आज श्री राम नवमी व्रत, अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २४,

श्री राम नवमी व्रत
मिथिला के सिया धिया जगत् जननी भैल मिथिलाकी सिया अर्थात् सीता जगत् जननी हुन । आजको दिन माता सीता र मर्यादा पुरुषोत्तम भगवान् रामको चरणमा अर्पण । वाल्मीकि रामायणको एउटा घटनाक्रमबाट, एक दिन वनवासको बेला मर्यादा पुरुषोत्तम भगवान् श्री राम र सीताबिच लुकामारी चल्दछ । एउटा सामान्य दम्पतीजस्तै मायालु भावहरूबिच चलिरहेको लुकामारीमा राम एक्कासि धेरै बेरसम्म लुकेपछि जङ्गलमा रहनुभएकी सीताले एउटा मिठो बिलौना अझ भनौँ पुकार गर्नुहुन्छ जसलाई भक्त कबिर लगायत थुप्रै भजन स्रष्टाले छन्द अनि गद्यका रूपमा लेख्नुभएको छ । आउनुहोस्, सरल नेपाली भजनकारुपमा हाम्रो आफ्नै नेपाली भाषामा प्रस्तुत छ, केवल सीता रानी आज्ञा गर्नुहुन्छ!
हे राम , कहाँ लुक्नुभएको,
आउनुहोस् राम, हृदयको दियो जलाउनुहोस् राम
पुरुष महिलाबाट नै बनेको संसार, एउटा बिना अर्को बेकार
छुटेको साथ, मिलाउनुहोस् राम, हृदयको दियो जलाउनुहोस् मेरा राम
मेरो बचन निभाउनु मेरा राम, हृदयको दियो जलाउनुहोस् राम
यी अनि यस्ता धेरै रोमाञ्चक भजन, घटनाक्रम अनि पात्रहरूले रामायणको समग्र प्रस्तुतिकर्ता एउटा महान् ग्रन्थ बनाउन सकेको हुनुपर्छ । राम अनि सीताको जीवनको वरिपरि रहेर तुलसीदासले ‘रामचरित्रमानस’मा अवधि भाषामा कथेका छन् । यसै रामचरित्रमानसका अवधि श्लोकहरूका आधारमा आज नेपालको तराई लगायत भारतका विभिन्न ठाउँमा रामलीला अनि श्लोकहरूकै लय अनि माधुर्ययतामा राम सीताका कथाहरू प्रस्तुत गरिन्छ ।
राम राम कहि जे जमुहाहीं ।
तिन्हहि न पापांपुज समुहाहिं ।
तर्जनीभ्यायं नमः
अर्थात् पापका असरहरू तिन कालागि निस्तेज रहनेछ, जसले हाई काढ्दा पनि रामको नाम लिन्छ । यिनै पाप मोचन गर्ने जनक सुपुत्री जानकीको मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन अर्थात् आज राम नवमी, असत्यको अन्धकार माथि सत्य अनि मर्यादाको उज्यालोको प्रतिककारुपमा मनाईदैछ । वैदिक सनातन हिन्दु धर्मावलम्बिहरूले आजको दिन श्रद्धा, भक्ति अनि आराधनाका माहौलबिच आज नेपाल, भारत, बङ्गलादेश, म्यानमार, थाइल्यान्ड, श्रीलङ्का, फिँजी टापु, साउथ अफ्रिका अनि इन्डोनेसियासम्म रामको जीवन अनि घटनाक्रम झल्काउने नाटक, सभा, कीर्तन लगायतका कार्यक्रमहरूको आयोजना गर्ने गर्दछन् । हिन्दु धर्ममा आस्था वान जो कोही राम नवमीका दिन सबेरै नुहाई धुवाइ, शुद्ध बनी राम मन्दिरहरूमा पुगी पूजा आराधना गर्दछन् । राम मन्दिरहरूमा बिहानैबाट घुँईचो रहने गर्दछ, आजको यस चैत शुक्ल नवमी धार्मिक, सांस्कृतिक अनि सामाजिकरुपमा वास्तवमै अत्यन्त महत्पूर्ण छ । बुवा दशरथको आज्ञा पूरा गर्न कालागि १४ वर्षसम्म वनवास जान मुस्कुराएरै तैयार हुने यिनै राम, जसको नाम अनि जीवनमा आधारित प्राचीन हिन्दु धर्म ग्रन्थ रामायण लेखिएको छ । यिनै रघु वंशी सत्य वक्ता, मर्यादा पुरुषोत्तम अनि ज्ञानी राम नामको कृपाले हामी सबैमा सत्य मार्गको द्वार खुलोस् । राम नवमीका दिन राजधानीको बत्तिस पुतली, ललितपुर र भक्तपुरका अन्य राम मन्दिरमा भक्तजनहरूको भिड लाग्ने गर्दछ । राम नवमीमा जनकपुरस्थित राम जानकी मन्दिरमा भव्य मेला लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गा सागरमा स्नान गरी राम जानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज देशभरका नदी, ताल एवं कुण्डहरूमा नित्य स्नान गरी व्रत बस्ने गरिन्छ र राम गीता पाठ गरिन्छ । साथै अध्यात्मयुक्त वाल्मीक कृत्य भानुभक्तीय रामायण समेत वाचन गरिन्छ । रामभक्तियुक्त भजन कीर्तनका साथ रात्रि जाग्राम बस्ने परम्परा समेत चलिआएको । त्रेतायूगमा चैत्र शुक्ल नवमीमा जन्म लिएका यी विष्णुका अवतारको यस लोकमा आगमनको खुसीयाली आज हजारौँ वर्षसम्म पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाइन्छ । रामलाई वैदिक सनातन हिन्दु धर्म संस्कृतिमा सबैभन्दा धेरै बढी पुजिने भगवानका रूपमा लिइन्छ । त्यही भएर रामका भाइहरू भरत, लक्ष्मण र शत्रुधन नाम गरेका अरू तीन जना भाइहरू थिए । भरतकी माता कैकेयीले छलपूर्वक दशरथ राजालाई परिबन्धमा पारेर रामलाई १४ वर्ष वनवास पठाएकी थिइन् । तर रामका प्रिय भक्त भएका कारण भरतले पनि वनमै पुगेर रामले लगाउने चप्पल (खराउ)लाई सिंहासनमा राखेर पुजेको किंवदन्ती छ । भगवान् रामका सबैभन्दा असल साथी हनुमान हुन् । रामभक्त हनुमान रावण राज्य लङ्का तहसनहस बनाउने प्रमुख पात्र पनि हुन् । अहिलेसम्मको खोज अनुसन्धान अनुसार भगवान् रामको जन्म इशापूर्व ७३९३ तिर दिनको मध्यान्न समयमा भएको थियो । वाल्मीकि पुराण अनुसार भगवान् रामको जन्म पाँच वटा ग्रहहरू उच्च स्थानमा रहेका थिए । रामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको सधैँ ख्याल गरेका कारण वहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । भगवान् रामको राज्य (राम राज्य) पनि न्याय कालागि नमना मानिन्छ । राम अनि रावणको कुरा गर्दा खेरि दक्षिणी भारत लगायत श्रीलङ्का अनि मालदिभ्ससम्ममा अझै पनि रावणलाई पनि राम जत्तिकै श्रद्धा मानेर पूजा गर्ने चलन छ । रामायणले समावेश नगरेको भएता पनि रावण आफैँ अत्यन्त ज्ञानी भएको अनि मर्यादा पुरुषोत्तम रामको हातबाट वध भएमा मात्र आफू बैकुण्ठलोक पुग्ने भएकाले सीताको अपहरण गरी रामलाई आफूसँग यूद्धगर्न घटना रचेको भन्ने तर्कहरू पनि छन् । आजभोलि सनातन धर्मका भगवानरुपी पात्रहरू राम, कृष्ण, हनुमान लगायतलाई केवल हिन्दुका सम्पतीकारुपमा व्याख्या गर्न थालिएको छ । तर यो कुरा ठिक हैन, भागवत गीता का कुना कुना सम्म पनि हिन्दु धर्म लाई धर्म भन्दा पनि जीवन बाँच्ने शैलीका रूपमा मात्र व्याख्या गरिएको छ । सत्य पथ, धर्म अनि मानवता लाई प्रकृत प्रेम सँग एक ढिक्काका रूपमा सनातन धर्मले व्याख्या गरेको छ । वैकुण्ठ निवासी भगवान् विष्णुका सातौँ अवतारका रूपमा श्री रामले असत्यका प्रतिरूप रावणको दुराचार र अन्यायका विरुद्ध विजय प्राप्त गरेका थिए । अयोध्याका राजा दशरथका जेठा छोराका रूपमा जन्म लिएका रामले मिथिला पुत्री तथा राजा जनककी छोरी सीतासँग विवाह भएको थियो । राम र रावणको जन्म कुण्डली एकै प्रकारको रहेको थियो । फरक( रामको कुण्डलीमा कर्कट लग्न र मेष रावणको लग्न थियो । त्यही कारण अत्याचारी रावणको वध गरी अयोध्या राज्यका रैतीहरूलाई सुखशान्ति दिएका कारण भगवान् रामलाई युग पुत्रका रूपमा पुजिन्छ । राम, उनको सत्यता अनि मर्यादा संसारमा सबैकालागी एउटा अनुकरणीय उदाहरण हो, सत्यको जीत होस् अनि हामी सबैमा सत्य बोल्न सक्ने सामर्थ्य बढिरहोस् ।
अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस
समाजमा सामाजिक परिवर्तन, सामुदायिक विकास र शान्ति तथा आपसी समझदारी स्थापनामा खेलकुदलाई माध्यम बनाउनका लागि वार्षिक रूपमा यो दिवस मनाउन थालिएको हो। नेपालमा पनि २०१५ यता यो दिवस निरन्तर रूपमा मनाइँदै आएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा यूएनले विश्वव्यापी रूपमा मनाउने यो दिवस नेपालमा पनि मनाइँदै आएको छ। संयुक्त राष्ट्र संघको साधारण सभाले सन् २०१३ देखि यो दिवस मनाउन शुरु गर्ने निर्णय गरेको हो। खेलकुद एउटा विश्वब्यापी भाषा हो, यो समाजमा हुनेगरेको सबै किसिमको भेदभावबाट मुक्त हुन्छ। खेलकुदले युवा महिला र पुरुष जनसङ्ख्या, व्यक्तित्व र समुदायहरूको साथसाथै स्वास्थ्य, शिक्षा र सामाजिक उद्देश्यहरूको सशक्ततालाई प्रोत्साहन पनि गर्दछ। खेलकुदका माध्यमबाट विश्वभर शान्ति, बिकास, गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि विश्वभर यो दिवस मनाउन थालिएको हो। यूएनका साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, इन्टरनेसनल युनिभर्सिटी स्पोर्टस, एफआईए फाउन्डेसन, इन्टरनेसनल काउन्सिल अफ स्पोर्टस साइन्स एन्ड फिजिकल एजुकेसनलगायत खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय निकायहरूले समेत यो दिवस मनाउन विश्वव्यापी आह्वान गरेका थिए। खेलकुद सधै एउटा शुद्द खेल मात्र होस्, यसमा राजनीति नहोस् , भारत र पाकिस्तान बिचको सम्बन्ध जे जस्तो भएपनि यिनीहरुको आउन लागेको विश्वकपमा प्रतिष्पर्धा हेर्न विश्व उत्सुक छ। खेलमा जति सुकै प्रतिद्वन्दी भावना भएपनि खेल सकिएपछि खेलाडीहरुले एक अर्का सँग हात मिलाउने या फुटबलमा जर्सी साट्ने बानिले यसको शुद्दता बयान गर्छ। 2025 Theme: Leveling the Playing Field: Sport for Social Inclusion
खेल मैदानलाई सम्याँउदै, सामाजिक समावेशीताका लागि खेल भन्ने अर्थ लाग्दछ ।
जसले खेलकुदको प्रयोगलाई प्रगति र समद्धिको उपकरणको रूपमा प्रवर्द्धन गर्ने अवसर सिर्जना गर्दछ। मानव अधिकार र दिगो विकासको पैरवी गर्दै यस वर्ष विश्वका हरेक देशहरुले खेलकुदको महत्वलाई आत्मसाथ गर्नेछन् ।

Like