खेलकुददेशप्रदेश-३ [बागमती]

विश्व योग दिवसको समीक्षा बैठक : योगको संस्थागत विकासतर्फ ऐतिहासिक कदम

Share to:

डा.शान्ति दुत योगयात्री विष्णु/काठमाण्डौ, आषाढ ११,

मुलुकमा १२औँ विश्व योग दिवसको सफल सम्पन्नतापछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा पहिलोपटक विश्व योग दिवस कार्यक्रमको औपचारिक समीक्षा बैठक आयोजना गरेको छ। मन्त्रालयका सहसचिव शिव सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त बैठकले योग, ध्यान र आरोग्यको क्षेत्रमा दीर्घकालीन नीति तथा संस्थागत विकासका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले योगलाई केवल एक दिवसमा सीमित नराखी राष्ट्रिय जीवनशैली, शिक्षा र जनस्वास्थ्यसँग जोड्ने उद्देश्यका साथ आगामी वर्षहरूका लागि स्पष्ट कार्यदिशा तय गरेको छ। निर्णयअनुसार आगामी आर्थिक वर्षदेखि राष्ट्रिय योग दिवस सरकारको नेतृत्वमा तथा सम्बन्धित संस्थाहरूको सहजीकरणमा सञ्चालन हुनेछ। त्यसैगरी विश्व योग दिवस, विश्व ध्यान दिवस र आरोग्य दिवसजस्ता कार्यक्रमहरूमा संस्थाहरू अग्रभूमिमा रहने र सरकारले आवश्यक सहजीकरण गर्ने व्यवस्था अपनाइनेछ।
साथै राष्ट्रिय कार्यक्रमसँग समन्वय गर्दै विभिन्न संघसंस्था तथा योगिक निकायहरूले आफ्ना कार्यक्रम समानान्तर रूपमा सञ्चालन गर्न सक्ने वातावरण निर्माण गरिनेछ। राष्ट्रिय समारोहलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन कार्यक्रमको अवधि अधिकतम दुई घण्टाभित्र सीमित गर्ने, सीमित सङ्ख्यामा उत्कृष्ट प्रस्तुति राख्ने तथा व्यापक सामूहिक योग प्रदर्शनलाई प्राथमिकता दिने निर्णयसमेत गरिएको छ।
बैठकको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा राष्ट्रिय योग शिक्षा परिषद् गठनका लागि मन्त्रालयमार्फत औपचारिक सिफारिस गर्ने निर्णय गरिएको छ। योग शिक्षालाई नीति, पाठ्यक्रम, अनुसन्धान तथा प्रशिक्षणसँग जोड्दै राष्ट्रिय स्तरमा संस्थागत आधार प्रदान गर्ने दिशामा यो निर्णयलाई विशेष महत्वका साथ हेरिएको छ।
आगामी राष्ट्रिय योग दिवसको तयारीका लागि मूल समारोह समिति गठन गरिने तथा समितिका सदस्यहरूलाई आवश्यक समन्वयका लागि सिंहदरबार प्रवेशको अस्थायी अनुमति उपलब्ध गराइने व्यवस्था पनि गरिनेछ। साथै १२औँ विश्व योग दिवसको सफलतामा योगदान पुर्‍याउने संस्थाहरूलाई प्रशंसापत्र प्रदान गर्ने र समारोहमा प्रयोग भएका सामग्रीहरू योगिक संस्थाहरूको साझा सञ्जाललाई हस्तान्तरण गर्ने निर्णयसमेत सर्वसम्मत रूपमा पारित भएको छ।
समीक्षा बैठकमा योग, ध्यान, प्राकृतिक स्वास्थ्य तथा आरोग्य क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्था र अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समापन समारोहमा योग ध्यान आरोग्य सञ्जाल नेपालका महासचिव नवराज काफ्लेले कार्यक्रमको समीक्षा मात्र नभई भावी मार्गचित्र निर्माणका दृष्टिले बैठक ऐतिहासिक रहेको उल्लेख गरे। उनले राष्ट्रिय योग शिक्षा परिषद् गठनसम्बन्धी निर्णयलाई नेपालमा योग शिक्षाको संस्थागत, व्यवस्थित र मानकीकृत विकासको आधारशिला भएको बताए।
नेपालले सन् २०१५ देखि निरन्तर विश्व योग दिवस मनाउँदै आएको भए पनि कार्यक्रम सम्पन्न भएपछि त्यसको औपचारिक समीक्षा, मूल्याङ्कन र भावी रणनीति निर्माणका लागि आयोजित यो बैठकलाई नयाँ सुरुवातका रूपमा हेरिएको छ। यसले सरकार र योग क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै योगलाई राष्ट्रिय विकास, शिक्षा, स्वास्थ्य र संस्कारसँग जोड्ने मार्ग प्रशस्त गरेको विश्वास गरिएको छ।
योग केवल शरीरको अभ्यास होइन; यो व्यक्ति, समाज र राष्ट्रलाई सन्तुलन, अनुशासन र चेतनाको सूत्रमा बाँध्ने जीवनदर्शन हो।

Like