पाँच करोडको हिसाब माग्दा सीके राउतले कारबाही गरेको खुलासा

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २४,

मुलुकमा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले पार्टी अध्यक्ष डा. सीके राउतले व्यक्तिगत रिसिइबीका कारण आफूलाई निलम्बन गरेको दाबी गरेका छन् । जनमत पार्टीका अध्यक्ष राउतले विभिन्न चार बुँदे आरोप लगाउँदै आज उनलाई पार्टीबाट निलम्बन गरेका हुन् । निलम्बनबारे कोषाध्यक्ष सुरेन्द्रनारायण यादवसँग प्रतिक्रिया लिँदा उनले भने, ‘यो केही होइन, डाक्टर साहब (सिके राउत)ले व्यक्तिगत रिसिइबी मसँग साध्नु भएको हो ।’ स्वतन्त्र मधेस गठबन्धनदेखि आफूले पार्टीमा गरेको लगानी (नगद)को हिसाब किताब माग्दा यस्तो कारबाही गरेको दाबी उनले गरेका हुन् । स्पष्टीकरण प्राप्त भएको र त्यसलाई अध्ययन गरेर समयमा जवाफ दिने उनले बताए । विगत १६ वर्षदेखि संगठनमा लागेको र पार्टीलाई यहाँसम्म ल्याइ पुर्‍याएको दाबी गर्दै उनले अध्यक्ष राउतले लगाएका सम्पूर्ण आरोप भ्रमपूर्ण र तथ्यहीन रहेको बताए । ‘यदि त्यस्तो थिएन भने आइतबारदेखि बस्ने बैठकसम्म किन कुर्नुभएन । मलाई बैठकमै स्पष्टीकरण लिँदा हुन्थ्यो, म त्यहीँ सबै कुराको जवाफ दिन्थे तर बैठकबाट वञ्चित गर्नका लागि कारबाही गर्नुभएको हो,’ उनले भने, ‘तैपनि मैले यसको जवाफ चाँडै दिन्छु । ’कोषाध्यक्ष यादवले आरोप लगाए जस्तै अध्यक्ष राउतले पनि उनीमाथि हिसाब किताब नदिएको आरोप लगाएका छन् । पार्टीमा गुटबन्दी गरेको, पार्टी विभाजन गराउने खेलमा लागेको जस्ता आरोप अध्यक्ष राउतले लगाएका छन् । उपाध्यक्ष नरेन्द्र चौधरीलाई सदस्य र अनिता मण्डललाई सदस्य सचिव चयन गरेको छ । सदस्य सचिव अनिता मण्डलको हस्ताक्षरबाट सो स्पष्टीकरण सोधिएको हो । पार्टीमा तपाईँको व्यक्तिगत लगानी कति हो त भनी जिज्ञासामा उनले अहिलेसम्म पाँच करोड भन्दा बढी रकम आफूले दिएको तर त्यसको हिसाब किताब माग्दा यस्तो कारबाही गरेको दाबी गरे । ‘भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा मैले यी सबै कुरा उठाउने भनेपछि त्यसको एक दिन अगाडि मलाई कारबाही गरिएको हो,’ उनले आरोप लगाए । पार्टीको अनुशासन समितिबाट कोषाध्यक्षलाई यो स्पष्टीकरण सोधिएको हो । अनुशासन समितिका संयोजक दीपक साहलाई पनि कारबाही गरिएको छ । केन्द्रीय समितिको बैठक आइतबारदेखि बर्दिबासमा बस्दै छ । बैठक दुई दिनसम्म चल्नेछ । बैठकको एजेन्डाबारे आज सचिवालयको बैठकले छलफल गर्ने भनिएको छ ।

Like