आज स्कन्द षष्ठी, अचला सप्तमी, अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइदै
रासंसा/काठमाण्डौ, माघ १०,
विद्या धनं सर्वप्रधानम
देव सेनापते स्कन्द कार्तिकेय भवोद्भव, कुमार गुह गांगेय शक्तिहस्त नमोस्तु ते॥
ऊँ ऐं हुं क्षुं क्लीं कुमाराय नमः
ऊँ नमः पिनाकिने इहागच्छ इहातिष्ठ
ऊँ नमः पशुपतये
विद्या ददाति विनयं विनयाद्याति पात्रताम्।
पात्रत्वाद्धनमाप्नोति धनात्धर्मं ततः सुखम्॥
अन्तर्राष्ट्रिय शिक्षा दिवस
यस श्लोकले शिक्षाको रूपान्तरणकारी शक्ति र यो कसरी जीवनलाई पूर्ण र धर्ममय बनाउन सहयोग गर्दछ भन्ने कुरालाई सुन्दर रूपमा व्याख्या गर्दछ।
शिक्षाले विनम्रता प्रदान गर्दछ, विनम्रताबाट योग्यताको प्राप्ति हुन्छ, योग्यताबाट धन आर्जन हुन्छ। धनबाट धर्मको पालन गर्न सकिन्छ, र धर्मबाट सुख प्राप्त हुन्छ।
शिक्षा एउटा आधारभूत मानव अधिकार मात्र नभई सार्वजनिक हित र सार्वजनिक दायित्व पनि हो। संयुक्त राष्ट्र सङ्घको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो । समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको पहुँच सबै जना समक्ष नपुगुन्जेल सबैका लागि जीवनभरका अवसरहरू बिना, देशहरू लैङ्गिक समानता हासिल गर्न र लाखौँ बालबालिका, युवा र वयस्कहरूलाई पछाडि छोड्ने गरिबीको चक्रलाई तोड्न सफल हुनेछैनन्। सन् २०२० को सेप्टेम्बर मा संयुक्त राष्ट्र रूपान्तरण शिक्षा शिखर सम्मेलनले उद्घोष गरेको विश्वव्यापी गतिको निर्माण गर्दै, यस वर्ष शिक्षाको वरिपरि बलियो राजनीतिक परिचालन कायम राख्न र प्रतिबद्धताहरू र विश्वव्यापी पहलहरूलाई कार्यमा रूपान्तरण गर्ने विश्वका सबै राष्ट्रहरूलाई आह्वान गर्नेछ। विश्वव्यापी मन्दी, बढ्दो असमानता र जलवायु सङ्कटको पृष्ठभूमिमा सबै दिगो विकास लक्ष्यहरूमा प्रगतिलाई गति दिन शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने तथ्यलाई आज थप उजागर गरिन्छ । युनेस्कोले यस वर्षको अन्तर्राष्ट्रिय शिक्षा दिवसमा अफगानिस्तानमा शिक्षाको अधिकारबाट वञ्चित भएका बालिकाहरू र महिलाहरूलाई समर्पित गर्दैछ। यस वर्षको शिक्षा दिवसले उनीहरूको अफगानिस्तानमा भएको शिक्षामा पहुँच प्रतिबन्धित बन्देज तत्काल हटाउन आह्वान गरिरहेको छ। यस वर्ष अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा “The power of youth in co-creating education” भन्ने रहेको छ । यस वर्षको मूल नाराले शिक्षालाई एकोहोरो जिम्मेवारीका रूपमा मात्र नहेरी, युवाहरूको सक्रिय र रचनात्मक सहभागिताबाट निर्माण हुने एक जीवन्त प्रक्रियाका रूपमा परिभाषित गरेको छ। जब युवाको नवीन सोच, असीमित सिर्जनशीलता र उनीहरूको भोगाइलाई शिक्षा प्रणालीको आधार बनाइन्छ, तब मात्र शिक्षा वास्तवमै समावेशी, व्यावहारिक र भविष्य–उन्मुख बन्न सक्छ।
अचला सप्तमी
माघ शुक्ल पक्षको सप्तमी तिथिमा पर्ने यस दिनलाई भगवान् सूर्यको पनि जन्म तिथिका रूपमा विश्वास गरिन्छ । यस दिन व्रत बस्ने र पूजा अर्चना गरेमा आरोग्य प्राप्त हुने, सन्तान सुख प्राप्त हुने र सकारात्मक ऊर्जा मिल्ने बताइन्छ ।
तिथिले आजको दिनलाई षष्टि बाट सप्तमी सम्म लगिदिएको छ । रथ सप्तमी र आरोग्य सप्तमी पनि भनिन्छ ।
हिउँद ओरालो लाग्दैछ, सूर्य नारायण उत्तरायण गतिमा गइसकेका छन् । उत्तरायण सुरु भइसकेपछि सूर्यको ऊर्जा र तेज ग्रहण गर्नका लागि धेरै विधान गरिन्छ । यिनै विधिहरू गरिने तिथिहरू मध्य अचला सप्तमी अर्थात् रथ सप्तमी र आरोग्य सप्तमीको विशेष महत्त्व रहन्छ । भगवान् सूर्यको सातै वटा घोडाहरू यस दिन वाट वहाँलाई विराजमान गराएर वर्ष दिन भरि चल्न सुरु गर्ने विश्वास गरिन्छ, यस कारणले पनि आजको तिथिलाई रथ सप्तमी भनिएको हुन सक्दछ ।
अचला सप्तमीको व्रत कथा अनुसार भगवान कृष्णका पुत्र शम्भलाई आफ्नो शारीरिक शक्ति र क्षमतामा गर्व थियो । एक पटक दुर्वासा ऋषि कृष्णलाई भेट्ने उद्देश्यले भगवान कृष्णकहाँ आएका थिए । दुर्वासा ऋषिले लामो समयदेखि तपस्या गरिरहेका थिए जसका कारण उनको शरीर निकै कमजोर भएको थियो । त्यसपछि शम्भ त्यो महान् ऋषिको शरीर देखेर ठुलो स्वरले हाँस्न थाले । शारीरिक बलको घमण्डले शांभले ऋषिको अपमान गरे। दुर्वासा ऋषि आफैलाई अपमानित भएको देखेर धेरै क्रोधित भएर उनले शांभलाई आफ्नो हिम्मतका कारण कुष्ठरोग हुने श्राप दिए। आफूलाई कुष्ठरोग भएको देखेर शांभ निकै दुःखी भए र उनको अहंकार पनि चकनाचुर भयो। त्यसपछि भगवान श्रीकृष्णले आफ्नो पुत्रको यस्तो अवस्था देखेर उनलाई सूर्यदेवको पूजा गर्न भने । पिताको आज्ञा पालन गर्दै शम्भले दिनहुँ सूर्य भगवानको पूजा गर्न थाले । यससँगै माघ शुक्ल पक्षको सातौँ दिन पनि व्यवस्थित रुपमा व्रत बस्ने गरिएको छ । जसले गर्दा उसले यस श्रापबाट मुक्ति पाए र पहिलेको जस्तो रूप र शरीर पाए । यसपछि अचला सप्तमीको महिमा झनै बढर गएको हो ।
स्कन्द षष्ठी
भगवान् शिवको ज्येष्ठ सुपुत्र स्कन्द हुन जसलाई कुमार कार्तिकेय भनेर पनि सम्बोधन गरिन्छ । स्कन्द षष्ठिका दिन कुमार कार्तिकेयको पूजा अर्चना गरिन्छ । हरेक महिना शुक्ल पक्षको षष्ठिका दिन स्कन्द षष्टि मनाइन्छ ।
यस दिन व्रत बस्ने र पूजा अर्चना गरेर कुमार कार्तिकेय र माता पार्वतीको सम्झना गर्न सकिएमा विåघ्न बाधाहरू हट्ने विश्वास राखिन्छ ।
स्कन्द पूजाको मन्त्र यस प्रकार छ ।
देव सेनापते स्कन्द कार्तिकेय भवोद्भव, कुमार गुह गांगेय शक्तिहस्त नमोस्तु ते॥
ऊँ ऐं हुं क्षुं क्लीं कुमाराय नमः
ऊँ नमः पिनाकिने इहागच्छ इहातिष्ठ
ऊँ नमः पशुपतये
दियो कलश स्थापना गरेर गणेश भगवानको प्रतिमा स्थापना गर्दै आजको दिन पूजा सुरु गरिन्छ । स्कन्द षष्टिको प्रतापले सबैको कष्ट निवारण होस् ।