गालीगलौज होइन नतिजा, संघीयतामा प्रष्ट बालेन्द्र शाह
रासंसा/धनुषा, माघ ५,
मुलुकमा काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएको भोलिपल्ट बालेन्द्र शाह (बालेन) मधेस प्रदेशको राजधानी जनकपुर झरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका बालेनले जनकपुरमा जुन सम्बोधन गरे, त्यसले नेपाली राजनीतिमा तरंग नै ल्याएको छ । उनले आफ्नो भाषणमा काठमाडौँको अनुभवलाई राष्ट्रियस्तरमा विस्तार गर्दै परम्परागत राजनीतिको ‘गालीगलौज’ शैलीलाई त्यागेर ‘नतिजा र नीति’ मा आधारित बहसको थालनी गरेका छन् । मधेसी पहिचानलाई गर्वका साथ प्रस्तुत गर्दै उनले जनकपुरको धार्मिक र सांस्कृतिक सामर्थ्यलाई विश्व पर्यटन बजारसँग जोड्ने ‘भिजन’ सुनाए । यसअघि सार्वजनिक रूपमा खासै नदेखिने बालेनले जनकपुरमा मैथिलीमा भाषण गर्दै केही नयाँ सन्देश दिए । उनले मधेसको भावना, संघीयताको व्यावहारिक प्रयोग र देशको आर्थिक–सामाजिक रूपान्तरणको कुरासम्म गरे । भाषणमा बालेनले मिथिलाको सांस्कृतिक वैभवलाई आर्थिक अवसरसँग अत्यन्तै सान्दर्भिक ढङ्गले जोडेका छन् । राम–जानकीको विवाह भूमि भएर पनि नेपालीहरू ‘डेस्टिनेसन वेडिङ’ का लागि विदेश जानुपर्ने विडम्बनापूर्ण स्थितिको चर्चा गर्दै उनले यहाँको पर्यटन नीतिको असफलतालाई औँल्याएका छन् । अयोध्याको पर्यटक आगमनसँग जनकपुरको तुलना गर्दै उनले वार्षिक १ करोड पर्यटकको लक्ष्य राख्न सकिने बताए । उनले केवल मन्दिरको पूजा मात्र होइन, ती मन्दिर र सम्पदाहरूको व्यवस्थापन र सौन्दर्यीकरण गरेर विश्वस्तरको पर्यटकीय गन्तव्य बनाउन सकिने बताए । बालेनको भाषणको सुरुवाती शैलीले उनी ‘कुरा भन्दा काम’मा विश्वास गर्छन् भन्ने पुरानो छविलाई थप मजबुत बनायो । उनले काठमाडौँमा आफूले गरेका कार्यहरूलाई ‘प्रमाण’का रूपमा प्रस्तुत गर्दै जनतासँग काम गर्ने अवसर मागेका छन् । ‘मलाई काम गर्न दिनुहुन्छ त ?’ भन्ने उनको प्रश्नले मतदातालाई जिम्मेवारी सुम्पिन आग्रह गरे । रास्वपा र स्वयं बालेनमाथि लाग्ने संघीयता विरोधी आरोपलाई उनले यस भाषणमार्फत ठाडै अस्वीकार गरेका छन् । उनले सङ्घीयतालाई अधिकारको विकेन्द्रीकरणसँग जोड्दै प्रदेशलाई अझ बलियो बनाउनुपर्ने धारणा राखेका छन् । जनकपुरको प्रमुख प्रशासकीय अधिकृत फेर्न काठमाडौँ धाउनुपर्ने प्रशासनिक केन्द्रीकरणको कडा आलोचना गर्दै उनले प्रदेश राजधानीलाई वास्तविक अर्थमा ‘शक्तिशाली’ बनाउनुपर्ने तर्क गरेका छन् । बालेनले समाजवादको शास्त्रीय परिभाषालाई भन्दा पनि व्यावहारिक र नतिजामुखी परिभाषालाई जोड दिएको देखियो । महँगा निजी विद्यालय र अस्पतालहरूमा विपन्न वर्गका लागि निश्चित प्रतिशत कोटा सुनिश्चित गर्नु नै वास्तविक समाजवाद हो भन्ने उनको तर्कले मध्यम र तल्लो वर्गका जनतालाई सिधै छुन्छ । काठमाडौँमा उनी मेयर हुँदा सुरु गरिएका छात्रवृत्ति र स्वास्थ्य सुधारका कार्यक्रमहरूलाई देशका ७५३ वटै पालिकामा लागु गर्ने योजना सुनाए । ‘काठमाडौँ अधिकार माग्न जाने ठाउँ होइन, दर्शन गर्न जाने ठाउँ मात्र बन्नुपर्छ’ भन्ने उनको अभिव्यक्तिले काठमाडौँको एकाधिकार तोड्नुपर्ने सन्देश दिएका छन् । बालेनको यस भाषणको एउटा नयाँ पक्ष भनेको विपक्षीहरूको आलोचना र गालीगलौजको पूर्ण अभाव हो । नेपाली राजनीतिका पुराना खेलाडीहरूले मञ्च पाउनासाथ अर्को दललाई गाली गर्ने परम्परा विपरीत उनले केवल आफ्ना योजना र भिजनमा समय खर्चिएका छन् । रास्वपाकै अरु नेताहरुले पुराना दल र नेतालाई गाली गर्दा बालेनले भने त्यसो गरेनन् । आफूलाई ‘मधेसी ठिटो’ का रूपमा गर्वका साथ चिनाउँदै गर्दा उनले जातीय राजनीतिभन्दा माथि उठेर फ्रेन्चाइजी क्रिकेट टिम ‘जनकपुर बोल्ट्स’ को उदाहरण दिँदै समग्र मधेस र नेपालको एकताको कुरा गरे । उनले घण्टीमा भोट हाल्नु भनेको केवल एक व्यक्तिलाई जिताउनु नभएर देशमा ‘सही मान्छे, सही समय र सही सरकार’को उद्घोष पनि गरेका छन् ।
