन भएको सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेस गर्ने उल्लेख छ। साथै घटनाका दिन फिल्डमा खटिएका काठमाडौं महानगर प्रहरीका कर्मचारीलाई हालका लागि निलम्बन गरी छानबिन प्रतिवेदनअनुसार थप कारबाही गरिने सहमति भएको छ। त्यसैगरी, अन्तिम संस्कारको सम्पूर्ण व्यवस्था, आफन्तको यातायात तथा काठमाडौं बसाइ खर्च, शव बुझ्ने र पोस्टमार्टमलगायत कानुनी प्रक्रिया सहज बनाउने तथा परिवारका एकाघरका सदस्यको स्वास्थ्य बीमाको व्यवस्था गर्ने विषयमा पनि सरकार र महानगरले जिम्मेवारी लिने सहमति भएको छ । पीडित परिवारलाई राहतस्वरूप मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा काठमाडौं महानगरपालिकामा रोजगारी उपलब्ध गराइने, छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यवस्थापन गरिने तथा आगामी कार्यपालिका बैठकबाट उचित राहत रकम उपलब्ध गराइने सहमतिमा उल्लेख छ ।


