केन्द्रीय समितिको बैठकबाट पुन अझ बलिया भए देउवा
रासंसा/काठमाण्डौ, श्रावण १०,
मुलुकमा साउन २ लाई बैठकको मिति तोकिएदेखि नै धेरैको अनुमान थियो– लामो समयपछि बस्न लागेको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सभापति शेरबहादुर देउवाप्रति आक्रामक बन्छन्। अनि, अधिकांश सदस्यको मत पनि उनीहरूको प्रस्तुतितर्फ नै कोल्टिन्छ। तर, जब बैठक सुरु भयो, अवस्थाविपरीत मात्रै बनेन, बैठकमा सदस्यको मत के रह्यो सभापति देउवाले फेसबुक लाइभमार्फत प्रत्यक्ष देखाए लाइभ गर्ने निर्णय नै गराएर। कांग्रेस संस्थापन इत्तरपक्षका नेताले परिचित केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पनि सभापति देउवाकै पक्षमा आफ्नो धारणा राखेका थिए। आफूमाथि अपारदर्शी र विधिविहीनताको आरोप लाग्दै आएपछि सभापतिले सन्देश दिनका लागि पनि बैठकको लाइभ गराएको पार्टीका सहमहामन्त्री किशोरसिंह राठोर बताउँछन्। भन्छन्, ‘पार्टीभित्रको अवस्थालाई मध्यनजर राख्दै बैठक प्रत्यक्ष प्रसारणको प्रस्ताव उहाँले नै ल्याउनुभएको हो। जनताले देखे सभापतिप्रति पार्टीकै नेताहरूको दृष्टिकोण पनि। यो जरुरी पनि थियो।’ पार्टी संरचनामा दर्जनौं भद्रगोल बेहोरिरहेको कांग्रेसले परम्पराबाट माथि उठ्दै कार्यकर्ता, नागरिक र सर्वसाधारणको पनि पहुँचमा पुग्ने गरी बैठकको प्रत्यक्ष प्रसारण गरेपछि देउवाप्रति केन्द्रीय सदस्य नै एकाएक सकारात्मक बनेको देखियो। पुराना पार्टीले आफूलाई रूपान्तरण गर्न सकेनन् भन्ने आरोप आइरहेका बेला देउवाले बैठक लाइभ गरेर क्रान्तिकारी कदम चालेको प्रशंसा कांग्रेसकै नेताहरूले गरिरहेका छन्। अर्का केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले विपक्षीहरू आक्रामक भएका बेला पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताए। उनले कांग्रेसको सभापति व्यक्ति नभएर संस्था भएको भन्दै सभापतिलाई कमजोर बनाउने मानसिकता कसैको भए आजैका मितिबाट त्यो मानसिकता त्याग्नुपर्ने बताए। ‘म अहिले नाम लिन चाहन्नँ। तर, हाम्रा विपक्षीहरू निकै आक्रामक ढंगले मैदानमा ओर्लेका छन्। हामी अलमलमा छौं। यस्तो अलमलले उल्टो बाटो हिँडिरहेको हो कि भन्ने चिन्ता र चासो सर्वत्र छ।’ कांग्रेस बैठक मुख्यतः नक्कली भुटानी शरणार्थीको केशमा जेलसम्मै पुगेका पार्टीका केन्द्रीय सदस्यसमेत रहेका बालकृष्ण खाँणलाई फसाउने काम पार्टीभित्रबाटै भइरहेको विचार राख्नेको पनि उत्तिकै बहुमत थियो। कार्कीले अहिले पार्टीको नेता र संसदीय दलको नेता बदल्ने समय नभएको भन्दै यदि त्यसमा कसैको सोच भए आजैबाट त्याग्न आग्रह गरे। अधिकांश केन्द्रीय सदस्यहरूले महामन्त्रीहरूले लयमा काम गर्न नसकेको एकोहोरो आरोप लगाइरहेका थिए। बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले भनिन्, ‘महामन्त्रीजीहरू सभापतिजीसँग गुनासो राख्नुहोस्। उहाँसँगै बोल्नुहोस्। बाहिर गएर पार्टीका आन्तरिक विषय नपोख्नुहोस्। एकोहोरो सभापतिमाथि खनिनु गलत हो। सभापतिको विकल्प खोज्दै गर्दा महामन्त्रीको पनि विकल्प खोज्न सकिने तर्पm पनि हेक्का राख्नुहोस्।’ बैठकमा बोल्दै केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पार्टीलाई जीवन्त राख्नका लागि अनुशासन चाहिने भन्दै, ‘हामी एकबद्ध भएर गयौं भने कुनै पनि शक्तिले तलमाथि पार्न सक्दैन। मात्र अहिले पार्टीमा अनुशासनको कमी छ। सबैले आआफ्नो ठाउँमा अनुशासन देखाउनुहोस्।’ श्रेष्ठले अदालतमा भएको विषयमा आफ्नै पार्टीको साथीलाई पाएसम्म खुइल्याउने बाटोमा जानु भनेको एकदमै गलत अभ्यास पार्टीमा मौलाएको बताए। उनले भने, ‘उहाँले गल्ती गरेको नगरेको निर्णय आएकै छैन। पूर्पच्छमा राखेको व्यक्तिलाई निलम्बनमा जानु भन्ने कुरा एकदमै गलत हो।’ उनले देशको लोकतन्त्रको भविष्य पनि कांग्रेस चरित्र र कार्यशैलीद्वारा निर्देशित हुने भन्दै, ‘हामी सबै एउटा खेलको नियममा बाँधिएका छौं र बाँधिनुपर्छ। जसरी देश संविधानबाट चल्छ। त्यसैगरी कांग्रेस पनि पार्टी विधानबाट अगाडि बढाउने परम्परा बसालौं। विधानले सबैले गर्ने काम तोकेको छ। हामी कतिले के–के गर्यौं, मनन गरौं।’ यसअघिभन्दा फरक रूपमा सञ्चालन भएको कांग्रेस बैठक कांग्रेसकै फेसबुक पेजमार्पmत प्रत्यक्ष प्रसारण भएको थियो। यसअघि पार्टी सभापतिप्रति बाहिर एउटा कुरा गर्दै हिँड्ने र सभापतिको अगाडि फरक रूपमा प्रस्तुत हुने आरोप खेपेका नेताहरूलाई जस्ताको त्यस्तै शैलीमा कार्यकर्तालगायतले हेरिरहेका थिए। अर्का केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले समेत महामन्त्री थापालाई संसदीय दलको नेता बन्ने इच्छा नराख्न आग्रह गरेका थिए। रिजालले भने, ‘महामन्त्री थापालाई सुझाव छ। सभापतिजी पनि चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो बनोस्। बलियो बनोस्। महामन्त्री पनि चाहनुहुन्छ २०८४ सम्म यति गरौं कि २०८४ पछि मज्जैले अगाडि लैजान सकौं भनेर, कहाँनेर इन्ट्रेस्ट मिलेन भने, खोज्दै जाँदाखेरि संसदीय दलको छ नि त्यतातिर मन नडुलाए सभापति र महामन्त्रीको ध्यान एकैतर्फ हुन्छ जस्तो लाग्यो।’ सोमबारको बैठकमा भने महामन्त्रीहरूले जवाफ दिने समय आएपछि महामन्त्री गगन थापाले आफू अझै संसदीय दलको नेता बदल्न लाग्ने अडान यथावत् राखे। सार्वजनिक मञ्चबाट देउवाले सभापति पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका थापाले अहिले देखिएका सबै समस्याको मूल कारण सभापति देउवा भएको निष्कर्ष सुनाउँदै थापाले एक कार्यक्रममा भनेका थिए, ‘पार्टी नेतृत्व परिवर्तन हुनेबितिक्कै हाल देखिएका सबै चुनौतीलाई पार लगाउन सकिन्छ।’ उनले आफू कर्ममा विश्वास गर्ने भन्दै संसदीय दलको नेता बन्न गाह्रो भए पनि प्रयास नछाड्ने बताए। उनले आफूले पार्टी फुटाउने कुरा नगरेको भन्दै नअतालिन कांग्रेस कार्यकर्तालाई आग्रह गरे। त्यसोत थापाले सभापति देउवाको प्रशंसा पनि गर्न छाडेनन्, ‘यो गठबन्धनको नेता प्रमुख मान्छे हाम्रो आदरणीय सभापति शेरबहादुर देउवा नै हो। प्रधानमन्त्री आउने जाने क्रम चल्छ तर यसको मूल नेता नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा हो। हामी इमान्दारिताका साथ गठबन्धन सरकारसँग सहकार्य गरिरहेका छौं। यसमा हाम्रा केही शर्तहरू छन्। जसको आधारभूत शर्त डेमोक्रेसी नै हो। यसमा हामीले सम्झौता गर्नुहुँदैन। थापाले अगाडि भने, ‘सभापतिज्यू र म भेट्दा हार्दिकतासाथ कुरा हुन्छ। कसरी कुरा गर्छौं, तपाईंलाई थाहै छैन। सभापतिज्यूप्रति मेरो अति श्रद्धा छ।’ अर्का महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा रूपान्तरणका लागि प्रस्ताव पेस गरे। उनले केन्द्रीय सदस्य सबैले जिम्मेवारी पाउने गरी हरेक काँधमा जिम्मेवारी, हरेक हातमा कामु अभियान सुरु गर्नुपर्ने बताए। यसलाई जगेडामुखी अभियानभन्दा फरक पर्दैन। सबै राजनीतिक दलको परम्परागत शैली छ। केन्द्रीय सदस्यको जिम्मेवारी लिएको छ। पद ओगटेको छ। तर, काम सोध्दा केही छैन। उनले भने, ‘सहमहामन्त्रीबाटै यो अभियानको थालनी गरौं। कोही सहमहामन्त्रीज्यूको हात खाली नराखौं।’ उनले बृहत् युवा उद्यमशीलताको सन्दर्भमा पार्टीभित्र अभियान चलाउन जरुरी रहेको बताए। कांग्रेसमा लागेका युवाहरूको मात्र नभई समाजका सम्पूर्ण युवालाई यो अभियानमा समेट्न उनको आग्रह छ। ‘तीनदिन पार्टीका लागि, चारदिन रोटीका लागि भनेर मैले भन्ने गरेको छु। यो अभियानलाई सार्थक बनाउन आवश्यक छ, उनले भने।’ शर्माले पार्टीको भ्रातृ वा शुभेच्छुक संस्थाहरूलाई कडाइ गर्नुपर्ने बताए। भ्रातृसंस्थाका कतिपय कामले सिंगो कांग्रेस बदनाम भइरहेको भन्दै उनले नीति अधिवेशनमार्फत पार्टीको कुनै पनि तहका भ्रातृ वा शुभेच्छुक संस्थाले सभ्य र मर्यादित भएर कुनै पनि माग राख्नुपर्ने बताए। विदेशबाट कम्तीमा ६ वटा केन्द्रीय सदस्य ल्याउन सक्यौं भने त्यहाँका साथीहरूको काम गर्ने जाँगर पनि बढ्ने भन्दै शर्माले नागरिकताका सबालमा सबैभन्दा बढी आवाज उठाउने नेपाली कांग्रेस नै रहेको बताए।त्यस्तै उनले पार्टीको अधिवेशनको कुनै एक तहमा पराजित नेतालाई माथिको कुनै तहमा मनोनीत गर्ने प्रस्ताव पनि पेस गरेका थिए। ‘एक ठाउँमा आक्रमण हुँदा देशभरिको कांग्रेस आलोचित हुनुपर्ने अवस्था छ। एउटा कुनै भ्रातृसंस्थाले मोसो दल्छ, देशभरिको कांग्रेस आलोचित हुनुपरेको छ। यो ढंगको व्यवहारले पार्टीलाई नोक्सानी गरेको छ। त्यस्ताहरूको तत्काल सदस्यता खारेज गरी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ,’ उनले भने। बुधबारको बैठकमा जवाफ दिने तयारीमा रहेका पार्टी सभापति देउवाले मनोनीत गर्नुपर्ने बाँकी रहेको पद कोषाध्यक्ष मनोनीत र नीति अधिवेशनको मिति तय गर्ने तयारीमा छन्। बैठक जवाफ दिने पूर्वसन्ध्यामा मंगलबार साँझ उनले पदाधिकारी बैठक बोलाएर सल्लाह र सुझाव लिएका थिए।