अन्य थपअर्थतन्त्रदेशप्रदेश-१मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

डेरी उद्योगहरूको दुध र दहीको मूल्य घटाउने निर्णय

Share to:

रासंसा/मोरङ, कार्तिक २५,

मुलुकमा बजारमा दुध विक्री हुन छाडेपछि कोशी प्रदेश डेरी उद्योग संघले दुधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै दही, पनिर र नौनी घ्यूको बिक्री मूल्य पनि घटाउने संघले निर्णय गरेको हो । घटाएको मूल्य अनुसार अब उपभोक्ताले स्ट्याण्डर्ड दुध आधा लिटरको मूल्य ४५, लो फ्याट मिल्क आधा लिटरको ३५, दही २ सय मिलिलिटरको ३५, आधा लिटरको दही ८०, एक लिटर दहीको १५०, पनिरको प्रतिकेजी ७८० र नौनी घ्यू प्रतिकेजी ८ सय रुपैयाँमा पाउने भएका छन् । कोशी प्रदेशका ठुला विभिन्न ८ वटा डेरी उद्योगहरू आबद्ध संघको बैठक कार्तिक २३ गते विराटनगरमा बसेको थियो । उक्त बैठकले किसानको दुधको बजार सुनिश्चितता गर्न तथा हाल दुधको उत्पादन बढी भएको समयमा उपभोक्तालाई समेत राहत प्रदान गर्ने उद्देश्यले कार्तिक २६ गतेदेखि लागू हुने गरी मूल्य घटाएको हो । उक्त मूल्य अनुसार आइतबारदेखि विक्री सुरु हुने रीतिका डेरी उद्योग प्रालिका सञ्चालक योगेन्द्र चिमरियाले बताए । झापाको बिर्तामोडमा रहेको एनएमसी डेरी उद्योगका सञ्चालक रामचन्द्र उप्रेतीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कतिपय डेरीहरूले भने कार्तिक १ गतेदेखि यो निर्णय लागू गर्ने जनाएका छन् । कोशी प्रदेशमा दुध उत्पादन बढेर बजारमा विक्री नहुँदा दुध उत्पादक किसानहरू ‘मिल्क होलिडे’को मारमा छन् । अघिल्लो आर्थिक वर्षको तथ्याङ्क अनुसार कोशी प्रदेशमा दुध दिने गाईको सङ्ख्या ५ लाख १० हजार ३२ रहेको छ भने भैँसीको सङ्ख्या २ लाख ८७ हजार ९६८ रहेको छ । उक्त सङ्ख्याको गाई र भैँसीबाट प्रदेशमा दैनिक ५ लाख २५ हजार १५५ लिटर दुध उत्पादन हुने तथ्याङ्कमा उल्लेख छ । यस्तो निर्णय गर्ने डेरी उद्योगहरूमा एनएमसी डेरी उद्योग, कामधेनु दुग्ध विकास संहकारी संस्था लि., रीतिका डेरी उद्योग, सूर्योदय मिल्क एण्ड वेभरेज इ. प्रा.लि., गोरस डेरि प्रा.लि., जीवन विकास डेरी, मदानी मिल्क हाउस र शिवम डेरी एण्ड फुड इन्डष्ट्रिज प्रा.लि. रहेका छन् ।

प्रतिव्यक्ति उपलब्धता वार्षिक ९२ लिटर रहेको छ भने आवश्यकता ७१ लिटर मात्रै हो । उक्त तथ्याङ्क अनुसार पनि कोशी प्रदेशमा दुध उत्पादन आवश्यकता भन्दा बढी हो । दुधको उत्पादन बढेपछि दुध व्यवसायीहरूले नयाँ बजारको रूपमा बंगलादेश निर्यातको सम्भावना खोजी गरिरहेका छन् । तर, अहिलेसम्म बंगलादेश निर्यातको टुङ्गो लाग्न भने नसकेको बताइएको छ । कोशी प्रदेशमा अहिलेको सिजनमा उत्पादन भएको दुध मध्ये १ लाख ५० हजार लिटर दुध औपचारिक क्षेत्रबाट बजारमा आउने गरेको थियो । तर, अहिले औपचारिक क्षेत्रमा झण्डै २ लाख ५० हजार लिटर भन्दा बढी दुध सङ्कलन भइरहेको डेरी उद्योगहरू बताउँछन् । कोशी प्रदेशमा दुध उत्पादन वृद्धि गर्न प्रदेश सरकारले प्रतिलिटर २ रुपैयाँको दरले नगद अनुदान दिने नीति लिएका कारण पनि उत्पादन बढेको व्यवसायीहरूले बताएका छन् । गएको फागुन महिनासम्म उत्पादित दुध जेनतेन बजारमा खपत भएको र त्यसपछि बजारको मागभन्दा बढी दुध बजारमा आउने क्रम अहिले निरन्तर छ । फागुन चैत महिनासम्म विराटनगरको सूर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिजले बढी भएको दुधलाई पाउडरमा रूपान्तरण गर्दै आएकोमा अहिले तीनवटा उद्योगले पाउडर बनाइरहेका छन् । कोशी प्रदेशमा तीनओटा पाउडर प्लान्ट सञ्चालन भएपनि किसानले उत्पादन गरेको सबै दुध खपत नहुने अवस्था आएको डेरी उद्योगका सञ्चालकहरूले जानकारी दिए ।

Like