एकीकृत समाजवादीलाई वामदेव भित्र्याउन आश
रासंसा/काठमाण्डौ, बैशाख १९,
मुलुकमा नीति तथा कार्यक्रम प्रस्तुतका लागि शुक्रबार (आज) बसेको दुबै सदनको संयुक्त बैठकमा वामदेव गौतम नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगै बसे। उनीहरू सँगै बसेको फोटोले चर्चासमेत पायो। खासगरी उनीहरू मिल्नुपर्छ भन्ने नेताहरूले फोटो साझेदारी गर्दै ‘यही चाहेको’ भन्नसमेत भ्याए। एकीकृत समाजवादीकै नेताहरू प्रकाश ज्वाला, मेटमणि चौधरीलगायतले पनि त्यही आशयको स्टाटस राख्दै उक्त फोटो साझेदारी गरेका छन्। त्यसो त मिल्ने कुरा नभएको होइन, एक वा दुईपटक मात्रै भएको पनि होइन। पटक-पटक भएका छन् तर, उनीहरू मिलिहाल्न सकेकै छैनन्। चार महिना अगाडि मात्रै उनीहरू मिल्ने हल्ला दह्रै थियो। २०८१ को पुसतिर उनीहरूबीच तारान्तार भेटवार्तासमेत हुने गर्थ्यो। उनीहरू एकताका लागि सहमत भएका मात्रै थिएनन्, एकता प्रक्रियासमेत अगाडि बढिसकेको थियो। त्यसो त नेपाल-गौतम लामो समययता वामपन्थी आन्दोलनमा सँगै छन्। उनीहरूले एउटै पार्टीमा रहेर लामै समय कामसमेत गरेका छन्। प्रकारान्तरले पछिल्लो समय उनीहरू नेकपा (एमाले)बाट हेलिए। यो दृष्टिकोणबाट हेर्ने हो भने उनीहरूका पीडा फरक छैन। तर, उनीहरू मिलिहाल्न पनि त सकेका छैनन्। एकता प्रक्रिया अन्तिम चरणमा पुग्न मात्रै के लागेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘इन्ट्री’ भयो। उनले गौतमलाई पार्टीमा बोलाए। ‘ढुलमुल’ भइरहनेगौतम पुन: एकपटक ढुलमुलिए र एकीकृत समाजवादीसँगको एकता प्रक्रियालाई अपलत्रै पारेर ओलीप्रति आकर्षित भए। तर, ओलीले पछि फुस्सै पारिदिए। वामदेवलाई पार्टीमा ल्याउने भनेर सचिवालय बैठक बोलाएका ओलीले ‘पुन:पार्टी नछोड्ने ग्यारेन्टी’ खोज्न थाले। दुईपटक पार्टी छाडिसकेका गौतमले कहाँबाट विश्वस्त पार्न सकून् ओलीलाई। गौतमले ओलीले भाँड्न मात्रै खोजेका रहेछन् भन्ने कुरा जतिबेला थाहा पाए, त्यतिबेला एकीकृत समाजवादी रिसिसकेको थियो। त्यसपछि उसले पनि भन्न थाल्यो कि अब गौतमसँग कुनै सर्त बिना एकता गरिँदैन। यो थाहा पाएपछि गौतम अलमलिए। के गर्ने र के नगर्नेको चक्करमा घुमेका उनले त्यसपछि नेकपा एकता अभियानलाई पार्टीका रूपमा दर्तासमेत गराए, आफ्नै पार्टी अगाडि बढाउने निष्कर्षमा पुगे। तर, पार्टीका अरु नेताहरूले त्यसो नगर्न सुझाव दिए। यसपछि फेरि उनी विरासत र विचार मिल्ने पार्टीसँगकै एकतालाई नै तीव्रता दिने निर्णयमा पुगे। यहीअनुरूप पछिल्लो दुई सातायता उनले पुन: एकीकृत समाजवादीसँग एकताका लागि प्रस्ताव लगेका छन्। पार्टी एकताका लागि उनी हदैसम्म लचिलो बनिरहेको एकीकृत समाजवादीका नेता दामोदर अर्याल बताउँछन्। ‘पछिल्लो १५ दिनयता उहाँले एकताका लागि कुरा झिक्नुभएको छ। संवाद पनि भइरहेको छ। त्यसमा हामी पनि नेगटिभ छैनौँ,’ अर्यालले भने। आज त्यही कुराले ‘हिट’ गर्यो सायदै, संसद्मा उनी आफैँले गौतमलाई बोलाएर छेउमै बसाए। गौतमलाई पनि गजबै भयो। नेपालले बोलाउँदा आफूलाई खुसी लागेको उनले नागरिकलाई सुनाए। तपाईंहरू कसरी सँगै बस्न पुग्नुभयो ?भन्ने जिज्ञासामा उनले भने, ‘म जाँदै थिएँ, माधवजी अगाडि नै बसिसक्नुभएको रहेछ। उहाँले मलाई बोलाउनुभयो,म गएँबसेँ। कार्यक्रम सुरु भयो। तर, अरु कुराकानी चाहिँ भएनन्। उहाँ र म सँगै बस्ने कुरा त ५०/६० वर्षयता चलिरहेकै कुरा हो।’ उसो त एकीकृत समाजवादीलाई पनि गौतम जतिको नेता नभित्र्याउनुपर्ने कुनै कारण नहोला! पछिल्लो निर्वाचनबाट तीन प्रतिशतको थ्रेसहोल्डसमेत कटाउन नसकेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विरासत र विचार मिल्ने नेताहरूलाई समेट्दै जानुपर्ने आवश्यकता रहेको औँल्याउने गरेका छन्। पार्टी कमिटीका बैठकहरूमा पनि उनले यसै भन्ने गरेका छन्। संसद्मा नेपाल-गौतम सँगै बसेको फोटोले सामाजिक सञ्जालमा चर्चा पाएको छ। त्यो फोटोलाई एकीकृत समाजवादीकै नेताहरूले पनि साझेदारी गर्दै एकता चाहेको बताएका छन्। प्रकाश ज्वाला, मेटमणि चौधरीलगायतका नेताहरूले फेसबूकमा उक्त फोटो साझेदारी गर्दै ढिलोचाँडो एकता हुनु आवश्यक रहेको र हुने बताएका छन्। एकीकृत समाजवादीका नेताहरूले त्यसरी फेसबूकमा फोटो साझेदारी गरेको कुरा बताउँदा गौतम पनि हाँसे र भने, ‘एकता त भइहाल्छ नि। साथीहरूसँग कुराकानी भइरहेकै छ। मैले र माधवजीले चाहनेबित्तिकै हामी बस्न सकिहाल्छौँ। हामी चाँडै बस्छौँ।’ एकीकृत समाजवादीका नेताहरू पनि गौतमलाई एमालेले नलाने बताउँछन्। एक नेता भन्छन्, ‘उहाँलाई एमालेले लाँदैन। केपी ओलीलाई अरुको एकता भाँड्न पाए पुगिहाल्छ। उनलाई मान्छे चाहिएकै छैन।’ अब गौतम आफ्नै पार्टीमा आउने पक्का भइसकेको ती नेता बताउँछन्। एमालेबाट अर्को प्रस्ताव आउन सक्छ भन्नेमा उनी सजग छन्। तर, अब त्यहाँबाट आएको प्रस्तावलाई नपत्याउने उनले बताएका छन्। उनी भन्छन्, ‘अब त ओलीजीलाई पत्याइन्न। अस्ति पनि अपलत्र पारिदिनुभयो। अब म पत्याउँदिनँ।’ गौतम आफैँ भने एकता भन्छन्। आफूसँग पनि पार्टी नै रहेको उल्लेख गर्दै उनले एकता भन्ने गरेका छन्। एकीकृत समाजवादीसँग पनि उनले पार्टी एकता नै भनेका छन्। तर, गौतमलाई भने पार्टीको तेस्रो वरीयतामा ल्याउने उनले बताए। ‘उहाँका लागि हामीले तेस्रो वरीयता राखेका छौँ। पहिले पनि त्यही थियो, अहिले पनि हाम्रो भनाइ त्यही हो। अध्यक्ष, सम्मानित नेतापछि उहाँ नै हुनुहुन्छ। त्यसपछि मात्रै पार्टीका अरु नेता हुनुहुन्छ,’ उनले भने। तर, एकीकृत समाजवादीका नेताहरू भने गौतमले पार्टी प्रवेश गर्ने बताउँछन्। नेता दामोदर अर्याल भन्छन्, ‘उहाँसँग पार्टी एकता भन्दा पनि उहाँले हाम्रो पार्टीमा प्रवेश गर्ने हो। उहाँसँग मान्छेनै हुनुहुन्न। केही साथीहरू हुनुभयो भने व्यवस्थापन गर्ने हो। कतिपय साथीहरूलाई केन्द्रीय कमिटीमै पनि ल्याउनुपर्ने हुनसक्छ, ल्याउँछौँ। त्यसमा समस्या नै भएन।’